आज अन्तिम कसरत



राजपासँग निर्णायक वार्ताका लागि आज बोलाइए पनि सो पार्टीका नेताहरूले न्यूनतम वातावरण नबनाएसम्म वार्तामा नजाने बताएका छन्।

बीपी साह, काठमाडौं
आन्दोलनरत राष्ट्रिय जनता पार्टी नेपालले निर्वाचनमा सहभागी हुने लिखित प्रतिबद्धता गरेमा दोस्रो चरणको निर्वाचन सार्ने विषयमा प्रमुख प्रतिपक्षीसहित सत्तारूढ दलले छलफल गरेका छन्।

निर्वाचनअघि संविधान संशोधनबाहेकका मागहरू पूरा गर्न र निर्वाचनपछि संविधान संशोधन गर्न प्रमुख प्रतिपक्षीसमेत लचक भएपछि राजपालाई निर्वाचनमा सहभागी गराउन निर्वाचन सार्ने तयारी भइरहेको छ। मंगलबार साँझ प्रमुख प्रतिपक्षी दलसहित सत्तारूढ दलको बैठकमा राजपालाई निर्वाचनमा सहभागी गराउन कुन–कुन विषयमा सहमति हुन सक्छ भन्ने सन्दर्भमा छलफल भएको छ।

छलफलपछि नेपाल समाचारपत्रसँग कुराकानी गर्दै नेपाल फोरम लोकतान्त्रिकका अध्यक्ष एवं उपप्रधानमन्त्री विजयकुमार गच्छदारले राजपालाई निर्वाचनमा सहभागी गराउन अधिकतम लचकता अपनाउन सरकार तयार रहेको बताउनुभयो। उहाँले प्रमुख प्रतिपक्षी दल पनि निर्वाचनका लागि नरम देखिएको बताउनुभयो।

राजपालाई निर्वाचनमा सहभागी गराउन आवश्यक प्राविधिक कामहरूका लागि निर्वाचनको मिति सार्न सकिने विषय सत्तापक्षले बैठकमा प्रस्ताव राखेको थियो। तर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजपा निर्वाचनमा सहभागी हुने लिखित प्रतिबद्धता जनाए मात्र निर्वाचन सार्न सकिनेतर्फ सोच्न सक्ने बताउनुभएको थियो।

बैठकपछि सञ्चारकर्मीहरूसँग ओलीले भन्नुभयो– ‘सरकारले निर्वाचन गराउन नखोजेको हो कि मिति सार्न खोजेको हो? प्रस्ट रूपमा उहाँहरूले भन्न सक्नुभएन।

’हामी तोकिएकै मितिमा निर्वाचन गराउनुपर्छ भन्ने पक्षमा छौं।’ संविधान संशोधनसहितको राजपाको मागका विषयमा ओलीले भन्नुभयो– ‘हामी संविधान संशोधनको विरोधमा छैनौं। तर निर्वाचनअघि संविधान संशोधन गर्न सकिँदैन।

राजपालाई हामी आह्वान गर्दछौं, आउनस् छलफल गरौं। के के विषयमा संविधान संशोधन गर्न आवश्यक छ। त्यो त्यो विषयमा सम्झदारी गरौं।’

राजपालाई सरकारले आफू अनुकूल प्रयोग गरिरहेको आरोप लगाउँदै ओलीले भन्नुभयो– ‘उहाँहरूलाई सरकारले आफू अनुकूल प्रयोग गरेको हो कि जस्तो मलाई लाग्यो। राजपाको मागको विरोधमा छैनौं। संविधान संशोधनको विरोधमा पनि छैनौं। उहाँहरू निर्वाचनमा आउन तयार हुनुहुन्छ भने हामी पनि उहाँहरूको जायज मागका विषयमा छलफल गर्न तयार छौं।’

राजपालाई निर्वाचनमा फर्काउने विषयमा आज (बुधबार) दिउँसो ४ बजे छलफल हुने भएको छ।

बैठकपछि माओवादी केन्द्रका नेता वर्षमान पुनले घुमाउरो शब्दमा भन्नुभयो– ‘राजपालाई निर्वाचनमा सहभागी गराउने विषयमा छलफल भएको छ। राजपाका मागहरू सम्बोधन गर्ने विषयमा उहाँहरूसँग बुधबार छलफल गर्नेछौं। उहाँहरूले निर्वाचनमा सहभागी हुने लिखित प्रतिबद्धता गरे मात्र निर्वाचनको मितिका बारे विचार हुन सक्छ। अहिले नै निर्वाचनको मिति सार्ने विषयमा कुनै सहमति भएको छैन। हाम्रो छलफल जारी छ।’

बैठकमा गृहमन्त्री जनार्दन शर्माले मधेसका जिल्लामा आन्दोलन भए पनि निर्वाचन गराउन सक्ने अवस्था रहेको बताउनुभएको थियो। उहाँले सुरक्षा संयन्त्रको रिपोर्टिङ सुनाउँदै अवस्था नियन्त्रणमा रहेकाले तोकिएकै मितिमा निर्वाचन गर्न सकिने बताउनुभएको थियो।

मंगलबारको बैठकमा निर्वाचनको मिति सार्ने विषयमा छलफल शुरू भएपछि एमाले नेता माधवकुमार नेपाल आक्रोशित हुँदै बाहिरिनुभएको थियो। लगतै कांग्रेस नेता रामचन्द्र पौडेल पनि बाहिरिनुभएको थियो।

बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, कांग्रेस नेता विमलेन्द्र निधि, पौडेल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वर्षमान पुन र नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार सहभागी हुनुहुन्थ्यो। यता एमालेबाट अध्यक्ष ओलीसहित माधवकुमार नेपाल र सुभासचन्द्र नेम्वाङ सहभागी हुनुहुन्थ्यो।

उता आन्दोलनरत राजपाका नेताहरू आन्दोलन चर्काउन मधेसतिर लागेका छन्। केन्द्रमा मंगलबार आन्दोलन परिचालन समिति गठन गरेर अध्यक्ष मण्डलका नेताहरू जिल्लातिर लाग्ने निर्णय गरेका छन्।

राजपाका नेता राजेन्द्र महतोले मंगलबार राति नेपाल समाचारपत्रसँग कुरा गर्दै न्यूनतम वातावरण नबनाएसम्म आफूहरु वार्तामा नजाने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्