चुनावलाई एम्बुसमा पार्ने प्रयास



 

बीपी साह, काठमाडौं
लहरूले फेरि पनि दोस्रो चरणको स्थानीय निर्वाचनलाई एम्बुसमा पार्ने तयारी गरेका छन्। जनताको मताधिकार प्रयोग गर्ने अधिकार फेरि अर्कोपटक कुण्ठित पार्न लागिएको हो। यद्यपि प्रमुख प्रतिपक्षी नेकपा एमालेले निर्वाचन सार्न मानिरहेको छैन। असार १४ गतेका लागि तय भएको दोस्रो चरणको निर्वाचन सार्ने विषयमा आज बिहीबार सत्तारूढ दल र आन्दोलनरत राष्ट्रिय जनता पार्टीबीच छलफल हुने भएको छ। साथै, उनीहरूले यसको सम्भावनाको बारेमा निर्वाचन आयोगसँग पनि छलफल गर्ने जनाइएको छ। यस्तै प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग पनि यसबारेमा छलफल हुने भएको छ।

बधुबार साँझ प्रमुख प्रतिपक्षी एमालेसहित सत्तारूढ नेपाली कांग्रेस, माओवादी केन्द्र र राजपाबीच भएको छलफलमा दोस्रो चरणको निर्वाचन सार्ने विषयमा छलफल भएको थियो। बैठकमा एमालले लिखित सहमतिविना चुनावको मिति सार्न नहुने अडान दोहर्याएको छ। तर सत्तारूढ दल र राजपाले चुनावको मितिबारे निर्वाचन आयोगसँग छलफल गरी एमालेसँग पनि छलफल गर्ने सहमति जनाएका छन्।

बैठकमा सहभागी माओवादी केन्द्रका नेता मातृका यादवले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘छलफल सकारात्मक भएको छ। राजपालाई निर्वाचनमा ल्याउने वातावरण बनाउने विषयमा छलफल भएको हो। तर राजपालाई निर्वाचनमा ल्याउँदा समय अपुग देखिएकाले निर्वाचन आयोगसँग छलफल गरी निर्वाचन सार्न सकिन्छ वा सकिँदैन भन्नेबारे बिहीबार छलफल हुनेछ।’ यादवका अनुसार बिहीबार बिहान निर्वाचन आयोगसँग छलफल गरी निर्वाचनको नयाँ मितिबारे १० बजे हुने बैठकमा छलफल गरिनेछ।

बैठकमा एमालेले निर्वाचन सार्नुको औचित्य पुष्टि गर्न माग गरेको थियो। राजपाका लागि चुनाव सार्न सकिनेतर्फ संकेत गर्दै एमालेले लिखित सहमति माग गरेको थियो। तर बैठकमा राजपाका नेताहरूले यसअघि भएका लिखित सहमतिहरू र एमाले आफैंले प्रस्ताव गरेका विषयमा धोका दिएको आरोप लगाएका थिए। बैठकमा राजपाका नेता महन्थ ठाकुरले निर्वाचन सारिए पनि आफूहरूको माग सम्बोधन नगरिए निर्वाचन हुन नदिने अडान लिनुभएको थियो। उहाँले संविधान संशोधनमा ढिलाइ हुने भए पनि अन्य मागहरू पूरा गरी निर्वाचनको वातावरण बनाउन आग्रह गर्नुभएको थियो।

कांग्रेस र माओवादीका नेताहरूले संविधान संशोधन अहिलेको अवस्थामा गर्न नसकिने कुरा दोहर्याउँदै प्राविधिक कुराहरू मिलाउने वाचा गर्नुभएको राजपाका एक नेताले बताउनुभयो।

उहाँका अनुसार एमालेले स्थानीय निकायको निर्वाचनपछि संविधान संशोधनमा सहयोग गर्ने र स्थानीय निकायको संख्या वृद्धि पनि त्यसपछि गर्ने संकेत गरेको थियो। तर त्यसबापत एमालेले राजपालाई निर्वाचनमा सहभागी हुन लिखित सहमति माग गरेको थियो। २ नम्बर प्रदेशको निर्वाचन सार्ने विषयमा एमाले बढी लचक देखिए पनि ५ नम्बरको विषयमा सकारात्मक देखिएको थिएन।

तर बैठकबाट बाहिरिँदै एमाले नेता सुवासचन्द्र नेम्वाङले आफूहरूले असार १४ मै निर्वाचन चाहेको प्रतिक्रिया दिनुभएको थियो। राजपाका प्राविधिक कामहरू पनि अहिले गर्न नसकिने बताउँदै नेम्वाङले चुनावपछि उहाँहरूको मागका बारे छलफल गर्न एमाले तयार रहेको बताउनुभयो।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले राजपालाई निर्वाचनमा सहभागी गराउन आवश्यक प्राविधिक विषयमा छलफल भएको बताउनुभयो।

राजपाका नेता शरत्सिंह भण्डारीले छलफल सकारात्मक भएको बताउँदै निर्वाचनमा सहभागी हुनका लागि वातावरण बनाउने विषयमा छलफल जारी रहेको जानकारी दिनुभयो।

बैठकबाट पहिले एमाले बाहिरिएको थियो। त्यसपछि सत्तारूढ दल र राजपाबीच छलफल भएको थियो। बैठक आज बिहान १० बजे पुनः बस्नेछ।

एमालेको अडान ‘सार्न पाइँदैन’

काठमाडौं, (नेस)
दनेकपा एमालेले असार १४ गतेका लागि तोकिएको दोस्रो चरणको स्थानीय तहको निर्वाचन तोकिएकै मितिमा गर्नुपर्नेमा जोड दिएको छ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतमा बुधबार पार्टी मुख्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटीको बैठकले तोकिएकै मितिमा चुनाव हुनुपर्ने कुरामा जोड दिँदै संविधानमार्फत् संस्थागत भएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई आमजनताको बीचमा स्थापित गर्दै मुलुकको आर्थिक समृद्धिको यात्रालाई नेतृत्व गर्न र जनताको मताधिकारको सम्मान गर्नका लागि निर्वाचन नै निर्विकल्प माध्यम भएको निक्र्यौल निकालेको छ।

त्यसै गरी बैठकले असार १४ गतेको स्थानीय तहको निर्वाचनमा भाग लिन र नेपालको राजनीतिक स्थायित्वमा भूमिका निर्वाह गर्न राष्ट्रिय जनता पार्टीलगायत सबै राजनीतिक दलहरूलाई आह्वान गरेको छ।

उक्त बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, दोस्रो चरणको स्थानीय तह निर्वाचनलगायतका विषयमा गम्भीर छलफल भएको पार्टी स्रोतले बताएको छ। बैठकले आन्दोलनरत राष्ट्रिय जनता पार्टी राजपाले उठाएका केही मागहरूप्रति पार्टी सकारात्मक रहेको पनि बताइएको छ। राजपाले उठाएका जायज मागहरूप्रति सरकारर गम्भीर भई उनीहरूको माग पूरा गर्न पनि आग्रह गरेको छ।

बैठकले मधेस आन्दोलनका क्रममा मृत्यु भएकाका परिवारलाई क्षतिपूर्ति दिने, घाइतेहरूको उपचारको व्यवस्था गर्नेलगायतका मागहरूलाई सम्बोधन गर्न सरकारको गम्भीर ध्यानाकर्षण गरेको छ।

त्यसै गरी मुलुकमा दण्डहीनताको स्थिति आउन नदिन र गम्भीर अपराधमा संलग्नहरूलाई उन्मुक्ति नदिन पनि सरकारले ध्यानाकर्षण गरेको छ। बैठकले कुनै पनि निर्दोष नेपाली नागरिकमाथि अनुचित दण्ड सजाय नगर्न तथा निर्दोष व्यक्तिहरूमाथि लगाइएका मुद्दाहरू फिर्ता गरी निर्वाचनको वातावरण बनाउन सरकारसमक्ष आग्रह गरेको छ।

बैठकले स्थानीय तहको निर्वाचन र संविधान संशोधन बिलकुल अलग विषय भएकाले राष्ट्रिय हितविरुद्धको, राजनीतिक धु्रवीकरणलाई बढावा दिने, राजनीतिक र संवैधानिक स्थायित्वमाथि गम्भीर प्रश्न उठ्ने गरी व्यवस्थापिका संसद्मा प्रस्तावित संविधान संशोधनप्रति गम्भीर असहमति प्रकट गर्दै प्रस्तावलाई फिर्ता गर्न सरकारसमक्ष माग गरेको छ।

बैठकले राजनीतिक दलका नेतृत्व वर्गहरूबाट आइरहेका निर्वाचनको मितिकाबारेमा भ्रमपूर्ण वक्तव्यहरू सार्वजनिक गर्ने, निर्वाचनका बारेमा अनिश्चय सिर्जना गर्ने, राजनीतिक अस्थिरतालाई बढावा दिनेजस्ता अभिव्यक्तिप्रति आपत्ति प्रकट गरेको छ।

निर्वाचनका विरुद्ध सरकारका तर्फबाट हुने षड्यन्त्रप्रति पार्टी सजग रहेको र त्यसको प्रतिवाद गर्न सर्वसाधारणलाई अपिल गर्दै तोकिएकै मितिमा प्रदेश नं. १, २, ५ र ७ मा निर्वाचन सम्पन्न गर्न सरकार र निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गरेको छ।
स्थायी कमिटीको अर्को बैठक आज बिहान ८ बजे पार्टी अध्यक्षको निवास बालकोट भक्तपुरमा बस्ने निर्णय गरिएको छ।

प्रतिक्रिया दिनुहोस्