उत्कृष्ट कृषकलाई राष्ट्रपति पुरस्कार



मोतीराम तिमल्सिना, काभ्रे जिल्ला कृषि विकास कार्यालय काभ्रेले यो वर्ष उत्कृष्ट हुने तीन कृषकहरुलाई राष्ट्रपति पुरस्कारबाट नगद १० हजार सहित सम्मान गरेको छ । उत्कृष्ट कृषकहरुलाई मन्त्रालयका सह सचिव डा. योगेन्द्रकुमार कार्कीले सम्मान गरेका थिए ।

सम्मानित हुने कृषकहरुमा रयालेका उपेन्द्र तिमल्सिना, पाँचखालका विष्णुप्रसाद गौतम र शंखुका सिताराम भट्टराई रहेका छन् । १४ जना कृषकहरुले आवेदन दिएकोमा तीन कृषक उत्कृष्ट भएका हुन् । तिमल्सिनाले अलैचीको विउ तथा अलैची नर्सरी, मौरी पालन, सुन्तला खेती गरेका छन् भने गौतमले फलफुल नर्सरी, आईपिएम पद्धतीबाट तरकारी खेती र पशुपालन गरेका छन् ।
त्यस्तै भट्टराईले प्लास्टिक घरमा तरकारी खेती, सुन्तला खेती गरेका छन् । कार्यक्रममा बोल्दै सह सचिव कार्कीले कृषि क्षेत्रमा भएको उल्लेख्य प्रगति आगामी केहि वर्षमा अझै फड्को मार्ने बताए । स्थानीय तहमा जनप्रतिनिधि आए सँगै कृषि क्षेत्रको विकास दुगुनाले बढ्ने कार्कीले बताए । प्रविधि र दक्ष जनशक्ति सबै कृषि क्षेत्रमा सहभागि भएको बताउँदै कार्कीले उत्पादनमा पनि हरेक वर्ष बृद्धी हुन थालेको बताए ।

 

कार्यक्रममा बरिष्ठ कृषि अर्थ विज्ञ मणीरत्न अर्याल, मिनप्रसाद बुढाथोकीले कृषि क्षेत्रमा भएका पछिल्ला प्रयास, सहकारी, गैरसरकारी र सरकारी क्षेत्रको संलग्नताका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । कृषि मन्त्रालयले देशका सातवटै प्रदेशमा यस्तो अन्र्तक्रिया कार्यक्रम आयोजना गरी निर्वाचित जनप्रतिनिधिहरुलाई यस्ता सुझावहरु सहितको नीति हस्तान्तरण गर्ने तयारी गरेको सह सचिव कार्कीले बताए ।

कार्यक्रममा मन्त्रालयकै बरिष्ठ कृषि विकास अधिकृत हेमकुमारी श्रेष्ठ, जिल्ला कृषि विकास कार्यालयका बरिष्ठ कृषि विकास अधिकृत दुर्गाप्रसाद पण्डित, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिना, जिल्ला कृषि विकास कार्यालयका कृष्ण धिताल, राष्ट्रिय सहकारी बोर्डका दिपक पौड्याल, सहकारीकर्मी दिपक जंगम लगायतले सहकारी क्षेत्रबाट कृषिमा हुन सक्ने सहयोग र सहकार्यका बारेमा बोलेका थिए ।
सम्मानीत हुने कृषक सिताराम भट्टराईले आफ्नो प्रयासबाट दैनिक १० जनालाई दिन सकेको रोजगारी र उत्पादनको सहयोगबाट जिल्लामा अन्य क्षेत्रमा पनि यस्ता कार्यक्रम हुन सक्ने बताउँदै समन्वय र सहकार्यको आवश्यकता रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्