एसईई नतिजाको विस्तृत् विवरण, पूरक परीक्षा साउन १९ गतेदेखि



OLYMPUS DIGITAL CAMERA
रिजल्ट हेर्न यहाँ क्लिक गर्नुहोस http://see.ntc.net.np/

भक्तपुर, २ असार । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज माध्यामिक शिक्षा परीक्षा कक्षा १० (एसईई)को नतिजा सार्वजनिक गरेको छ ।

कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले यसवर्ष नियमित तर्फ चार लाख ४५ हजार ५६४ जना परीक्षार्थी सहभागी भएकोमा १२ हजार २८४ जना जिपिए ३ दशमलव ६५ देखि ४ सम्म ल्याएर उत्तीर्ण भएको जानकारी दिनुभयो ।

त्यस्तै जिपिए ३ दशमलव २५ देखि ३ दशमलव ६० सम्म ल्याएर ४२ हजार ४२७ जना, जिपिए २ दशमलव ८५ देखि ३ दशमलव २० सम्म ल्याएर ५० हजार ६४६ जना, जिपिए २ दशमलव ४५ देखि २ दशमलव ८० सम्म ल्याएर ६१ हजार ९५५ जना, २ दशमलव ०५ देखि २ दशमलव ४० सम्म ल्याएर ९१ हजार ३१४ जना, जिपिए १ दशमलव ६५ देखि २ दशमलव शून्यसम्म ल्याएर एक लाख ८ हजार ४६४ जना, जिपिए १ दशमलव २५ देखि १ दशमलव ६० सम्म ६४ हजार ५७७ जना, शून्य दशमलव ८५ देखि १ दशमलव २० सम्म ल्याएर ११ हजार २८५ जना र शून्य दशमलव ८० सम्म १५ जना उत्तीर्ण भएको उहाँले जानकारी दिनुभयो ।

परीक्षामा उमेर नपुगेका दुईजना, सैद्धान्तिक विषयको परीक्षामा सहभागी नभएका एक हजार ३२० जना र प्रयोगात्मक परीक्षा नदिएका एक हजार ३८ जनाको नतिजा रोकिएको छ । त्यस्तै २१६ जनाको उत्तरपुस्तिका रद्द भएको र सात हजार ६०४ जनाले परीक्षा छाडेको जनाएको छ ।

त्यसैगरी एक्जाम्टेडतर्फ जम्मा १६ हजार ५७२ जना परीक्षार्थी रहेकोमा जिपिए ३ दशमलव ६५ देखि ४ सम्म ल्याएर कोही पनि उत्तीर्ण भएका छैनन् । यसतर्फ जिपिए ३ दशमलव २५ देखि ३ दशमलव ६० सम्म दुईजना उत्तीर्ण भएका छन्, जिपिए २ दशमलव ८५ देखि ३ दशमलव २० सम्म २१ जना, जिपिए २ दशमलव ४५ देखि २ दशमलव ८० सम्म ल्याएर २२२ जना, २ दशमलव ०५ देखि २ दशमलव ४० सम्म ल्याएर एक हजार ९६४ जना, जिपिए १ दशमलव ६५ देखि २ दशमलव शून्यसम्म ल्याएर सात हजार ४७० जना, जिपिए १ दशमलव २५ देखि १ दशमलव ६० सम्म ल्याएर पाँच हजार ७५८ जना, शून्य दशमलव ८५ देखि १ दशमलव २० सम्म ल्याएर ६०५ जना र शून्य दशमलव ८० सम्म एकजना उत्तीर्ण भएका छन् ।

सैद्धान्तिक विषयको परीक्षा नदिएका ४७१ जना, प्रयोगात्मक नदिएका २६ जना, उत्तरपुस्तिका रद्द ३१ जना र परीक्षा नदिएका दुई हजार ४०२ जना रहेको पनि पत्रकार सम्मेलनमा कार्यालयले जनाएको छ ।

परीक्षामा ‘सी’ र त्यसभन्दा कम ग्रेड प्राप्त गर्ने विद्यार्थीले सबै विषयको गे्रड वृद्धि परीक्षा यही वर्ष दिन पाउने व्यवस्था गरिएको छ । दुई विषयसम्म परीक्षामा सहभागी नभएका परीक्षार्थीले पनि ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरिएको छ । मूल विषयमा दुई विषय भन्दा बढी अनुपस्थित रहेको र दुई विषयभन्दा बढी विषयमा ग्रेड नखुलेको परीक्षार्थी आगामी वर्षको परीक्षामा एक्जाम्टेड परीक्षार्थीका रुपमा परीक्षा दिनुपर्ने व्यवस्था गरिएको छ ।

गतवर्ष दुई विषयमा ‘डी’ र ‘ई’ ग्रेड ल्याउने विद्यार्थीले मात्रै मौका परीक्षा दिन पाएका थिए । अर्को वर्षको परीक्षामा यो वर्षको जस्तो आंशिक (एक्जाम्टेड) परीक्षार्थी भने नहुने उहाँले बताउनुभयो ।

गत वर्षसम्म दुई विषयमा ‘डी’ र ‘ई’ ग्रेड पाएका विद्यार्थीले मात्रै ग्रेड वृद्धिको परीक्षा दिन पाउँथ्यो । यसवर्ष भने सैद्धान्तिक विषयमा ‘डी’, ‘डि’ प्लस र ‘ई’ ग्रेड प्राप्त गर्ने विद्यार्थीले ग्रेड वृद्धिको परीक्षा दिन पाउने छन् ।

आफूले प्राप्त गरेको कुनै पनि विषयको नतिजा चित्त नबुझेमा पुनःयोग गराउन सक्नेछन् । यसका लागि परीक्षार्थीले परीक्षा नियन्त्रण कार्यालय, क्षेत्रीय शिक्षा निर्देशनालय वा सम्बन्धित जिल्ला शिक्षा कार्यालयमार्फत १५ दिनभित्र निवेदन दिनसक्ने व्यवस्था गरिएको छ ।

एसईई पूरक (ग्रेडवृद्धि) साउन १९ गतेदेखि

त्यसैगरी एसईई पूरक (ग्रेडवृद्धि) परीक्षा आगामी साउन १९ गते बिहीबारदेखि २६ गतेसम्म सञ्चालन हुने भएको छ ।

कर्यक्रम अनुसार १९ गते अनिवार्य अङ्ग्रेजी र वेदविद्याश्रमतर्फ ः अनिवार्य संस्कृत भाषा र साहित्य, अनिवार्य अङ्ग्रेजी, २० गते अनिवार्य नेपाली र गैरनेपाली विद्यार्थीको लागि अङ्ग्रेजी, साउन २१ गते अनिवार्य गणित, २२ गते अनिवार्य विज्ञान र वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत ब्याकरण तथा अनुवाद विषयको परीक्षा सञ्चालन हुनेछ ।

त्यसैगरी साउन २३ गते अनिवार्य सामाजिक अध्ययन, साउन २४ गते अनिवार्य स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण शिक्षा र वेदविद्याश्रमतर्फ अनिवार्य कर्मकाण्ड, अनिवार्य फलित ज्योतिष, संस्कृततर्फ ः अनिवार्य संस्कृत भाषा, साउन २५ ऐच्छिक प्रथमपत्रका सबै विषय र साउन २६ गते ऐच्छिक द्वितीयपत्रका सबै विषयको परीक्षा सञ्चालन हुने भएको छ ।

अक्षराङ्कन प्रणालीपछि एसइईको नजितामा सुधार

अक्षराङ्कन पद्धतिमा प्रकाशित २०७३ को माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा गत वर्षको तुलनामा यस वर्ष बढी विद्यार्थी सफल भएका छन् ।

विद्यार्थीको लब्धाङ्कपत्र (ग्रेड सिट) मा उत्तीर्ण र अनुत्तीर्ण उल्लेख नभई विषयगत ग्रेड दिइने र समग्रमा स्तरीकृत अङ्क (जिपिए) दिइने अक्षराङ्कन (लेटर ग्रेडिङ) का कारण यो सुधार देखिएको हो । ‘अक्षराङ्कन’ (लेटर ग्रेडिङ) भन्नाले तोकिएको सक्षमताको मूल्याङ्कनपश्चात् विद्यार्थीले हासिल गर्ने सिकाइस्तरलाई अक्षरमा गरिने प्रस्तुति मानिन्छ ।

आज सार्वजनिक नतिजाअनुसार कुल चार लाख ६२ हजार १२६ परीक्षार्थी सहभागी भएकाले चार लाख ४५ हजार ५६४ विद्यार्थीले ‘डी’ (१ दशमलव ६) ग्रेड हासिल गरी माथिल्लो कक्षामा पढ्न योग्य भएका छन् । गत वर्ष यस ग्रेडसम्म पाउने विद्यार्थीको सङ्ख्या चार लाख २५ हजार ५८२ थियो । त्यसअघिका वर्षको तुलनामा त्यो पनि सुधार हो ।

शिक्षाविद् डा विद्यानाथ कोइरालाले नतिजा हेर्दा सुधार आएको मान्न सकिने तर माथिल्लो तहमा पढ्न पाउन योग्य विद्यार्थीको सिकाइस्तर आफँैमा कस्तो छ भनेर अलग्गै मापन गरेरमात्र शिक्षाको समग्र गुणस्तरबारे विश्लेषण गर्नु उपयुक्त हुने बताउनुभयो । उहाँले भन्नुभयो – “ग्रेड पाउनु र सक्षम हुनु अलग हो । राष्ट्रिय योग्यता परीक्षा लिने प्रणाली भएमा सही मूल्याङ्कन हुन सक्ने थियो ।”

राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्बाट गत २०७२ मङ्सिर २३ मा स्वीकृत भई सोही वर्षको चैत ६ मा पहिलो संशोधन गरी शिक्षामन्त्रीस्तरको निर्णयबाट ‘विद्यालय शिक्षामा अक्षराङ्कन पद्धति, कार्यान्वयन कार्यविधि, २०७२’ लागू भएको थियो । दुई विषयभन्दा बढी विषयमा ‘डी’ भन्दा तल्लो ग्रेड प्राप्त गरेका विद्यार्थीले आफूले चाहेका विषयमा पुनः मूल्याङ्कन गराउन चाहेमा आगामी मूल परीक्षामा सहभागी हुन पाउनेछन् । यसरी मूल्याङ्कन गराउँदा प्राप्त ग्रेड समावेश गरी प्रमाणपत्र तथा लब्धाङ्कपत्र दिइनेछ ।

ग्रेड निर्धारण तालिका

९० र सोभन्दा माथि ‘ए’ प्लस अति उत्तम ४.०
८० र सोभन्दा माथि ९० भन्दा कम ‘ए’ उत्तम ३.६
७० र सोभन्दा माथि ८० भन्दा कम ‘बी’ प्लस धेरै राम्रो ३.२
६० र सोभन्दा माथि ७० भन्दा कम ‘बी’ राम्रो २.८
५० र सोभन्दा माथि ६० भन्दा कम ‘सी’ प्लस सन्तोषजनक २.४
४० र सोभन्दा माथि ५० भन्दा कम ‘सी’ स्वीकार्य २.०
३० र सोभन्दा माथि ४० भन्दा कम ‘डी’ प्लस आंशिक स्वीकार्य १.६
२० र सोभन्दा माथि ३० भन्दा कम ‘डी’ अपर्याप्त १.२
२० भन्दा कम ‘इ’ धेरै अपर्याप्त ०.८
(स्रोत – पाठ्यक्रम विकास केन्द्र)

यस प्रणालीमा ‘प्रत्येक विषयको उत्तर पुस्तिकाको परीक्षण र सम्परीक्षण अङ्कमा गरिनेछ र परीक्षा नियन्त्रण कार्यालयले सो अङ्क (सैद्धान्तिक र प्रयोगात्मक भएमा सोको कुल अङ्क) लाई तोकिएको अक्षर ग्रेड प्रदान गर्ने छ’, कार्यविधिमा भनिएको छ ।

‘डी’ प्लस र ‘डी’ भन्दा तल्लो ग्रेड प्राप्त गरेका विद्यार्थीले कुनै दुई विषय माथिल्लो ग्रेड प्राप्तिका लागि पुनः मूल्याङ्कन गराउन चाहेमा माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा समितिको निर्णय बमोजिम हुने ग्रेड वृद्धि परीक्षामा सामेल हुन पाउनेछन् । यसअघि यसलाई विगतमा पूरक (मौका) परीक्षा भनिन्थ्यो तर मौका परीक्षामा दुई विषयमा अनुत्तीर्ण भएकाले मात्र भाग लिने गरेकोमा यस प्रणालीमा जुनसुकै विषयमा प्राप्ताङ्क बढाउन पाइनेछ ।

कतिपय शिक्षालय र विषय हेरेर माथिल्लो कक्षामा भर्नाका लागि अलग अलग मापदण्ड पनि बनाइएकाले ‘डी’ ग्रेड पाउने सबैले सबै विषयमा पढ्न भने नपाउने परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक गेहनाथ गौतमले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्