बन्द हिंसात्मक



 

मधेस ब्युरो
राष्ट्रिय जनता पार्टी नेपालको आयोजनामा मंगलबारदेखि शुरू भएको मधेस, थरुहट र लिम्बुवान् बन्द हिंसात्मक देखिएको छ। शान्तिपूर्ण कार्यक्रममा आक्रमण गर्ने, आगजनी गर्नेलगायतका हिंसात्मक कार्य हुन थालेका छन्।

चार दिने बन्दको पहिलो दिन मंगलबार तराईका अधिकांश भागमा शैक्षिक संस्था, व्यापार, व्यवसाय, उद्योग, कलकारखाना र यातायात ठप्प रहे। बिहानैदेखि राजपाका कार्यकर्ताले ठाउँठाउँमा टायर बालेर सरकार र निर्वाचन आयोग विरुद्ध चर्को नाराबाजी गरी चुनावअघि नै संविधान संशोधनको माग गरेका छन्।

सप्तरीमा सोमबार काठमाडौंलगायत देशका विभिन्न भागबाट हिँडेका बस यातायात, ढुवानी सेवाका ट्रकहरू रोकिएका छन्। राजपाका केन्द्रीय महासचिव मनिषकुमार सुमन, वरिष्ठ उपाध्यक्ष मृगेन्द्रकुमार सिंह यादव, सहमहासचिव जयप्रकाश ठाकुरलगायत नेताको अगुवाइमा राजपा कार्यकर्ताले दिनभर नगर क्षेत्रमा प्रदर्शन गरेका थिए।

सरकारी कार्यालय, औषधि पसल, एम्बुलेन्स, दूध बोकेको गाडी, मोटरसाइकल तथा सञ्चारकर्मी र अधिकारकर्मीको गाडीलाई भने छुट दिइएको थियो। सप्तरीको राजविराजका साथै जिल्लाको हनुमाननगर, भारदह, कंचनरुप, शम्भुनाथ, कल्याणपुर, कठौनालगायतका बजारमा पनि पूर्णरुपमा पसलहरू बन्द भएका थिए। तराईका कतिपय जिल्लामा चुनाव प्रचारमा हिँडेका विभिन्न व्यक्तिको गाडी तोडफोड गरिएको छ। समग्रमा मंगलबार तराईको अवस्था अस्तव्यस्त भएको छ।

बन्दका कारण चुनावमा होमिएका विभिन्न दलका चुनावीसभाहरू समेत प्रभावित भएका छन्। आन्दोलनरत मधेसी मोर्चाले तराईका विभिन्न जिल्लामा १० वटा सवारी साधन तोडफोड गरेका थिए।

जबरजस्ती तोडफोड गर्ने, सवारी साधनमा क्षति पुर्याउने एक दर्जन आन्दोलनकारीलाई प्रहरीले पक्राउ गरी कारबाही अगाडि बढाएको छ।

राजपाका कार्यकर्ताले महोत्तरीमा एमालेका सांसद दीपनारायण साहले प्रयोग गरेको निजी सवारी साधन तोडफोड गरेका छन् भने बाँकेको नेपालगन्जमा नेपाली कांग्रेसबाट नेपालगन्ज उपहमानगरपालिकाका मेयरका उम्मेदवार डा. वीरेन्द्र कनौडियाको सवारीमाथि आक्रमण गरी क्षति पुर्याएका छन्।

बन्दले कपिलवस्तुको चन्द्रौटा, बहादुरगन्ज, खरेन्द्रपुर, महराजगन्ज, कृष्णनगर, तौलिहवा, पकडीलगायतका क्षेत्र प्रभावित बने। बन्दका कारण पूर्वपश्चिम राजमार्गमा चल्ने साना तथा ठूला सवारीका साधन दिनभर ठप्प रहे। जिल्लाको दक्षिणी भेगका कुनै पनि शिक्षण संस्था चलेनन्। यस क्षेत्रका बजार, पसल, कलकारखाना, सम्पूर्ण ठप्प रहे।

राजपा नेपालका कार्यकर्ताहरू बिहानैदेखि मुख्य सडकको चोक चोकमा प्रर्दशन गरेका थिए। बिहान ८ बजेदेखि गरिएको पहिलो दिनको बन्द साँझ ५ बजे खुकुलो पारिएको थियो। जेठ ३० गतेदेखि असार २ गतेसम्म घोषणा गरिएको बन्दको पहिलो दिन जनताको समस्यालाई मध्यनजर गर्दै केही खुकुलो पारिएको राजपा चन्द्रौटा क्षेत्रका अगुवा कार्यकर्ता विजय जयसवालले बताउनुभयो। दोस्रो दिनदेखि सम्पूर्ण बजार ठप्प पारिने जयसवालले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्