कांग्रेसलाई उम्मेदवार छान्न सकस



 

नेपाल समाचारपत्र
काठमाडौं
असार १४ गते हुने दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवार तय गर्न नेपाली कांग्रेसलाई सकस भएको छ। उम्मेदवार तय गर्नको लागि केही दिनदेखि लगातार कार्यसम्पादन समितिको बैठक बसे पनि कांग्रेसले टुंग्याउन सकेको छैन। निर्वाचन आयोगको कार्यतालिकाअनुसार उम्मेदवारको मनोनयन दर्ता असार २ गते तोकिएको छ।

कांग्रेसले उम्मेदवार छनौटका लागि जिल्लामै अधिकार दिए पनि विवादका कारण जिल्ला र क्षेत्रबाट टुंग्याउन नसकिएकाले उम्मेदवार केन्द्रले छनोट गर्न लागेको हो। दोस्रो चरणअन्तर्गत प्रदेश नम्बर १, २, ५ र ७ मा गरी ४३ जिल्लाको ४ सय ६१ तहमा निर्वाचन हुँदै छ। जसमध्ये प्रदेश नम्बर १ मा १४ जिल्ला, प्रदेश नम्बर २ मा ८ जिल्ला, प्रदेश नम्बर ५ मा १२ जिल्ला र प्रदेश नम्बर ७ मा ९ जिल्ला छन्।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले नेपाल समाचारपत्रलाई जानकारी दिएअनुसार अज बुधबार बेलुकीसम्म सबै उम्मेदवारको टु·ो लागिसक्ने छ। उहाँको अनुसार प्रदेश नम्बर १, २ र ५ को उम्मेदवार छनोट करिब–करिब सकिएको भन्दै उहाँले प्रदेश नम्बर २ को बारा, रौटहटलगायत केही जिल्लाको बाँकी रहेको बताउनुभएको छ। अधिकांश उम्मेदवारको टु·ो जिल्ला र क्षेत्रबाटै लागिसकेको भन्दै मुख्यसचिव पौडेलले केही जिल्लाको कुनै–कुनै स्थानीय तहमा मात्र उम्मेदवार छनोटमा विवाद भएर केन्द्रमा आएको छ।

पहिलो चरणको निर्वाचनका क्रममा कतिपय क्षेत्रमा उम्मेदवारको छनोट ढिलो भएका कारण उम्मेदवारले चुनावी रणनीति बनाउन समय नपुगेको गुनासोसमेत गरेका थिए। समयमै उम्मेदवार छनोटमा ध्यान नपुर्याउँदा पहिलो चरणको निर्वाचनमा कतिपय उम्मेदवारले उम्मेदवार मनोनयन दर्ता गर्ने केही घण्टा अघिमात्र पहुँचको आधारमा केन्द्रबाट टिकट ल्याएका थिए। उम्मेदवार छनोटमा ढिलाइ हुनु, लोकप्रिय र विवादरहित उम्मेदवार छनोट गर्न नसक्नु तथा अन्तरघातका कारण पहिलो चरणको निर्वाचनमा अनपेक्षित हार व्यहोर्नुपरेको बताइएको थियो। पहिलो चरणको निर्वाचनको परिणामबाट कांग्रेस नेतृत्वले पाठ नसिकेको भन्दै कतिपय कांग्रेस कार्यकर्ताहरूले केन्द्रीय नेतृत्वसँग असन्तुष्टिसमेत पोखेका छन्।

प्रतिक्रिया दिनुहोस्