झाडीबाट ‘चारकोल’ उद्योग



 

मोतीराम तिमल्सिना, काभ्रे
सामुदायिक वनहरूमा हुन गएको वैज्ञानिक वन व्यवस्थापन, ग्रामीण क्षेत्रमा हरित रोजगारी र उर्जाको क्षेत्रमा सहयोग पुर्याउने उदेश्यले स्थानीय स्रोतको दिगो उपयोग र समग्र प्रा·रीक उत्पादनबाटै सम्वृद्ध हरित ग्रामीण अर्थतन्त्र बनाउने लक्ष्यका साथ झाडीबाट चारकोल उद्योग शुरू भएको छ।

वनमा रहेका मिचाहा प्रजातिहरू बनमारा, हाडे उन्यु, कालीमुन्टे, बोक्सीकाँडा, झाडी र कृषी प्रयोजनमा प्रयोग भएर बाँकी रहेका मकैका खोया, डाँठ, अम्रिसोको सिटा, फर्निचरबाट निस्केका टुक्राटुक्री, गाईवस्तुले खाइसकेका डालेघाँसका सिटा, मसिना दाउरालगायतको प्रयोगबाट चारकोल उत्पादन हुने गरेको छ। आर्गानिक वल्र्ड प्रालिले काभ्रेपलाञ्चोक जिल्लाको कोशीपारिमा मात्रै १८ स्थानमा चारकोल उत्पादन शुरू गरिएको छ। ‘बँदेल र जंगली जनावर दुम्सीलगायतको आतंकबाट यसले मुक्ति दिएको छ’– चौरी देउराली गाउँपालिका १ का अर्जुन उप्रेतीले भने– ‘अन्न उत्पादन गरेर पनि आफ्नो भन्न नपाएपछि झाडी सुधारमा लाग्यौं। जसले विदेशिन र बसाइ सर्न रोक्यो।’ वार्षिक डेड लाखसम्म कमाइ हुने चारकोलको उत्पादन असोजदेखि वैशाखसम्म मात्रै हुने गरेको छ। उप्रेतीजस्ता ६२ जनाले चारकोल उत्पादन शुरू गरेको आर्गानिक वल्डए प्रालिका अध्यक्ष राजनप्रसाद पराजुलीले बताए।

‘सामुदायिक वनलाई झाडीले सखाप बनाउँदै लगेको छ’– जिल्ला वन कार्यालय काभ्रेका प्रमुख प्रेम खनालले भने– ‘अर्गानिक वल्र्ड प्रालीले शुरू गरेको यो उद्यमले वन सुधार मात्रै नभइ समुदायस्तरमा आयस्रोतसमेत बढाएको छ।’ वन कार्यालयले वैज्ञानिक वन सुधार कार्यक्रम शुरू गरेअनुरुप नै झाडी सुधार गरी चारकोल उत्पादन गर्न उपभोक्ताले थप रोजगारसमेत प्राप्त गरेको खनालले बताए। उपभोक्ताहरूको मागअनुसार चारकोल उत्पादनमा लिइँदै आएको राजश्वका बारेमा समेत छलफल भइरहेको उनले बताए। जिल्ला बनले चार कोल उत्पादनको छुट पुर्जी लिँदा प्रतिकेजी १५ रुपियाँको १३ प्रतिशत कर लिँदै आएको छ। जसले गर्दा चारकोल उत्पादक र संकलक मारमा परेको संकलक काशिप्रसाद खरेलले जानकारी दिए। ‘प्रति ढ्वा· ३० रुपियाँमा उत्पादकसँग खरिद गरी त्यसको राजश्व ठूलो गोल सरह लिइएको छ’ –खरेलले भने– ‘ऐनमा चारकोलको कर लिने व्यवस्था नभएकाले उपभोक्ताहरू थप मारमा परेका छन्।’

काठमाडौंको आसपासमा २ सय वटा चारकोल उद्यमहरू सिर्जना गरी १ हजार रोजगारीबाट चारकोल प्यालेट उद्योग शुरू गर्ने उद्देश्यले बनेपा नगरपालिका १४ नासिकासाँगामा दियालो प्यालेट उद्योग शुरू गरिएको छ। एकातिर सामुदायिक वनको व्यवस्थापन र उपभोक्तहरूलाई रोजगार, अर्काेतिर उद्योगबाट होटल व्यवसाय तथा अन्य व्यक्तिगत क्षेत्रमा पनि सहयोग पुर्याएको छ। २ रोपनी जग्गा भाडामा लिएर ५० लाख लगानी गरी शुरू गरिएको उक्त उद्योगले वार्षिक १६ सय सम्मलाई रोजगारी दिने लक्ष्य राखिएको प्रबन्ध निर्देशक डिल्लीप्रसाद भट्टराईले जानकारी दिए।
विपन्न तथा पिछडिएका वर्ग र महिलालाई स्वरोजगारी र रोजगारीको अवसर प्रदान गर्ने, बैधानिक तथा वातावरणमैत्री क्रियाकलापबाट आयआर्जन गर्ने, वार्षिक १२ लाख केजी चारकोल प्यालेट उत्पादन र बिक्रीवितरण गरी राजधानीको २० प्रतिशत बजारको माग पूर्ति गर्ने लक्ष्य राखिएको भट्टराईले बताए। प्रतिकिलो प्यालेट उद्योगले ७० रुपियाँ केजीमा बिक्रीवितरण शुरू गरेको छ। उद्योगलाई निरन्तर संचालन गर्न उद्यमीहरूको संख्यामा वृद्धि गर्ने, समुदायको क्षमता अभिवृद्धि गर्ने, शैक्षिक उन्नति तथा व्यवसायिक सीप विकासका कार्यहरू गर्नेलगायतका रहेका छन्।

 

 

प्रतिक्रिया दिनुहोस्