कतारविरुद्ध कारबाहीको सम्भावना



 

दोहा, (एजेन्सी)
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले कतारको राष्ट्रिय फुटबल टोलीलाई अनुशासनात्मक कारबाही गर्न सक्ने सम्भावना भएको छ।

विश्वकप छनोट खेलअन्तर्गत दक्षिण कोरियाविरुद्धको खेलमा कतारका खेलाडीहरूले आफ्नो देशको शासकलाई समर्थन गर्ने संकेत भएको टीशर्ट लगाएका थिए। मंगलबार दोहामा म्याच वार्मअपका क्रममा खेलाडीहरूले उक्त टीशर्ट लगाएका थिए। उनीहरूले सेतो रंगको टीशर्ट लगाएका थिए, जसमा कतारी शासक अमीर शेख तमीम बिन हमद अल थानीको चित्र कोरिएको थियो।

कतारसँग साउदी अरब, संयुक्त अरब ईमिरेट्स र बहराइनले राजनीतिक सम्बन्ध समाप्त गरेपछि कतारका नागरिकहरूले विरोधका लागि यस्तोखाले तरिका अपनाउन थालेका छन्। कतारी मिडफिल्डर हसन अल हैदोसले खेलको २५औं मिनेटमा गोल गर्दा पनि सोही टीशर्ट हावामा फर्फराएर गोलको खुसी मनाएका थिए।

फिफाको नियमअनुसार टीशर्टमा कुनै प्रकारको गैरमञ्जुरी प्राप्त राजनीतिक, धार्मिक वा व्यावसायिक सन्देश प्रवाह गर्न प्रतिबन्धित छ। कतारले सन् २०२२ मा फिफा विश्वकप फुटबलको आयोजना गर्दैछ। कतारको टीम कोच जर्ज फासातीले आफ्नो खेलाडीहरूको बचाउ गर्दै भने– ‘मलाई यस्तो केही लागिरहेको छैन जसका कारण खेलाडीहरूले सजाय पाओस्। यो अमीरको फोटो कोरिएको एउटा टीशर्ट मात्र हो, जसले कसैको समर्थन र विरोध गरेको छैन।’

कतारको सम्भावना जीवितै
हसन अल–हैदोसको उत्कृष्ट दुई गोलको मद्दतले कतारले दक्षिण कोरियालाई ३–२ ले पराजित गर्दै आगामी वर्ष रसियामा हुने फिफा विश्वकपमा छनोट हुने सम्भावनलाई जीवितै राखेको छ। हसनले २५औं मिनेटमा गरेको गोलसँगै पहिलो हाफसम्म कतारले १–० ले अग्रता बनाएको थियो। दोस्रो हाफ भने दुवै टोलीले सशक्तता प्रदर्शन गर्दै समान दुई–दुई गोल गरे।

अकरम अफीफले खेलको ५१औं मिनटमा गोल गर्दै कतारको अग्रता दोब्बर पारे। त्यसपछि सुंग–युंगले ६२औं मिनेटमा गोल गर्दै दक्षिण कोरियाका तर्फबाट पहिलो गोल फर्काए। त्यसको आठ मिनटपछि ह्वांग ही–चवांगले गोल गरेपछि दक्षिण कोरिया खेलमा फर्किएको थियो। तर बराबरी गोल भएको पाँच मिनटपछि नै हसनले व्यक्तिगत दोस्रो गोल गरेपछि कतारको जित सुनिश्चित बन्यो।

प्रतिक्रिया दिनुहोस्