माओवादीद्वारा कांग्रेस एमालेलाई चुनाव प्रचारमा अवरोध



 

धनवीर दाहाल, रुकुम
स्थानीय तह निर्वाचनको प्रचारमा रहेका नेकपा एमाले र नेपाली कांग्रेसका नेताकार्यकर्तामाथि रुकुमको सिस्ने गाउँपालिका तथा भूमे गाँउपालिकामा माओवादी केन्द्रका कार्यकर्ताले अवरोध पुर्याएका छन्। पाँच नम्बर प्रदेशअन्तर्गत पूर्वी रुकुमका तीन गाउँपालिकाको चुनावी प्रचारप्रसार कार्यक्रम नेकपा माआवादी केन्द्रका कार्यकर्ताको अवरोधका कारण प्रभावित भएको नेपाली कांग्रेस र नेकपा एमालेले आरोप लगाएको छ।

चुनाव प्रचारमा गएको बेला गाउँगाउँमा क्याम्प बनाएर बसेका माओवादी केन्द्रका कार्यकर्ताले ढुंगामुढा गरेर लखेटेपछि स्थिति दैनिक तनावग्रस्त बन्दै गएको नेपाली कांग्रेसका नेता कृष्ण रोकायले बताउनुभयो। असार १ गते सिस्ने गाउँपालिकाको नायगाड बजारमा पुग्नेबित्तिकै आफूसहित पूर्वराज्यमन्त्री गोपालजीजंग शाहलाई त्यहाँबाट माओवादीका कार्यकर्ताले हातपात गरी लखेटेको उहाँले बताउनुभयो। ‘यहाँ हाम्रो आधार इलाका हो तपाईंहरू प्रवेश गर्न पाउनुहुन्न भन्दै लखेटे’ –रोकायले भन्नुभयो।

प्रचार गर्न नदिएपछि सिस्ने गाउँपालिकाको केन्द्र रुकुमकोटमा आएर बसेको पनि रोकायले जानकारी दिनुभयो। यस्तै नेकपा एमालेबाट सिस्ने गाउँपालिकाका उम्मेदवार नन्दलाल शर्माको चुनावी प्रचार टोलीलाई समेत माओवादी केन्द्रका कार्यकर्ताले प्रचारमा गाउँ पस्न रोक लगाएका छन्। प्रचारमा साविकको प्वाङ गाविसमा पुगेको बेला शहरबाट समेत आएका माओवादीका कार्यकर्ताले जंगली शैलीमा आफूहरूलाई लखेटेको अध्यक्षका उम्मेदार नन्दलाल शर्माले बताए। ‘हप्ता दिन जति भयो अरू पार्टीका कार्यकर्ता तथा नेतालाई माओवादी केन्द्रका कार्यकर्ताले गाउँ पस्न दिएका छैनन् यो उनीहरूको पुरानै द्वन्द्वकालको शैली हो’ –शर्माले भने। शर्माले सिस्ने गाउँपालिकाको कन्द्र रुकुमकोटमा मनोनयन दर्ता गराउन आउने वडा स्तरका उम्मेदवारहरूलाई समेत माआवादीका कार्यकर्ताले धम्की दिने, अपहरण गर्ने तथा बाटो अवरोध गरेर बसेको बताउनुभयो।

नेपाली कांग्रेसले पनि भौगोलिक विकटताका कारण उम्मेदवारी दर्ता गर्न रुकुमकोट आउन बाटो अप्ठेरो र फोनसमेत नलाग्ने वडाहरू भएकाले माओवादीले उम्मेदवारहरूलाई मनोनयन दर्ता गर्न निर्वाचन कार्यालयमा आउन बाटो छेकेर बसेको बताएको छ। उता जिल्लाको पुथाउत्तरगंगा र भूमे गाउँपालिकामा पनि माओवादीले एकलौटी तरिकाले राज गरिरहेको नेपाली कांग्रेस रुकुमका सभापति प्रेमप्रकाश ओलीले जानकारी दिनुभयो।

‘माओवादीले पुरानै शैलीमा आफ्नो व्यवहारहरू देखाएको छ अन्य पार्टीहरूलाई गाउँ पस्न दिएको छैन यो निर्वाचन आयोगले हेर्नुपछ’ –ओलीको भनाइ छ। नेकपा माओवादी केन्द्रले भने एमाले कांग्रेस लगाएको आरोप झूटो रहेको बताएको छ। नेकपा माओवादी केन्द्रका युवा नेता सुबोध सेर्पालीले भने आफूहरूले स्थानीयबासीले कांग्रेस एमालेका नेताहरूलाई कुट्न थालेकाले सुरक्षित तरिकाले पठाएको बताउनुभयो। ‘हामीले कसैलाई अवरोध गरेका छैनौं एमाले कांग्रेसले जनतासामु आएर झुटा र चर्को भाषण गरेका कारण गाउँमा झडप हुने अवस्था आउन सक्ने भएकाले हामीले स्थिति सामान्यीकरण बनाएका हौं’ –सेर्पालीले भन्नुभयो।

यस्तै नेकपा एमालेका नेता देवी ओलीको नेतृत्वमा रहेको चुनावी प्रचार टोलीलाई पनि खारावाङमा माओवादी कार्यकर्ताले अवरोध पुर्याएको एमालेले जनाएको छ। एमाले र माओवादी कार्यकर्ताबीच झडपको सम्भावना बढेपछि प्रहरी पुगेको थियो। प्रहरीले भीड तितरबितर पारे पनि ठाउँठाउँमा अवरोध पुर्याइरहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्