आदर्श भए ‘नेपाल टप’



यमलाल भुसाल, बुटवल
रुपन्देहीले यसबर्ष पनि माध्यमिक शिक्षा परिक्षा (एसइई)मा नेपाल प्रथमको स्थान सुरक्षित गरेको छ।

रुपन्देहीको सैनामैना ८ स्थित रामापुर रिभाइवल स्कूलका आर्दश पाण्डेयले ग्रेड प्वाइन्ट एभरेज ४ अंक हाँसिल गरेर नेपाल प्रथम भएका हुन्। अहिलेसम्मको नतिजामा उनको मात्रै ग्रेड प्वाइन्ट एभरेज (जिपिए) ४ अंक आएको हो।

परीक्षा नियन्त्रण कार्यालयबाट शुक्रवार प्रकाशित २०७३ मा सञ्चालित एसइईको नतिजामा पाण्डेले ‘बोर्ड फस्ट’भएको दाबी विद्यालयका प्राचार्य कृष्ण शर्माले गर्नुभयो।

यो खुसियालीमा विद्यालयले शनिबार मुर्गियामा खुसियाली र्यालीको आयोजनासमेत गरेको छ। उनको ०४८९९५३ आई सिम्बोल नम्बर हो।

पाण्डेय विद्यालयका मेहनती र अब्बल बिद्यार्थी हुन्। उनी सधैं क्लास फस्टसमेत हुने गरेको विद्यालयका प्राचार्य शर्माले बताउनुभयो।

पाण्डेका बुवा खेमराज पाण्डे सरकारी स्कूलका शिक्षक हुनुहुन्छ। उहाँले स्याङजामा अध्यापन गराउँदै आउनुभएको छ भने आमा खुमादेवी पाण्डेले आर्दशले अध्ययन गरेकै स्कूलमा अध्यापन गराउँदै आउनुभएको छ।

सामान्य घर परिवारमा जन्मेका आर्दशले विज्ञान विषय लिएर भविष्यमा डाक्टर बनी समाज सेवागर्ने लक्ष्य लिएको बताएका छन्।

गत साल पनि रुपन्देहीकै मुर्गियास्थित सुनगाभा पब्लिक उच्च माविकी विद्यार्थी समीक्षा सुवेदीले ४ अंक हासिल गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्