सिँचाइ र खानेपानीको व्यवस्था गर्नेलाई मत



विमल विष्ट, डोटी

डोटीको दिपायलसँग जोडिएको पिपल्ला गाउँमा चुनावी चहलपहल बढेको छ। स–साना झुपडी रहेको बस्तीमा केही पार्टीका झन्डा फरफराइरहेका छन्। भोट माग्न उम्मेदवारका टोली दैनिक आइरहेका छन्। बस्तीमा आउने उम्मेदवारसँग मतदाताले सिँचाइ कुलो, पिउने पानी, रोजगारीका माग राख्दै आएका छन्। नजिकै भएकाले बजारमा नेता कार्यकर्ताका चलहपहल, तडकभडक र प्रचारप्रसारले दलित बस्तीमा पनि उत्साह थपिँदै गएको छ। तर, उनीहरूमा उत्साह सँगसँगै मतदान कसरी गर्ने भन्ने अन्योल छ।

मत हाल्न नजानेर कतै मत बदर नै हुने हो कि भन्ने डर छ। ‘भोट हाल्नु धर्म हो, मनले चाहेको व्यक्तिलाई चुन्नुपर्छ। करकाप कसैको हुन्न’, २४ वर्ष भारतमा काम गरी निर्वाचनका लागि घर फर्किएका ७८ वर्षीय गोरे कामीले भने– ‘एकै पार्टीका सबै उम्मेदवार मन पर्छन् भन्ने छैन, छुट्टाछुट्टै मत हाल्न सक्छु। तर, बदर हुन्छ कि भन्ने डर छ।’ बेग्लाबेग्लै उम्मेदवारलाई मत दिँदा भुलेर या नजानेर एकै पदमा २ जनालाई छाप लाग्न सक्ने उनले आशंका गरे। गाउँका धामी भनेर चिनिने बाजी नगरी विगतका निर्वाचनमा गाउँका महिलाले भोट दिएको कुरा सम्झिरहेका छन्। २०७० सालको चुनावमा महिलाले मतपत्रमा स्वस्तिक चिन्ह लगाउनुपर्नेमा भकाभक औंठा छाप लगाएर मत बदर गरेको सम्झन्छन्।

‘अहिले झन् जटिल छ, अहिले त ७⁄७ जनालाई भोट हाल्नुपर्ने रे ?’, कान कम सुन्ने बाजीले भन्नुभयो– ‘चराले बनाएको गुँडमा बसेसरी बसेका हामी सबै दलितले चाहेको उम्मेदवारलाई छानिछानी हाल्न सक्दैनौं जस्तो छ, त्यसो गर्दा भोटै बदर होला कि ?’ पिपल्लामा दलितका ६० भन्दा बढी घर छन्। अधिकांश घरधुरीमा अंशवण्डा भएर डेढ सयभन्दा बढी परिवार बसेका छन्। करिब साढे ३ सय मतदाता पिपल्ला दलित बस्तीमा रहेको स्थानीय कृष्ण कामीले बताउनुभयो। वडाको निर्वाचनका लागि पिपल्ला निर्णायक मत पनि हो। दलित बस्ती भएकाले वर्षौंदेखि पिपल्लाबासीले खानेपानी, सिँचाइ कुलो, रोजगारी, विकास निर्माणजस्ता पूर्वाधारबाट वञ्चित रहेका छन्। ‘सिंगो बस्ती अहिले पनि पिउने पानीका लागि सेती नदीको भर पर्छ’, स्थानीय सारु विकले भनिन्– ‘बजारको ढल बग्ने नाली हाम्रै बस्ती अगाडिबाट छिराएर सेतीमा फालिएको छ। त्यही नदीमा ढलबाट बगेका कीरा बगेको पानी खानुपर्ने बाध्य छ।’

पिपल्लामा खानेपानीका २ वटा सार्वजनिक धारा छन्। सबैले पालैपालो भाँडा थापे पनि पानी सुक्ने गरेको स्थानीयले दुःखेसो गरे। ‘चुनावका बेला त नेताहरू दिसा पनि खान तयार हुन्छन्’, २९ वर्षीय शंकर नागरीले असन्तुष्टि पोख्दै भन्नुभयो– ‘त्यसैले आश्वासन बाँड्ने र काम गर्ने नेताबीचको भिन्नता छुट्याउन सके पनि चाहेको उम्मेदवारलाई हालेको मत सदर हुने कि नहुने भन्ने बढी चिन्ता छ।’ आसन्न निर्वाचनमा आफ्ना माग कडा रूपमा अघि सार्ने योजनामा उनीहरू छन्। गाउँमा रहेका वृद्धवृद्धा, महिला र अशिक्षित मतदाताले पार्टीभन्दा उम्मेदवारलाई भोट हाल्ने सोच बनाउँदा मत बदर हुन सक्नेमा बढी त्रसित छन् पिपल्लावासी। ‘दलित बस्तीले एक छापे भोट जसलाई हाल्छन्, जित त्यसैको हुने निश्चित छ’, कृष्ण कामी भन्नुहुन्छ– ‘उम्मेदवारलाई छानेर हाल्दा मत बदर हुने डर छ, कुनै एक पार्टीमा नै हालौं भन्दा बस्तीका सबैको एकमत हुन नसक्ने डर छ।’

६४ वर्षीया तारा नागरीले निर्वाचनका बेला हुने हतार, उम्मेदवारको दवावले गर्दा भोट बिग्रने चिन्ता भने रहेको बताइन्। ‘अलग–अलग पार्टीका उम्मेदवारलाई भोट दिन थाले यहाँका अधिकांश मत बिग्रने सम्भावना छ’, कृष्ण कामीले उपाय सुल्झाए– ‘बरु जसलाई दिन चाहेको हो। ७ वटैमा लहरै छाप लगाउन उपाय जानकारी नभएकाले मत सदर हुन सक्छन्।’ जिल्ला निर्वाचन कार्यालय प्रमुख नवराज ओझाले मतदाता शिक्षाबारे गाउँगाउँमा सचेतना गर्ने काम तीव्र पारिएको बताउनुभयो। विगतको तुलनामा मतदाताले केही सजग भने हुनुपर्ने उहाँले बताउनुभयो। ‘हाम्रो तर्फबाट प्रचारप्रसार र मत हाल्ने तरिकाबारे सिकाउनमा कमी गरेका छैनौं’, ओझाले भन्नुभयो– ‘तर पनि त्यस्तो अवस्था छ भने हामी मतदाता शिक्षा दोहोर्याएर सिकाउन लगाउँछौं।’ थोरै समय र बढी कामको चटारो भएकाले मतदाता शिक्षामा सहयोग गर्न सबैले सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्