जन्मिएको एक घण्टामै दोस्रो जन्म



चिरञ्जीवी मास्के, दोलखा ।
सर्मिला बस्नेत बर्ष २१, काखमा दुई महिनाको छोरा बोकेकी छन् । दोलखा विगु गाँउपालिका वडा नम्बर ४ लादुकमा घर नजिक भेटिएकी सर्मिलाले भनिन् – मेरो यो छोराले जन्मिएको एक घण्टामै दोस्रो जन्म लिएको छ ।

उनको कुरा आश्चर्य लाग्दो र घत लाग्दो छ । एक घण्टामै दोस्रो जन्म ? जिज्ञासा लाग्नु स्वभाविक हो । स्थानिय महिला स्वयमसेविका दुर्गा खड्काले भनिन् – सर्मिलाको छोरा दिक्षान्त महिना नपुगी जन्मीएका हुन् । दिक्षान्त जन्मदा ढुकढुकीसम्म नभएको बताउने महिला स्वयमसेविका दुर्गा बच्चालाई आफुले कृतिम शास दिएर बचाएको बताउछिन् ।

दिक्षान्तको जन्म भएपछि सर्मिलाको आफन्तले महिला स्वयमसेविका दुर्गा खड्कालाई बोलाए । उनी पुग्दा बच्चाको ढुकढुकी समेत नभएकोले सबै आफन्त बच्चालाई माया मारेर आमाको स्याहार गर्नतिर लागेका थिए ।

दुर्गाले भनिन् – जब मैले बच्चालाई देखे मैले प्रयास परियोजना मार्फत जोखिम न्युनिकरण कार्यक्रम अन्र्तगत प्राथमीक उपचार तालिम लिएको सम्झिए । उक्त तालिममा शास फेर्न नसकेको अवस्थामा कृतिम शास दिने तरीका सिकेकी दुर्गाले बच्चालाई एक घण्टा जति मुखमा मुख लगाएर कृतिम शास दिईन । झण्डै एक घण्टा मुखमा मुख लगाएर कृतिम शास दिएपछि बच्चाको ढुकढुकी सुरु भएको र रुन लागेको दुर्गाले बताईन ।

प्रयास परियोजनाले जोखिम न्युनिकरण कार्यक्रम अन्र्तगत सञ्चालन गरेको प्राथमीक उपचार सम्बन्धि तालिम निक्कै उपयोगी रहेको दुर्गाले बताईन । हाम्रो जस्तो पहाडी भेगमा बिभिन्न कारणले जोखिम छ त्यसैले हरेक नागरिकलाई प्राथमीक उपचार सम्बन्धि तालिम आवश्यक हुन्छ – दुर्गाले भनिन् ।

आफुले झण्डै ३० बर्षदेखी महिला स्वयमसेविकाको रुपमा काम गरेको भएपनि प्राथमीक उपचारको बारेमा प्रयास परियोजनाको कार्यक्रम पछिमात्र जानकारी पाएको र त्यसलाई व्यवहारीक रुपमा सफल प्रयोग समेत गर्न पाएकोले निक्कै खुशी लागेको दुर्गाले बताईन ।

दोस्रो जन्म पाएको छोरा बोकेर महिला स्वास्थ्य स्वयमसेविका दुर्गासंगै बसेकी सर्मिलाले भनिन् – स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको पहुँच भन्दा टाढा रहेको ग्रामीण भेगमा हरेक नागरिकलाई प्राथमीक उपचार सम्बन्धि ज्ञान दिदा निक्कै उपयोगी हुने रहेछ ।

युरोपेलि समुदायको मानविय सहायता बिभाग र एडिसि को आर्थिक सहयोग, ह्यान्डीक्याप ईन्टरनेश्नल र केयर नेपालसंगको साझेदारीमा सामुदायिक विकास मञ्च नेपाल दोलखाले बिगु गाउपालिका वडा नं ४ लादुक (साबिक लादुक गाविस) र कालिञ्चोक गाउँपालिका वडा नं ३ र ४ लामिडाँडा (साबिक लामिडाँडा गाबिस) मा प्रयास परियोजना सञ्चालन गरेको छ ।

्प्रयास परियोजना अन्र्तगत नेपालको भूकम्प प्रभावित क्षेत्रमा प्राकृतिक विपद्को असरलाई कम गर्न स्थानयि समुदाय र संस्थाहरुको उत्थानशिलता बढाउने उदेश्यले विपद् जोखिम न्यूनिकरण कार्यक्रम संचालन गरिरहेको परियोजना संयोजक गोपालकृष्ण वस्नेतले बताए ।

प्रकोपबाट निम्तने विपद्लाई प्रकोपमा नै सिमित गर्न समुदायको उत्थानशिलता बढाउनु आवाश्यक देखिएकाले यो परियोजना लागु गरिएको वस्नेतको भनाई छ ।

परियोजना अन्र्तगत लादुक र लामिडाँडामा २० जना सदस्य रहेको प्राथमीक उपचार समिति, खोज तथा उद्धार समिति र क्षति आवश्यकता विश्लेषण समिति निर्माण गरिएको वस्नेतले बताए । परियोजनाले लादुक र लामिडाँडाका २०÷२० जना गरी ४० जना महिलालाई प्राथमीक उपचार तालिम तथा २५ जना महिला र १५ जना पुरुषलाई खोज तथा उद्धार सम्बन्धि तालिम दिएको परियोजना संयोजक वस्नेतले बताए ।

परियोजना अन्र्तगत निर्माण भएको समितिहरुलाई प्रकोपबाट निम्तने विपद्को बेला प्रयोग हुने फ्रस्टेड किड, बैशाखी, साबेल, पिक, डोरी, कालटिन, माईक, त्रिपाल जस्ता सामग्री समेत वितरण गरिएको सामुदायीक विकास मञ्च नेपाल दोलखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्