सुर्खेेतका जनप्रतिनिधिको सामूहिक प्रतिबद्धता



 

सुर्खेत, १ असार । सुर्खेतका नवनिर्वाचित जनप्रतिनिधिले जिल्लाको विकासका लागि एकताबद्ध भएर काम गर्ने सामूहिक प्रतिबद्धता जनाएका छन् । जिल्ला समन्वय समितिले बुधबार आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा उनीहरूले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

कार्यक्रममा नगरप्रमुखका तर्फबाट पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्रबहादुर थापाले विकास गर्नका लागि आफूहरुमा अझै धेरै चुनौती थपिएको बताउनुभएको छ । उहाँले प्रत्येक वडामा वडा सचिव पठाउन पनि कार्यालय प्रमुख तथा सरकारलाई आग्रह गर्नुभएको छ ।

यस्तै, उपप्रमुखका तर्फबाट वीरेन्द्रनगर नगरपालिका उपप्रमुख मोहनमाया ढकालले सुर्खेत जिल्लाको विकासका लागि निश्चित कार्ययोजना बनाएर अघि बढ्नुपर्ने बताउनुभएको छ । उहाँले यस क्षेत्रमा खानेपानी, स्वास्थ्य, वन अतिक्रमण लगायतका समस्या र सम्भावना रहेकाले योजना बनाएर जानुपर्नेमा जोड दिनुभयो । ढकालले सुर्खेतका सुकुम्वासी र बाढी प्रभावितका समस्यामा पनि आफूहरुले ध्यान दिने प्रतिबद्धता जनाउनुभएको छ ।

कार्यक्रममा क्षेत्रीय प्रशासक महेन्द्रप्रसाद गुरागाईंले नवनिर्वाचितलाई सफलताको शुभकामना दिँदै सबैसँग सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी महादेव पन्थले विपद् व्यवस्थापनको जोखिम बढी भएकाले विपद् व्यवस्थापन समिति तयार गर्न नवनिर्वाचितलाई सुझाव दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्