बाढीबारेको सतर्कता,आउला त पूर्वसूचना ?



टीका बन्धन, काठमाडौं
मुलुकका नदी र जलाधार क्षेत्रमा बाढीले पुर्याउने सम्भावित मानवीय र भौतिक क्षति न्यूनीकरणका लागि अब नदीमा जल सतह बढ्नु २४ घण्टा अगावै पूर्वसूचना सम्प्रेषण हुने भएको छ।

नदी र जलाधार क्षेत्रको तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दामाझ बाढीको पूर्वसूचना सम्प्रेषण गर्ने तयारी गरिएको हो।

विभिन्न ४६ स्थानमा स्थापना गरिएका स्टेशनको सूचना सञ्चारमाध्यम, मोबाइल एसएमएस, साइरन, निःशुल्क टोली फ्री नम्बरमार्फत सम्प्रेषण गर्ने तयारी गरिएको हो।

जल तथा मौसम विज्ञान विभागले यस वर्षदेखि कर्णाली, बबई र नारायणी नदी आसपासका क्षेत्रका स्थानीयलाई २४ घण्टा अघिको पूर्वसूचना बताउन लागेको हो।

‘यी नदी क्षेत्र र आसपासमा एक दिनअघि नै पूर्वसूचना सम्प्रेषण गरिनेछ’, विभागका हाइड्रोलोजिस्ट विनोद पराजुलीले भन्नुभयो– ‘अन्य मुख्य नदीहरूमा पनि कम्तीमा ३ देखि ८ घण्टाअघिको बाढीको भविष्यवाणी गरिनेछ।’ अन्य माध्यमका अतिरिक्त मोबाइल एप्लिकेसनको ‘नेपाल फ्लड अलर्ट’मार्फत पनि त्यस्तो सूचना थाहा पाउन सकिने उहाँले जानकारी दिनुभयो।

विगत २ वर्षदेखि हरेक दिन बाढीको पूर्वसूचना सेवा शुरू गरेको विभागले गत वर्षदेखि ११५५ को निःशुक टोली फ्री नम्बर शुरू गरेको थियो।

गत वर्षसम्म नदीमा पानीको खतराको तह र केही घण्टा अघिको बाढीको सूचना बताउन सक्ने विभागका प्राविधिकहरू यस वर्षदेखि २४ घण्टा अगावैको भविष्यवाणी बताउन सक्षम भएको पराजुलीको दावी छ। मनसुन शुरु भएलगत्तै सुचारु हुने निःशुल्क टोली फ्री सेवा मनसुन अन्त्य नहुन्जेलसम्म सूचारु रहने बताइएको छ। विभागले यही सोमबारदेखि यसपटकको मनसुन शुरू भएको बताएको छ।

बाढी पूर्वसूचनाका लागि मुलुकका विभिन्न ९० स्थानका स्वचालित वर्षा मापन केन्द्रमा संकलन हुने सूचना महत्वपूर्ण हुने बताइन्छ। स्वचालित वर्षा मापन केन्द्रले हरेक १५ मिनेटमा टेलिमेट्रिक प्रणालीमार्फत विभाग मुख्यालयलाई उपलब्ध हुने सूचनालाई विभागका प्राविधिकहरूले अद्यावधिक गरेर नदीको जल सतहको पूर्वानुमान गर्छन्।

कुनै पनि क्षेत्रमा निरन्तर १ घन्टा ६० मिलिमिटरभन्दा बढी वर्षा भएमा नदी तटीय क्षेत्रमा स्वभाविक रुपमा जल सतह बढ्ने प्राविधिकहरूको ठहर छ।

आगामी वर्षदेखि कोशी, राप्ती र वाग्मती नदी आसपासका बासिन्दालाई १ दिन अघि नै पूर्व सूचना सम्प्रेषण गर्ने तयारी भइरहेको विभागका हाइड्रोलोजिस्ट पराजुलीले बताउनुभयो।
मौसम विभागले विगत केही वर्ष अघिदेखि बाढीको पूर्वसूचना गृह मन्त्रालयलाई उपलब्ध गराउँदै आएको छ।

त्यसपश्चात गृहले त्यस्तो सूचना जिल्ला र स्थानीय तहका आपतकालीन कार्य सञ्चालन केन्द्रमार्फत सम्प्रेषण गर्न निर्देशन दिने गर्छ। यसपटकदेखि स्थानीय तहको संरचना परिवर्तन भएसँगै नगरपालिका र गाउँपालिकाका मेयर र अध्यक्ष सो कार्यसञ्चालन केन्द्रका प्रमुख रहने व्यवस्था छ। नदी तटीय क्षेत्रमा जडान भएका जलमापन केन्द्रको पूर्वसूचना स्थानीय बासिन्दालाई सम्प्रेषण गर्न थालेपछि मानवीय र भौतिक क्षति न्यूनिकरण हुन थालेको गृह मन्त्रालयका अधिकारीहरूको तर्क छ।

‘बाढीको उच्च जोखिमा रहेको पश्चिम राप्तीमा ८ वर्ष अघिसम्म बाढीकै कारण औसतमा हरेक वर्ष ८ जनाले अकालमा ज्यान गुमाउँदै आएकोमा पछिल्ला वर्षहरूमा त्यस क्षेत्र आसपासमा मानवीय क्षति ज्यादै न्यून छ’–सो मन्त्रालयका एक अधिकारीले भने।

नेपालमा विश्व बैंक, एसियाली विकास बैंक, संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी), अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड), प्राक्टिकल एक्सनजस्ता राष्ट्रिय÷अन्तर्राष्ट्रिय संघ संस्थाले यस्ता स्टेसन स्थापना गर्न सहयोग पुर्याएका छन्। विश्व बैंकको करिब ३१ करोड आर्थिक सहयोगमा थप ६६ स्टेसन स्थापना हुने विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्