त्रिपुरेश्वर–नागढुङ्गा सडक विस्तारमा ढिलाई



काठमाडौँ, २ असार । सरकारी कार्यालयबीच समन्वय हुन नसक्दा त्रिपुरेश्वर–नागढुङ्गा सडक विस्तारमा ढिलाइ भएको छ ।

सडक विस्तारका लागि सरकारी कार्यालयले लगाइएको चिह्नअनुसार यसको दायाँबायाँ रहेका भवन भत्काउँन नसक्दा सडक विस्तारमा ढिलाइ भएको हो ।

सडकको दायाँबायाँ रहेका विद्युत् र नेपाल टेलिकमको पोल सारिएको छैन, पोल नसार्दा काठमाडौँ सडक विस्तार आयोजनाले कालोपत्रे गर्न पाएका छैन, त्रिपुरेश्वरमा उद्योग विभागले भवन नभत्काउँदा समस्या आइपरेको आयोजना प्रमुख दीपक केसीले बताउनुभयो ।

उद्योग विभागका महानिर्देशक शङ्कर अर्यालले १६ किमी लामो यो सडक विस्तारका लागि भत्काउनुपर्ने भवनमा एक हप्ताअघिसम्म कार्यालय रहेकाले भत्काउन नसकिएको र भवन खाली भएपछि भत्काउने बजेट नभएर अड्किएको बताउनुभयो ।

“अहिले विभागको कार्यालय घरेलु तथा साना उद्योग विकास समितिको भवनमा सारिएको छ, सडक विस्तारका लागि भत्काउनुपर्ने भवन खाली छ, भत्काउने बजेट हामीसँग छैन, काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले भत्काए हुन्छ” – उहाँले भन्नुभयो ।

यो सडकको चौडाइ केन्द्रबाट दायाँबायाँ ११÷११ मिटर गरी २२ मिटर कायम गरिएको छ । काठमाडौँ उपत्यका विकास प्राधिकरणले यसअघि तोकेको मापदण्डका आधारमा बनेका संरचना बनाउन लगाएको चिह्नअनुसारका संरचना नभत्केपछि ढल बिच्छ्याउनसमेत समस्या परेको जनाएको छ ।

टेकुमा छवटा घरको डेढ मिटर भाग नभत्काउँदा टेकु–कलङ्की सडक विस्तार रोकिएको छ । यो सडक अहिले १६ मिटर छ । २२ मिटर सडक बनाउन दायाँबायाँ तीन÷तीन मिटर बढाउनुपर्छ । यो भागमा विद्युत्को पोल राखिएकाले पोल सार्न सडकले नै बजेटको व्यवस्था गर्नुपर्ने बाध्यता रहेको सडक विभागका इन्जिनियर प्रदीप श्रेष्ठको गुनासो छ ।

“हाम्रो बजेटमा पोल सार्न आवश्यक बजेट छुट्याइएको हुँदैन, बजेट खोज्दै समय जान्छ, सडकको दायाँबायाँ भाग खाली नभई ठेक्का दिँदा पनि तोकिएको समयमा काम नसकिने समस्या छ” – उहाँले भन्नुभयो ।

एक वर्षदेखि काम सुरु भए पनि सडक विस्तारले गति लिन नसकेपछि आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव चन्द्रकुमार घिमिरेको नेतृत्वमा काठमाडौँ उपत्यका विकास प्राधिकरणका विकास आयुक्त डा भाइकाजी तिवारी, सडक विभागका महानिर्देशक गोपाल सिग्देल, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलगायत सरोकारवाला निकायका प्रमुख एवम् प्रतिनिधिले सडक विस्तारमा आइपरेका समस्याको निरीक्षण गरी समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

सोल्टीमोडमा काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको पानी ट्याङ्की, ढुङ्गेअड्डामा टेलिकमको भूमिगत केबल, तीनथानामा सर्वोच्च अदालतको ‘स्टे अर्डर’ले काम हुन सकेको छैन । त्रिपुरेश्वर–नागढुङ्गाखण्डमा सर्वोच्च अदालतले १८४ घर नभत्काई यथास्थितिमा राख्न ‘स्टे अर्डर’ जारी गरेको आयोजनाले जनाएको छ ।

सडक अनुगमनपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव घिमिरेले विस्तार कार्यमा सहयोग जुटाउन सरोकारवाला निकाय र स्थानीयवासीसमेत राखी संयन्त्र निर्माण गरिने प्रतिबद्धता जनाउनुभयो ।

“सचिव बैठकमा सडक विस्तारमा सरकारी कार्यालयका बीच समन्वय हुन नसकेको विषयलाई राखेर ठोस निर्णय हुन्छ, सचिव बैठकमै राखेर समन्वय गर्ने संयन्त्रको गठन गरिन्छ” – उहाँले भन्नुभयो ।

काठमाडौँ सडक डिभिजन कार्यालय–२ ले परोपकार पुल–ताहाचल क्याम्पस सडक विस्तार गरिरहेकामा एक घर नभत्कँदा एक वर्षदेखि सडक हिउँदमा धुलाम्य र वर्षामा हिलाम्य हुने गरेको काठमाडौँ महानगरपालिका वडा नं १३ का वडाध्यक्ष ध्रुवनारायण मानन्धरले बताउनुभयो ।

उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालय काठमाडौँले २०७३ पुस २५ र २०७४ वैशाख १० गते डिभिजन सडक कार्यालय–२, काठमाडौँलाई पत्र लेखी महानगरपालिका वडा नं १३ सिट नं ११०३–१९ कित्ता नं २०६ र सिट नं ११०३–२०, कित्ता नं १५ र १६ मा निवेदन परी प्राविधिकबाट पुनः सीमाङ्कन भइसकेकाले त्यसैअनुसार विस्तार गर्न पत्र लेखेको थियो । सो पत्रानुसार आफ्नो घर नभत्कने दावी घरका धनी प्रमोद श्रेष्ठको छ ।

सानातिना समस्याले वर्षौंदेखि सडकको काम रोकिँदा हिउँदमा धुलोले घरमा बस्न नसकिने र वर्षामा घरभित्र हिलो छ्यापिने समस्या रहेकोे स्थानीयवासीको गुनासो छ । रासस

प्रतिक्रिया दिनुहोस्