राष्ट्रपतिको तेस्रो विदेश यात्रा, विद्यादेवी भण्डारी आज स्विजरल्यान्ड जाँदै



काठमाडौं, ३० जेठ— गणतन्त्र नेपालको पहिलो महिला राष्ट्रपति विद्यादेवी भण्डारी आज मंगलबार स्विजरल्यान्ड भ्रमणमा जाँदैछिन् ।

११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले आयोजना गर्न लागेको ‘वर्ल्ड अफ वर्क समिट’ मा भाग लिन त्यसतर्फ जान लागेकी हुन् । राष्ट्रपति साँझ ५ बजे युएई हुँदै त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।

परराष्ट्र मन्त्रालयका अनुसार सम्मेलनमा राष्ट्रपतिले नयाँ संविधानमार्फत महिला तथा कामदारका हक, हित र अधिकार सुनिश्चित गरिएकोलगायत विषयमा अन्तर्राष्ट्रिय समुदायलाई अवगत गराउने कार्यक्रम रहेको बताइएको छ ।

राष्ट्रपति भण्डारी भ्रमण सकेर आइतबार स्वदेश फर्किने कार्यक्रम छ भने सोअघि केहि दुई पक्षीय भेटवार्ता पनि हुने कार्यसुची तय भएको छ ।

यसअघि भारत र श्रीलंकाको भ्रमण गरेकी राष्ट्रपति भण्डारीको यो तेस्रो विदेश यात्रा हो ।

यसैबीच राष्ट्रपति र प्रधानमन्त्री शेरबहादुर देउवाबीच सोमबार साँझ शीतल निवासमा भेटवार्ता भएको छ । भेटमा राष्ट्रपतिको स्विजरल्याण्ड भ्रमण र देशको पछिल्लो विकसित घटनाक्रमका विषयमा छलफल भएको बताइएको छ ।

चुनावको मुखमा राजपाले आन्दोलनको घोषणा गरेपछि राजनीति अप्ठ्यारो मोडमा पुगेको बेला राष्ट्रपतिको विदेश यात्रा हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्