राजपाको निसानामा ‘आफन्तै’



 

कृष्णउदास खनाल, वीरगन्ज
केही दिनअघिसम्म सँगै आन्दोलन गरेका संघीय समाजवादी फोरम र राजपा अहिले भने दुवैले एक–अर्कालाई शत्रु देख्न थालेका छन्।

असार १४ गते सम्पन्न गर्ने भनिएको स्थानीय तहको विरोधमा आन्दोलनमा उत्रिएको राजपाले पछिल्लो समय निसानामा उपेन्द्र यादव नेतृत्वको पार्टीलाई बनाउन थालेको छ। केही दिनअगाडि राजविराजमा उपेन्द्र यादवमाथि आक्रमणको प्रयास गरेका राजपाका नेता कार्यकर्ताहरूले वीरगन्जमा भने सो पार्टीको कार्यालय नै जलाएका छन्। मधस आन्दोलनको कुनै समयमा नेतृत्व गर्ने उपेन्द्र यादवकै पूर्वनेता तथा कार्यकर्ताबाट उनी र उनको पार्टी निसानामा पर्न थालेको हो।

राजपाका कार्यकर्ताहरूले वीरगन्जको घण्टाघर चोकमा राजपाका महिला नेतृहरूले फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको पुतला दहन गरेका थिए। संविधान संशोधनको कुरामा एकमत भएर पछि धोखा दिँदै पहिलो चरणमा सहभागी भएको र दोस्रो चरणमा पनि संविधान संशोधनबिनै सहभागी हुने जनाएर मधेसको मुद्दा कमजोर पार्न खोजेको भन्दै अध्यक्ष यादवको पुतला दहन गरिएको उनीहरूको आरोप छ। यसरी नै उनीहरूले वीरगन्जको आदर्शनगर चोकमा हालै खुलेको संघीय समाजवादी फोरमको पार्टी कार्यालयमा समेत आक्रमण गरी क्षति पुर्याएका छन्।
अन्तिम समयमा आएर आफूहरूलाई यादवले धोका दिएको भन्दै उनीहरूले उपेन्द्र यादवलाई निसानमा बनाइएको राजपाका नेताहरूले बताएका छन्। आफूहरूको मागको सम्बोधन नगरेसम्म मधेसमा निर्वाचन हुन नदिने राजपाका जिल्ला नेता मुस्तकिम अन्सारीले बताए। फोरमकै कार्यालयमा राजपाको आक्रमण भएपछि विशेष गरी वीरगन्ज क्षेत्रका केही राजनीतिक व्यक्ति, पत्रकार, उद्योगी तथा सर्वसाधारणले भने आफ्नो सामाजिक सञ्जालमार्फत् निषेधको राजनीति अन्त्य गर्न आग्रह गरेका छन्। अघि गएको वर्ष मधेसमा भएको आन्दोलनका क्रममा भने सबैभन्दा बढी एमाले र कांग्रेस मधेसी मोर्चाको निसानमा परेका थिए। उपेन्द्र यादवलाई राजपाले राजनीतिकरूपमा आफन्तको रूपमा लिएको भए पनि उनको चुनावमा भाग लिने नीतिको भने राजपाले असहमति जनाएको राजपाका नेताहरूले नै बताएका छन्।

प्रतिक्रिया दिनुहोस्