कहाँ हराए उद्धव ?



‘मेरो बाबालाई चिन्नुहुन्छ ?’ टहरामा पुग्नासाथ बाबाको फोटो देखाउँदै ती अबोध बालकले सोधेपछि मनै गह्रुँगो भयो।

नानीराम नेपाल, सिन्धुपाल्चोक
ऊमुलुक बदल्न हिँडेको मान्छे। ऊ परिवार र आफन्तलाई रुवाएरै भए पनि मुलुक हसाँउन हिँडेको थियो। मस्तिष्कमा मुलुक बनाउने सपना टुसाएपछि ‘सम्वृद्ध देश’ खोज्दै जंगल पसेको एउटा मान्छे आज आफैं हराएको छ यो मुलुकमा। दशक बित्यो ऊ गुमनाम छ, बेखबर छ। विकट सेलाङ गाउँ विकास समिति–८ का उद्धव पौडेल ।

युद्धकै समयमा राज्यपक्षबाट धेरै नागरिक बेपत्ता बनाइए। तर उनी त्यस्तो समयमा बेपत्ता भए जतिबेला युद्धरत माओवादी नै सरकारको नेतृत्वमा थियो। विद्रोही माओवादीको शान्तिपूर्ण राजनीतिमा अवतरणपछि बेपत्ता भएका हुन् उनी।

हतियारहरूसँगै मुलुक सम्वृद्धिको सपनाहरूलाई क्यान्ट्रोन्टमेन्टमा थन्क्याइएपछि उनी बेपत्ता भएका हुन्। एक वर्षसम्म क्यान्ट्रोनमेन्टमै बसेका उनी पहिलो चरणमा लडाकू प्रमाणीकरणमा पनि छनोट भएका थिए। पहिलो चरणको लडाकू प्रमाणीकरणपछि घर फर्किएका उनी ०६५ को अन्त्यतिर विदेश जान भनेर घरबाट हिँडेका थिए। वर्षौसम्म राज्य व्यवस्थाका बिरुद्ध लडेका उनी शान्तिपूर्ण राजनीतीपछि जब घर फर्किए, परिवार लथालिङ अवस्थामा देखे।

देश बनाउन हिँडेको मान्छे घर फर्कंदा परिवार नै लथालिङ देखेपछि विदेसिनुको बिकल्प थिएन उनीसँग। सशस्त्र युद्धको रापताप सहेका उनको जीवनमा गणतन्त्रको घाम लागेन। र युद्धमोर्चाका कहालीलाग्दा पाइलाहरू मेट्दै, मुलुक सम्वृद्धिको अपुरो सपना बोकेर उनी विदेश भासिए। शान्तिपूर्ण राजनीतिमा माओवादीको अवतरणपछि उनीमा राजनीतिप्रतिको वितृष्णा बढेको थियो। ‘व्यवहार चलाउन केही उपाय भएन भनेर उसले विदेश जान्छु भन्यो’, छोरोको बाटो हेरेर बसिरहेकी ७१ वर्षीया आमा हीरामायाँले भनिन्– ‘नौ वर्ष बित्यो उसको पत्तो लागेन।’ तर पनि छोरो फर्कने आशामा बाँचिरहेकी छन् उनी। बुढ्यौली शरीर, रोगले च्याप्न थालिसक्यो। टहरामा महिनादिनसम्म थलिएकी थिइन् उनी। एक महिना ओछ्यान पर्दा उनले बारम्बार छोरालाई सम्झिएको सुनाइन्।‘ऊसको मुखै नदेखी मर्छु जस्तो लाग्यो, महिना दिन थलिँदा उसको मात्रै समझना आइरह्यो’, एक्कासी भावुक बनिन् उनी, आँखामा आँशु टिल्पिलाए। आमा भन्दै छोरो एकदिन फर्कन्छ भन्ने विश्वास छ उनलाई। ‘उसलाई केही भएको त छैन जस्तो लाग्छ, एक दिन त घर फर्कन्छ होला’, छोराको बाटो हेरेर बसेकी हीरामायाँले आशा झल्काइन्।

०५९ को अन्त्यतिर, कुम्लो बोकेर छोरो जंगल पसेदेखि नै हो उद्धवका बाबु अर्थात सेलाङका गोकुलप्रसाद पौडेलको जीवनमा खुसी लुटिएको। दुःख गरी हुर्काएको छोरो, बढाएको अनि पढाएको छोरो। मार्ने र मर्ने कसम खाएर निस्कँदा कुन चाहीँ बाबुको मन रुँदैेन होला। कमरेड पर्वत बनेर उद्धव जंगल पसेपछि उनका बाबुआमा र पत्नीको मन बलिरहेको मैनजस्तै भयो–पग्लिरह्यो। बन्दुक नसमाउनका लागि बुढा बाबुआमा र पत्नीले पटकपटक बिन्ति गरे पनि उद्धवमा देश बदल्ने सपना टुसाइसकेको थियो।परिवारले रोइकराइ गरेर खुट्टामै समाउँदा पनि निशब्द बनेर जंगल पसेका थिए उनी , मुलुक बनेपछि परिवार बन्छ भन्ने विश्वास बोकेर।‘बाबु बाटो नबिराउनु भन्दै धेरै रोइकराइ गर्यौ, उ केही नबोली घरबाट निस्किएको थियो’, कहालिलाग्दो विगत सम्झँदै ७५ वर्षीय गोकुलप्रसादले भने– ‘माओवादी सरकारमा पुग्यो, तर छोरो विदेशतिरै हरायो।

सशस्त्र युद्धको अन्त्यसँगै मुलुकमा शान्ति प्रक्रिया शुरु भयो। तर शान्ति प्रक्रियापछिको दश वर्ष बितिसक्दा पनि गोकुलप्रसादको मनमा शान्ति छैन। देशमा गणतनत्र आयो, नयाँ संविधान बन्यो। तर गोकुलप्रसादको परिवारमा गणतन्त्रको घाम लाग्न सकेको छैन। तत्कालीन विद्रोही माओवादी नेताहरू सरकारमा पुगिरहँदा युद्धमोर्चामा अग्रभागमा उभिएका उद्धवहरूजस्ता योद्धाहरू आज बेपत्ताकै सूचीमा छन्। उनीहरू जीवितै छन् या मरिसके खोजविन हुन सकिरहेको छैन। न सास फर्कियो, न लास नै आयो। परिवारमा झिनो आस मात्रै छ।

पहिलो चरणको लडाकू प्रमाणीकरणपछि एक पटक घर फर्किएका उद्धव सन्तानलाई पत्नीको गर्भमै छाडेर विदेश भासिएका थिए। उनी विदेश गएपछि जन्मिएको छोरो अहिले नौ वर्षको भइसक्यो। छोराले बाबा खोज्न थालेदेखि नै हो उद्धवकी पत्नी कविताको जीवनमा पीडा बल्झिन थालेको। १५ वर्षकै कलिलो उमेरमा विवाह बन्धनमा बाँधिएकी कवितालाई पतिको साथ के हो थाहा छैन।

पतिको मायाँ कस्तो हुन्छ भन्ने थाहा छैन उनलाई। वर्षौसम्म पतिको पर्खाइमा बाँचिरहेकी कविताले पनि आश मारिसकेकी छैनन्। साथमा पति छैनन्, अबोध छोरालाई दिने जवाफ छैन उनीसँग। ‘बाबा कहिले आउनुहुन्छ ?’, छोराको यही प्रश्नले बारम्बार घोचिरहन्छ कवितालाई। छोरोले बाबा सोध्दा नाजवाफ बनेर आँसुको जवाफ फर्काउनुपरेको छ उनले।‘नौ वर्ष बित्यो पत्तो छैन, छोराले बाबाको सोधीखोजी गरिरहन्छ’, आँखामा टिल्पिलाएका आँसु भुइँमा खस्छ त्यसपछि उनी बोल्न सक्दिनन्। भूकम्पमा भत्किएको घर ठडिएको छैन। टहरामै उनको परिवार जीवन धान्दै आएका छन्। हालै सेलाङस्थित उनको टहरामा पुग्दा ९ वर्षीय उत्सव बेपत्ता बाबुको फोटो हेर्दै कुरा गरिरहेका थिए एक्लै। नौ वर्षका उत्सवले फोटोमा मात्रै हो बाबा देखेको। ‘मेरो बाबालाई चिन्नुहुन्छ ?’ टहरामा पुग्नासाथ बाबाको फोटो देखाउँदै ती अवोध बालकले सोधेपछि मनै गह्रुँगो भयो। जवाफ खस्न नपाउँदै उनले भने,–‘भन्नुस कसले लग्यो मेरो बाबालाई ?’

प्रतिक्रिया दिनुहोस्