टिकट वितरणमा मनोमानी भएको भन्दै प्रदर्शन



 

राम धामी, डडेल्धुरा
नेपाली कांग्रेस केन्द्रीय समितिले डडेल्धुरा जिल्लाका सबै स्थानीय तहका उम्मेदवारहरूको टुंगो लगाएपछि स्थानीय नेता–कार्यकर्ता असन्तुष्ट भएका छन्। असन्तुष्ट जिल्लास्तरीय नेता कार्यकर्ताहरूले दिनहँु केन्द्रीय नेतृत्वविरुद्ध असन्तुष्टी जनाइरहेका छन्।

कांग्रेस केन्द्रीय कार्यालयले सोमबार अमरगढी नगरपालिकासहित ५ स्थानीय तहमा उम्मेदवार तय गरेको सूचना सार्वजनिक गरेको हो। पार्टीमा योगदान पुगाउने लोकप्रीय उम्मेदवारका आंकक्षीहरूलाई पाखा लगाएर पार्टीमा कामै नगरी च्याप्लुसी र चाकडीका भरमा टिकट वितरण गरिएको भन्दै मौन जुलुस निकालिएको थियो। मंगलबार जिल्लास्तरीय नेता कार्यकर्ताहरूले प्लेकार्डसहित नगर परिक्रमा गरेर कोणसभा सम्पन्न गरेका छन्।

कोणसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेस डडेल्धुराका कार्यवाहक सभापति करुणाकर भट्टले जिल्लाबासी र पार्टी कार्यकर्ताहरूको भावनाविपरीत टिकट वितरण गरिएकोमा आपत्ति प्रकट गरे। उनले आफ्नै गृहजिल्लाका नेता कार्यकर्ताहरूको मूल्यांकन गर्न नसकेकोमा केन्द्रीय सभापति शेरबहादुर देउवाको चर्को आलोचना गरे। ‘हामी सबै जिल्लाबासीको आस्थाको धरोहर भएकाले शेरबहादुर दाइले अन्याय गर्ने छैनन् भन्नेमा विश्वस्त थियौं’, भट्टले भने– ‘तर, चाकडी र च्याप्लुसी गर्नेलाई टिकट दिएर पार्टी हराउने काम भइरहेकाले तत्काल निर्णय फिर्ता गर्न आग्रह गर्दछौं।’

कोणसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेस डडेल्धुराका महाधिवेशन प्रतिनिधि हरिप्रसाद भट्टले जिल्ला कार्यसमितिले सिफारिस गरेभन्दा बाहिरका व्यक्तिहरूलाई टिकट दिएर केन्द्रीय कार्यालयले विधि र पद्धति मिचेको आरोप लगाए। उनले छैटौं जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला कार्यसमितिलाई असहयोग गर्ने र गुटगत राजनीति गरेर पार्टीलाई कमजोर बनाउने गतिविधिमा संलग्न व्यक्तिहरूको सिफारिसका आधारमा टिकट वितरण हुनु आश्चार्यजनक भएको टिप्पणी गरे।

नेपाली कांग्रेस अमरगढी नगर समितिका सभापति दानबहादुर पालले टिकट वितरणसम्बन्धी निर्णय नसच्चिएमा सबै स्थानीय तहमा स्वतन्त्र उम्मेदवार खडा गरेर अघि बढनुपर्ने बाध्यता उत्पन्न हुने चेतावनी दिए। ‘कसैलाई काखा र कसैलाई पाखा गर्न केन्द्रीय कार्यसमितिले पाउँदैन्’, उनले भने– ‘यो पार्टी सिद्धइउने चाला हो।’

नेपाली कांग्रेस डडेल्धुराले परशुराम नगरपालिका र आलिताल गाउँपालिकामा सर्वसम्मतिका आधारमा उम्मेदवार छनोट गरेको थियो भने अन्य ५ स्थानीय तहमा उम्मेदवार छनोट गर्न केन्द्रीय सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले जिल्लास्तरीय नेताहरूलाई राजधानी झिकाएका थिए। झण्डै एक महिना जति जिल्लास्तरीय नेताहरू र उम्मेदवारका आकंक्षी टिकटका लागि राजधानी बसेका थिए। छलफलका क्रममा जिल्ला नेतृत्वले अडान राखेका कुनै पनि उम्मेदवारले टिकट नपाउने अवस्था देखिएकाले जिल्ला कार्यसमिति सभापति कर्णबहादुर मल्लले केन्द्रीय नेतृत्वलाई चेतावनी–पत्रसमेत पेस गरेका थिए।
टिकट वितरणसम्बन्धी निर्णय नसच्चिएमा स्वतन्त्र उम्मेदवार खडा गरेर निर्वाचनमा जाने संकेत जिल्ला कार्यसमितिले दिएको छ।

प्रतिक्रिया दिनुहोस्