बस खस्दा १२ को मृत्यु



 

विष्णुप्रसाद भण्डारी, अछाम
दैलेखको आठबीस नगरपालिका–४ मा बस दुर्घटना हुँदा १२ जनाको ज्यान गएको छ। कालिकोटको जितेगडाबाट महेन्द्रनगरका लागि छुटेको ना४ख २९९८ नम्बरको बस आठबीस नगरपालिका–४ राकम कर्णालीमा दुर्घटना हुँदा अन्य १७ जना घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ। घाइतेहरूको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको दैलेखका डीएसपी केदार रजौरेले जानकारी दिनुभयो।

दैलेखमा उपचार भइरहेका घाइतेलाई हेलिकोप्टरमार्फत् काठमाडौं ल्याउने तयारी भएको प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा परी मृत्यु हुनेमा सिंहा नेपाली, विनायक नगरपालिका, अछाम, रूपा नेपाली, विनायक नगरपालिका, अछाम, धीरेन्द्र बीसी, भैरवस्थान, अछाम, युवराज शाही, राजकोट नगरपालिका–६ कालिकोट, सुनील शाही, शान्नि त्रिवेणी गाउँपालिका, कालिकोट, धर्मराज शाही, रासकोट नगरपालिका–५ कालिकोट, प्रकाश शाही, रासकोट नगरपालिका–५ कालिकोट र कविता शाही, रासकोट नगरपालिका–५ कालिकोट रहेका छन्।

बुधबार राति यो समाचार तयार पार्दासम्म अन्य मृतकको सनाखत हुन सकेको थिएन।

आठबीस नगरपालिका–४, नैन्याल थाननजिकबाट बस सडकभन्दा ३ सय मिटर तल खसेको थियो। इलाका प्रहरी कार्यालय राकम कर्णाली र स्थानीयको सहयोगमा घाइतेको उद्वार भएको नेकपा एमाले आठबीस नगरपालिकाका संगठन कमिटी संयोजक ओमजङ शाहीले जानकारी दिनुभयो।

रेलले किचेर तीन नेपालीको ज्यान गयो

विराटनगर, (नेस)
भारतको जोगबनीमा गुडिरहेको रेलबाट किचिएर मंगलबार राति तीन नेपालीको मृत्यु भएको छ। मृत्यु हुनेमा मोरङको कदमाहा–८ का २५ वर्षीय रमेश शर्मा, जुडीघाट–८ का १६ वर्षीय राजु ऋषिदेव र धनुषा सिग्याहीमडानका २६ वर्षीय विनोद यादव रहेको सीमा प्रहरी कार्यालय जोगबनीले जानकारी दिएको छ।

मंगलबार राति ८ बजे को१७प ३६९३ नम्बरको मोटरसाइकलमा चढेका उनीहरू रेलको लिकबाट पार गर्न खोज्दा सोही समयमा तीव्र गतिमा आएको रेलले किचेको थियो। ५५७४२ नम्बरको सो रेल जोगबनीबाट कटिहारतर्फ जाँदै गरेको थियो। मृतकको शव परीक्षणपछि परिवारलाई बुझाइएको छ।

 

राजधानीमै ढिस्कोले ३ जनालाई पुर्यो

काठमाडौं, (नेस)
मेलम्ची खोनेपानी आयोजनाको पाइप बिच्छ्याउने क्रममा राजधानीको सीतापाइलामा बुधबार बिहान २ बजे तीन जना मजदुरको मृत्यु भएको छ।

खानेपानीको पाइप बिच्छ्याउने क्रममा खाल्डोमा पाइप राखी रहेको बेला माटोको ढिस्कोले पुरिएर ३ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। माटोले पुरिएर सप्तरीका सन्तोष दास र श्यामसुन्दर राम तथा पर्वतका तेजबहादुर केसीको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्