राजपाको बन्दले जनजीवन प्रभावित



 

लक्ष्मीकुमार साह, महोत्तरी

राष्ट्रिय जनता पार्टी नेपालले आह्वान गरेको आमहड्तालका कारण महोत्तरीको जनजीवन तेस्रो दिन पनि प्रभावित भएको छ। जलेश्वर नगरपालिका र गौशाला नगरपालिकालगायत १२ गाउँपालिकाका मुख्य बजार र सडकमा राजपाका नेता तथा कार्यकर्ताहरूले बिहीबार बिहानैदेखि ठाउँठाउँमा टायर बालेर सरकारविरुद्ध नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका थिए। संविधान संशोधन, स्थानीय तहको संख्या थप, मुद्दा फिर्तालगायत आफूसँग भएका सहमति कार्यान्वयन नगरी सरकारले चुनाव गर्न खोजेको भन्दै राजपा नेपालले मंगलबारदेखि आज शुक्रबारसम्मका लागि मधेस, थरुहट र लिम्बुवान क्षेत्रमा बन्दको आह्वान गरेको छ।

आन्दोलनकारीको प्रदर्शनन कारण सदरमुकाम जलेश्वर नगरपालिका, गौशाला नगरपालिकाको मुख्य बजारमा रहेका पसलहरू बिहीबार तेस्रो दिन पनि बन्द भयो। बन्दले बजार, पसल, शैक्षिक संस्था, वित्तीय संस्थाहरूलगायत सरकारी निकायहरूमा पूर्ण रूपले प्रभाव परेको छ। आमहड्तालका कारण यस जिल्लामा लामो तथा छोटो दूरीका कुनै पनि सवारी साधन चल्न सकेन। सवारीसाधन नचलेपछि बाहिरबाट आएका यात्रुहरू मर्कामा परेका छन्। बर्दिवास नगरपालिकामा बन्दको प्रभाव देखिएको छैन।

राजपासँग सरकारले पटकपटक गरेका सम्झौता विपरीत दोस्रो चरणको स्थानीय तहको निर्वाचन गराउने तयारी गरेपछि राजपाले बाध्य भएर आन्दोलनको घोषणा गरेको बताउँदै संविधान संशोधन, आन्दोलनमा ज्यान गुमाएकालाई शहीद घोषणा, घाइतेहरूलाई उपचार नगराएसम्म निर्वाचन हुन नदिने राजपाका नेता गजेन्द्र गुप्ता बताउँछन्।

प्रतिक्रिया दिनुहोस्