भारत र पाकिस्तानबीच उपाधि भिडन्त हुने



 

नयाँ दिल्ली, (एजेन्सी)
बंगलादेश हारेपछि इंग्ल्यान्डमा जारी च्याम्पियन्स लिग ट्रफी फाइनलमा दुई कट्टर प्रतिद्वन्द्वी राष्ट्र भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुने भएको छ। फाइनल खेल ओभलमा आइतबार खेलिनेछ। बिहीबार एड्जबास्टनमा भएको दोस्रो सेमिफाइनल खेलमा भारतले बंगलादेशलाई सहजै ९ विकेटले हराएको हो। यसअघि पहिलो सेमिफाइनल खेलमा पाकिस्तानले आयोजक राष्ट्र इंग्ल्यान्डलाई ८ विकेटले हराएको थियो। समूह चरणमा पनि भारत र पाकिस्तानबीच खेलिएको थियो। जसमा भारतले १ सय २४ रनको फराकिलो जित हात पारेको थियो।

बंगलादेशले पहिले ब्याटिङ गरेर निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २ सय ६४ रन जोडेको थियो। जसमा तामिम इकबालले सर्वाधिक ७० रनको योगदान दिएका थिए। जवाफमा भारतले शिखर धवन (४६ रन) को एक मात्र विकेट गुमाएर ४० दशमलव १ ओभरमा २ सय ६५ रन बनाएर लक्ष्य भेटायो। टोलीका लागि रोहित शर्माले १ सय २३ रनको शतकीय योगदान दिए। एकदिवसीय अन्तर्राष्ट्रिय करिअरमा उनको यो ११औं शतक थियो। नटआउट रहेका उनले १५ चौका र एक छक्का प्रहार गरेका थिए।

विराटको रेकर्ड
भारतीय कप्तान विराट कोहलीले छिटो ८ हजार रन पूरा गरेर एबी डिभिलियर्सले रचेका रेकर्ड तोडेका छन्। कोहली १ सय ७५ इनिङमा ८ हजार रन पूरा गर्दा दक्षिण अफ्रिकाका डिभिलियर्सले ७ इनिङ बढी खेलेका थिए। नटआउट रहेका कोहलीले ७८ बलमा १३ चौकासहित ९६ रन बनाए।

प्रतिक्रिया दिनुहोस्