वैदेशिक रोजगारीले निम्त्याएको पीडा



१५ मा बिहे, १६ मा सन्तान, १८ मा अर्काे बिहे, अढाइ वर्षीय छोराको बिचल्ली

सरिता चलाउने, सल्यान
सल्यानमा आमा पोइल हिँडेपछि अढाइ वर्षीय नाबालकको बिचल्ली भएको छ। ‘एकछिन निदाए पनि राति ब्युँझिएर आमा खोज्दै धुरु धुरु रुन्छ’, सल्यान किमुचौरकी शान्ति रोकाले भनिन्– ‘अढाइ वर्षको मेरो नाति उमेशलाइ छाडेर आमा पोइल गएपछि अहिले नातिको बिचल्ली भएको छ।’

जिल्लाको कपुरकोट गाउँपालिका वडा नम्बर ४ निवासी खुमा अर्कै केटासँग भागेर बिहे गरेपछि नाबालक उमेश बिचल्लीमा परेका हुन्। बालकका हजुरबुबा महावीर रोकाले आमाको काखमा खेल्ने, खाने र रमाउने उमेरमा निष्ठुरी मन गरेकी बुहारी अरूसँगै भागेर गएपछि अहिले नातिलाई भुलाउन गाह्रो भइरहेको जनाए।

उनले भने– ‘छोरो विदेशमा छ, बुहारी अन्तै पोइल गई, नाति आमा सम्झँदै रुन्छ। उसलाई देखेर हाम्रो पनि आँखाबाट आँसु झरिदिन्छ।’ नातिको स्याहार, सुसार, लालनपालन, शिक्षा–दीक्षालगायतका कुरामा असर पर्ने भन्दै उनले खुमालाई पापी आमाको संज्ञा दिए।

मोबाइलको गलत प्रयोग
घरपरिवारमा भैm–झगडा केही नभएको भए पनि आफूहरूको सोझोपनको फाइदा उठाएर मोबाइल फोनको गलत प्रयोग गरी बुहारी अन्तै पोइल गएको महावीरको बुझाइ छ। छोरो विदेश भएको मौकामा बुहारीले बेलाबेला फोनमा अरूसँगै कुराकानी गर्ने र जिस्कने गरेको शंका शान्ति र महावीरको थियो।

धेरै दिनको शंकापछि एक दिन सासू शान्तिले बुहारीको अरू कसैसँग मोबाइलमा कुरा भइरहेको अवस्थामा मोबाइल फोन खोसिदिइन् र मोबाइलमा दाङका एक जना केटासँग विभिन्न कुराहरू भएको रेकर्ड पनि फेला पारिन्। त्यसको दुईतीन दिनपछि गत जेठ ६ गते खुमा दाङ घोराही उपमहानगरपालिका निवासी लिलबहादुर बुढाथोकीसँग नाबालक छोरालाई समेत छाडेर पोइल हिँडेकी थिइन्। उनले मोबाइलमा दिन प्रतिदिन कुरा हुँदै जाँदा बिहे गर्नेसम्मको कुरा चलेपछि आफू भागेर गएको जनाइन्। उनले भनिन्– ‘श्रीमान्ले विदेशबाट खर्चबर्च पनि पठाइदिन्थे तर मोबाइलमा दाङका लिलबहादुरसँग कुराकानी हुनथालेपछि अरू केही ख्याल नगरेर ऊसँगै गएँ।’ कपुरकोट गाउँपालिका–३ मूलपानी भन्ने ठाउँमा माइती घर भएकी खुमाको विक्रम संवत् २०७० असोज १४ गते किमुचौरका तिलक रोकासँग बिहे भएको थियो।

१५ वर्षको सानो उमेरमै बिहे गरेकी खुमाले १६ वर्षकी हुँदा छोरा जन्माइन्। अहिले १८ वर्षकी हँुदा उनले पहिलो घरबार त्यागेर अर्काे बिहे गरिन्। एक अर्कालाई राम्रोसँग नबुझेर सानै उमेरमा विवाह गर्दा यस्तो समस्या आएको कपुरकोट गाउँपालिका–३ का वडा अध्यक्ष मीनबहादुर सेनले जनाए।

उनले भने– ‘आत्मनिर्भर नभएरै सानो उमेरमा विवाह हुँदा रोजगारीका लागि श्रीमान् विदेशलगायतका ठाउँमा जानुपर्ने, यता घरमा मोबाइल, फेसबुकजस्ता सामाजिक सञ्जालको गलत प्रयोग र लहैलहैमा लागेर श्रीमती अरूसँगै लालायित भएको देखियो।’ बालविवाहलाई रोक्न सक्ने हो भने पनि यीलगायत यस्तै प्रकारका धेरै समस्या उत्पन्न नहुने उनको बुझाइ छ। उनले बालविवाह न्यूनीकरणका लागि आफूले विशेष अभियान चलाउने पनि बताए।

प्रतिक्रिया दिनुहोस्