ट्रम्पद्वारा कतारलाई हतियार बेच्न अनुमति प्रदान



 

वासिङ्टन, (एजेन्सी)
आतंकवादलाई सहयोग र समर्थन गरेको आरोप लगाउँदै खाडी मुलुकहरुले कतारसँगको कूटनीतिक सम्बन्ध विच्छेद गरेको केही दिनपछि नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारलाई १२ अर्ब अमेरिकी डलर बराबरको हतियार बिक्री सम्झौता गर्ने अनुमति प्रदान गरेका छन्।

हाल अमेरिका भ्रमणमा रहेका कतारका रक्षा मन्त्री र उनका अमेरिकी समकक्षी जेम्स म्याटिसबीच उक्त सम्झौतामा बुधबार हस्ताक्षर भएको हो। यस सम्झौताअनुसार अमेरिकाले ३६ वटा ‘एफ–१५ क्युए’ लडाकू विमान कतारलाई बेच्ने भएको छ।

हुन त ट्रम्पले कतारलाई इरानसँग साँठगाँठ रहेको तथा माथिल्लो तहबाट नै आतंकवाद आर्थिक सहायता गरेको आरोप लगाउँदै कतारविरुद्ध नाकाबन्दी लगाउने साउदी अरबलगायतका अन्य खाडी राष्ट्रको खुला समर्थन गरेका थिए। कतारका विदेश मन्त्रीले विज्ञप्ति जारी गर्दै भनेका छन्– ‘यो सम्झौताले कतारलाई आफ्नो सुरक्षा सामथ्र्य बढाउन र अमेरिकी सेनालाई हिंसात्मक अतिवादविरुद्धको अभियानको बोझ कम गराउन भूमिका खेल्न सक्ने विश्वास हामीलाई लाग्छ।’

केही दिनदेखि खाडी मुलुकमा चलिरहेको क्षेत्रीय द्वन्द्वको अवस्थामा उक्त सम्झौताले कुनै प्रभाव नपार्ने अमेरिकी विदेश मन्त्रालयले जनएको छ। तर सम्झौताअनुसार हतियार आपूर्ति गर्न वर्षौं लाग्ने तर्क पनि उक्त मन्त्रालयले अघि सारेको छ।

तर अमेरिका र कतारबीच हतियार खरिद–बिक्री सम्बन्धमा भएको यो पहिलो सम्झौता भने होइन।

सन् २०१६ नोभेम्बरमा अमेरिका र कतारबीच २० अर्ब डलरभन्दा बढी रकमको हतियार बेच्ने समझदारी भएको थियो। त्यसको अर्थ अमेरिकी संसद् र कार्यकारीले ट्रम्पले राष्ट्रपति पदको कार्यभार सम्हाल्नुअघि नै उक्त समझदारीलाई अनुमोदन गरिसकेको थियो। त्यही समझदारीअन्तर्गत अहिले कतारलाई १२ अर्ब डलर बराबरको लडाकू विमान बेच्ने सम्झौतामा हस्ताक्षर भएको हो।

कतारलाई आतंकवादलाई समर्थन गरेको आरोप लगाए पनि ट्रम्पले हतियार बिक्रीलाई रोकेनन्। चाहेको भए उनले यस सम्झौतालाई रोक्न सक्थे।

प्रतिक्रिया दिनुहोस्