फेरि शिवरामकै वर्चस्व



भक्तपुर जिल्ला खेलकूद विकास समिति र विद्या विकास सेकेन्डरी बोर्डिङ स्कूल भक्तपुरको संयुक्त आयोजनामा तेक्वान्दो आईटीएफ नेपालका खेलाडीद्वय (बाबुछोरा) लक्ष्मण बस्नेत र सस्मन बस्नेतलाई सम्मान गरिएको छ। तस्वीरः नेस

 

नेपाल समाचारपत्र
काठमाडौं
नेपालका नम्बर एक प्रो गल्फर शिवराम श्रेष्ठलाई सर्वाधिक सफल गल्फर बनाउँदै सूर्य नेपाल गल्फ टुर २०१६⁄१७ को सिजन सम्पन्न भएको छ।

एक दशकदेखि नेपाली गल्फमा एकछत्र राज गर्दै आएका शिवरामका लागि यो सिजन अत्यन्त सुखद र उपलव्धि रह्यो। सूर्य नेपाल टुरअन्तर्गत यो सिजन कुल ४७ लाख ७५ हजार नगद पुरस्कारको आठ प्रतियोगिता सम्पन्न भए।

प्रतियोगितामा चालिस प्रो गल्फरलाई जिल्याउँदै शिवराम एक्लैले ६ उपाधि जिते। यो सिजन ६ उपाधि जितेसँगै ३३ वर्षीय शिवरामले करियरमा ३६ उपाधि जितेका छन्। उनले ६ उपाधिसहित ८ लाख १३ हजार नगद पुरस्कारसहित सिजनलाई सानदार बनाए।

सूर्य नेपाल इस्टर्न ओपनबाट सिजनको शुरूआत गरेका शिवरामले सूर्य नेपाल च्यालेन्ज, सूर्य नेपाल वेस्टर्न ओपन, सूर्य नेपाल सेन्ट्रल ओपन, सूर्य नेपाल टुर च्याम्पियनसिप र सर्वाधिक नगद पुरस्कारको सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि जिती सिजनलाई स्मरणीय बनाए।

नम्बर तीन गल्फर सन्जय लामाका लागि यो सिजन सुखद र निराशाजनक दुवै रह्यो। सिजनभरिकै स्थिर खेलाडीका बाबजुद उपाधिविहीन रहनु सञ्जयको नियती बन्यो। तर यो सिजन ४ लाख ११ हजार २ सय ५० नगद पुरस्कार जित्दा, सिजनको दोस्रो सफल खेलाडीको रूपमा आफूलाई उभ्याए। यो सफलतासँगै उनी आगामी सिजनमा नेपाल नम्बर २ खेलाडीका रूपमा बढुवा भए।

सञ्जय यो सिजन सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपसँगै सूर्य नेपाल इस्टर्न ओपन, सूर्य नेपाल सेन्ट्रल ओपन र सूर्य नेपाल एनपीजीए म्याच प्लेमा उपविजेता बने। यसै गरी अन्य तीन स्पर्धामा पनि तेस्रो भए।

सन्जयको भन्दा फरक कथा रच्न सकेनन् भुवन नगरकोटीले। दावेदार रहे आठै प्रतियोगितामा तर उपाधिविहीन रहनु उनको पनि बाध्यता बन्यो। तर उनी यो सिजनको तेस्रो सफल गल्फर बने। उनले कूल तीन लाख ६९ हजार नगद पुरस्कार आफ्नो पोल्टामा पारे। उनी यो सिजन सूर्य नेपाल च्यालेन्ज र सूर्य नेपाल वेस्टर्न ओपनका उपविजेता बने।

पूर्व नम्बर एक गल्फर रबी खड्काले भने यो सिजन पनि चौथो स्थानमै सकाए। रबी सिजनको आठमध्ये सूर्य नेपाल टुरअन्तर्गत छैठौ प्रतियोगिता सूर्य नेपाल एनपीजीए म्याच प्ले च्याम्पियन बने। रबीले सन्जय लामालाई फाइनलमा हराउँदै उपाधि जित्दा साख जोगाएका थिए। सूर्य नेपाल एनपीजीए म्याच प्लेको उपाधिसँगै ७० हजार रुपियाँ जितेका थिए। उनले सिजनको अन्त्य कूल तीन लाख ४१ हजार २ सय ५० रुपियाँ पुरस्कारबाट गरे।

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको अन्तिम दिनलाई निकै रोमान्चक बनाएका सूर्यप्रसाद शर्मा भने यो सिजन पाँचौ स्थानमा रहे। सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि नजिक पुग्दै करियरकै ठूलो सफलता हात पार्नबाट थोरैले चुकेका थिए। संयुक्त रूपमा दोस्रो स्थानमा चित्त बुझाएका उनी सूर्य नेपाल टुर च्याम्पियनसिपका पनि उपविजेता हुन्। सूर्यको प्रदर्शन सिजनभरि एकरूपको त रहेन तर अधिकांश प्रतियोगितामा दावेदारकै रूपमा रहे। उनले यो सिजन कूल ३ लाख ३ हजार नगद प्राप्त गरे।
सिजनका ८ मध्ये एक प्रतियोगिता सूर्य नेपाल काठमाडौँ ओपन भने रामे मगरले जिते। बुढो बाघका रूपमा रामेका लागि यो उपाधि विशेष रह्यो। उनले सिजनको अन्त्य सातौ स्थानमा पूरा गरे।

प्रतिक्रिया दिनुहोस्