वित्तीय साक्षरता कार्यक्रमका लागि हातेमालो



 

काठमाडौं, (नेस)
नबिल बैंक र फिनलिट नेपालले लमजुङको बेशिसहरमा आर्थिक साक्षरता सचेतना कार्यक्रम सञ्चालन गर्नको लागि सम्झौता गरेका छन्। सम्झौतामा नबिल बैंकका नायब महाप्रबन्धक रमेश प्रसाद लोहनी र फिनलिट नेपालका सञ्चालक प्रकाश कोइरालाले हस्ताक्षर गर्नुभउको हो।

कार्यक्रमअन्तर्गत नबिल बैंकले फिनलिट नेपालसँगको सहकार्यमा बेशिसहरका १० विद्यालयमा आर्थिक साक्षरता सचेतना कार्यक्रम सञ्चालन गर्नेछ। फिनलिट संचालक कोइराला नेपालका विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम संचालन गर्दे आउनुभएको छ।

साझेदारीले कक्षा ७ देखि १० सम्मका विद्यार्थीलाई लक्षित गरी आर्थिक साक्षरता सचेतना कार्यक्रम सञ्चालन गर्ने उद्देस्य राखेको छ। फिनलिट नेपाल ‘स्कुल बैंक’ नामक संरचनागत अवधारणा लिई अगाडी आएको छ। कार्यक्रमले आर्थिक साक्षरता सम्बन्धी तथा लक्षित विद्यार्थी र युवाको आर्थिक क्षेत्रमा पहुँचको लागि आवश्यक जानकारी प्रदान गर्ने आशा गरिएको छ।

‘स्कुल बैंक’ पाठ्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थी तथा उनीहरूका वावु–आमालाई पैसाको व्यवस्थापन, वचत तथा खर्च, आर्थिक योजना र लगानी सम्बन्धी सिद्धान्तको बारेमा सिकाएर आर्थिक मामिलामा राम्रोसँग बुझाउने गरी तर्जुमा गरिएको छ। पाठ्यक्रमको अवधी सात महिनाको रहेको छ।

सम्झौतामा हस्ताक्षर गर्दै नबिल बैंकका नायब महाप्रबन्धक रमेश प्रसाद लोहनीले कार्यक्रम विद्यार्थीका लागि लाभदायी हुने र आगामी दिनमा बैंकले आर्थिक साक्षरता सचेतनाको विस्तारमा अझ वढी क्रियाकलाप सञ्चालन गर्ने बताउनु भयो। त्यस्तै फिनलिट नेपालका सञ्चालक प्रकाश कोइरालाले कार्यक्रमले विद्यार्थीहरूको माझमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वस्त रहनुभयो।

प्रतिक्रिया दिनुहोस्