६ सय ३५ जनाद्वारा हिमाल आरोहण



 

दीपेन्द्र थापा, काठमाडौं

यस वर्षको सिजनमा ६ सय ३५ जनाभन्दा बढी आरोहीले नेपालका विभिन्न हिमालको आरोहण गर्न सफल सफल भएका छन्।

पर्यटन विभागका अनुसार सगरमाथा, लोत्से, धौलागिरी, मकालु, अन्नपूर्णलगायत ३४ वटा हिमाल आरोहणका लागि यसपटक नेपालीसहित ८ सय ४० जनाले अनुमति लिएका थिए। ६ सय ३५ जनाले आरोहण पूरा गरेका हुन्। यीमध्ये ६ जनाको आरोहणका क्रममा मृत्यु भएको छ।

पर्यटन विभाग पर्वतारोहण शाखाका अधिकृत खेमराज अर्यालका अनुसार ४ सय ४९ जनाले सगरमाथाको आरोहण गरेका छन्। जसमा १ सय ९० विदेशी र २ सय ५९ नेपाली रहेका छन्।

त्यस्तै लोत्से हिमालमा ५९ विदेशी र ३६ नेपाली गरी ९५ जनाले आरोहण गरेका छन्। धौलागिरीमा हिमाल ३२ विदेशी र २७ नेपालीसहित ५९ जना, १२ विदेशी र १४ नेपालीसहित ५९ जनाले मकालु हिमाल आरोहण गरेका छन् भने अन्नपूर्णमा जम्मा ६ जानले आरोहण गरेका छन्। यस वर्ष सगरमाथा आरोहणका लागि अनुमति लिनेहरूको संख्या हालसम्मकै बढी नेपाली मोहोडाबाट ४१ वटा आरोहण दलका ३ सय ७५ जनाले अनुमति लिएका छन् । सगरमाथा आरोहणका लागि विदेशीले अनुमति लिन ११ हजार अमेरिकन डलर रोयल्टी तिनुपर्ने व्यवस्था छ।

यसैगरी हिमाल आरोहणका लागि १ सय ७ गु्रपले अनुमति लिएका छन्। सन् २०१७ मा १ सय १५ अमेरिकी नागरिक, १ सय ९ जना भारतीय नागरिक, ६१ जना बेलायती नागरिक र चीनलगायतका अन्य मुलुकका नागरिकले अनुमति लिएका थिए।

वर्षको पहिलो आरोहण जेठ १ गतेबाट शुरू भएको थियो। सो दिन करिब १४ जनाले आरोहण गरेका थिए। मौसममा आएको प्रतिकूलताका कारण केही आरोहीको आरोहण पूरा हुन नसकेको हो। तर, धेरैले सफल आरोहण गरेको पर्यटन विभागका प्रवक्ता दुर्गादत्त ढकालले बताउनुभयो। उहाँले भन्नुभयो–‘मौसममा आएको खराबीसँगै केही आरोही रित्तो हात फर्किने अवस्था आयो।’

यस वर्ष आरोहीका लागि राम्रो मौसम भएन, धेरै हावा चलेकाले आरोहण सफल हुन नसकेको नेपाल पर्वतारोहण संघका अध्यक्ष आङछिरिङ शेर्पाले बताउनुभयो । उहाँले भन्नुभयो–‘मौसममा आएको खराबीले गर्दा ६ आरोहीले ज्यानसमेत गुमाए।’ ११औं पटक सफल आरोहण गरिसकेका अन्तर्राष्ट्रिय गाइड पासाङ तेन्जिङ शेर्पाका अनुसार हाई अल्टिच्युटका र आरोहीको व्यवस्थापकीय कमजोरीका कारण आरोहीको मृत्यु भएको हो। ८६ वर्षीय नेपाली आरोही मीनबहादुर शेरचनको आधार शिविरमै मृत्यु भएको थियो। त्यस्तै ५० वर्षीय अमेरिकी चिकित्सक रोल्यान्ड एयरउडको आरोहणका क्रममा मृत्यु भएको थियो।

स्विस नागरिक युली स्टेक, भारतीय आरोही रवि कुमारको सगरमाथा आरोहण पूरा गरी आधार शिविर फर्किने क्रममा मृत्यु भएको थियो । स्लोभाकियाका नागरिक भ्लादिमिर स्ट्रबा सगरमाथा आरोहणका क्रममा निधन भएको छ। यस सिजनमा सगरमाथा आरोहणका क्रममा तिब्बत तर्फबाट एक अस्ट्रेलियन आरोहीको निधन भएको छ।

प्रतिक्रिया दिनुहोस्