रक्तदान गर्न सेनाको टोली आफै अग्रसर



धनवीर दाहाल,रुकुम ।
बुधबार बिहान करिव ८ बजे नेपाली सेनाको एक टोली कर्णेल पंकज रावलको नेर्तृत्वमा व्यारेक बाहिर निस्कीयो ।

नियमितजसो निस्कने भन्दा फरक तरिकाले कर्णेलकै कमाण्डमा सेनाको टोली निस्कीएपछि स्थानीयहरु एक छिन अलमल परे ।
रुकुमको सल्ले स्थित देवीदल गणको सो टोली सल्ले व्यारेकबाट निस्कीएर सिधै जिल्ला अस्पताल रुकुममा पुग्यो ।

तर त्यहाँ उनीहरुको नियमित काम भन्दा पनि रगतको अभावमा छटपटाइरहेका रुकुमेलीको लागी रक्तदान दिवसको दिन रगत दान गर्न कर्णेलकै कमाण्डमा निस्कीएका रहेछन् ।

व्यारेकबाट निस्कीएको आधा घण्टापछि मात्र स्थानीयहरुलाई थाहा भयो कि सेना रगत दान गर्न अस्पताल पुगेको रहेछ । बिश्व रक्तदाता दिवसको दिन बुधबार एक कार्यक्रमको बिच नेपाली सेनाको देवीदल गण रुकुमका गणपति प्रमुख सेनानी पंकज रावल, सेनानी दिलिप के.सी र केही स्थानीयले रक्तदान गरेका छन् ।

अरु समयमा पनि नेपाली सेनाको टोलीले नै रक्तदान गर्ने गरेका छन् । नेपाल रेडक्रस सोसाइटी रुकुम शाखाले गरेको रक्तदाता दिवस कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र अन्य सर्वसाधारणले रक्तदान गरी उल्लेखनिय काम गरेको भन्दै सम्मान समेत गरिएको थियो ।

रुकुममा ब्लड बैंकको स्थापना गर्ने भनि बिभिन्न सरोकारवाला निकायले पहल चालेको धेरै भइसकेको छ । तर कुनै न कुनै समस्याले हाल सम्म पनि ब्लड बैंक स्थापना हुन सकेको छैन ।

तर रुकुम स्थित नेपाली सेनाको देवी दल गणले रगतकै अभावमा कसैलाई पनि मृत्यु हुन दिएको छैन ।

‘रक्तदान जीवनदान’ भन्ने भावनालाई आत्मसाथ गर्दै यस गणका सकलदर्जाहरुले आवश्यक परेको अवस्थामा यथासिघ्र जिल्ला अस्पतालसंग समन्वय गरी रक्तदान गर्ने गरेको नेपाली सेनाको देबीदल गणका गणपति प्रमुख सेनानी पंकज रावलले बताए ।

आवश्यक परेको बेला मिल्दो ब्लड निःशुल्क रुपमा उपलब्ध गराउने उनको भनाई छ । जनताप्रतिको उत्तरदायित्व नेपाली सेनाले पुरा गरेको छ । आपत परेका बेला ब्लड पाइदा यहाँका सर्वसाधारणहरुमा धेरै सुविस्था भएको छ । गत आर्थिक वर्षमा भन्दा यो बर्ष बढिलाई नेपाली सेनाले ब्लड निःशुल्क दिएको थियो । यस्तै हाल सम्म रुकुममा नेपाली सेना, नेपाल प्रहरी र अन्य सर्वसाधार(ा गरी १०६ जनाले रगत दान गरी मान्छेको ज्यान बचाएको नेपाल रेडक्रस सोसाइटीका कार्यालय प्रमुख नबिनतम रोकायले जानकारी दिए ।

रक्तदाता दिवस कार्यक्रममा रुकुमका प्रमुख जिल्ला अधिकारी बंशिकुमार आचार्यले रक्तदान भनेको नै सबै भन्दा ठुलो धर्म भएको बताउँदै मानिसको जिवन बचाउने कुरामा रक्तदाताले दिएको योगदानको प्रसंशा गरे ।

उनले आफुले पनि हाल सम्म २७ पटक रक्तदान गरेको बताए ।
कार्यक्रममा स्थानीय विकास अधिकारी नरेन्द्रकुमार राना, रेडक्रस रुकुमका सभापति शिवराम खत्रीले रक्तदाताले गर्दा रुकुममा धेरै रगतको अभावबाट ज्यान गुमाउनु नपरेको बताए । आगामी दिनमा पनि यस्तै प्रशंनिय कार्यका लागी अनुरोध समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्