बालयौन दुराचारीका रुपमा अन्तर्राष्ट्रिय स्तरकै आरोपी अमेरिकी नागरिक ४८ वर्षीय कोनिक जोसेफलाई गत भदौ अन्तिम साता नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले काठमाडौंको ठमेलबाट पक्राउ गर्यो । ९० दिनको पर्यटक भिसामा भदौ पहिलो साता नेपाल आएका जोसेफले भाडामा लिएको घरबाट १२ देखि १६ वर्ष उमेरका ७ जना बालकसमेत उद्धार गरिएको थियो । उनी अमेरिकामा समेत धेरै पटक बालयौन दुराचारको आरोपमा कारबाहीमा परेका थिए ।

त्यस्तै, २०७१ मंसिरमा क्यानडेली नागरिक अर्नेस स्याम्बिक म्याकेन्टस बालयौन दुराचारको अभियोगमा पक्राउ परेका थिए । म्याकेन्टस विगत ४ दशकअघिदेखि बालयौन दुराचारमा संलग्न रहेको प्रहरीले जनाएको छ । जिल्ला अदालत ललितपुरका तत्कालीन न्यायाधीश टेकनारायण कुँवरको बन्द इजलासले ४८ दिन लामो बहस–पैरवीपछि आरोपी म्याकेन्टसलाई ७ वर्ष जेल सजाय र पीडितलाई १० लाख रुपियाँ क्षतिपूर्ति दिने निर्णय गरेको थियो । उनी विरुद्ध आफ्नै मुलुकमा यस्ता आरोपका ३० भन्दा बढी मुद्दा दर्ता भएको प्रहरीको तथ्यांक छ ।

जोसेफ र म्याकेन्टस मात्र होइन, उस्तै प्रकृतिको आरोपमा नेदरल्यान्डका हेन्क मुल्हाजेन वि.सं. २०६५ मा बालकसँगको यौन दुव्र्यवहारका क्रममा काठमाडौंको सामाखुसीबाट रंगेहात पक्राउ परेका थिए । उनकै पहलमा खुलेको ‘हाम्रो जीवन’ नामक बालगृहमा आश्रित ४८ मध्ये अधिकांश बालकलाई यौन दुव्र्यवहार गरेको पुष्टि भएको थियो । पर्यटकका रुपमा नेपाल आएर अर्कै धन्दामा संलग्न उल्लिखित पात्र नेपालमा पक्राउ परेका प्रतिनिधि उदाहरण मात्रै हुन्, तर के–कति बालबालिका बालयौन दुराचारीबाट पीडित छन्, कुन प्रक्रिया र कुन–कुन उमेर समूहका बालबालिका बढी पीडित छन् भन्ने प्रश्नको जवाफ खोज्ने प्रयास कतैबाट भएको पाइँदैन ।

सामान्यरुपमा बालयौन दुव्र्यवहार भन्नाले वयष्कहरुले बालबालिकामाथि गर्ने यौन दुव्र्यवहार भन्ने बुझिन्छ । दुराचारीहरुले बालबालिकालाई विभिन्न दबाब तथा प्रलोभनमा पारेर यौनाङ्ग चलाउने, स्पर्श गर्ने, चुम्बन गर्ने, विभिन्न प्रकृतिका यौन क्रियाकलापको चित्र, भिडियो देखाएर यौन तृप्ति लिने गर्छन् । खासगरी आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिकालाई प्रलोभनमा पार्न दुराचारी सक्रिय रहने बताइन्छ । विज्ञहरुका अनुसार बालयौन दुराचार (पेडोफेलिया)लाई मानसिक रोग र बालयौन दुराचारी (पेडोफाइल)लाई मनोरोगीका रुपमा बुझ्ने गर्छन् ।

हाम्रो समाजमा बालिका र किशोरीहरु यौन दुव्र्यवहारमा पर्न सक्छन् भन्ने आंकलन गर्ने हाम्रो समाजले बालकहरु पुरुषबाटै त्यस्तो व्यवहारमा पर्न सक्छन् भन्ने विश्वास नगर्दा धेरै घटना बाहिर आउन सकेका छैनन् । बालयौन दुराचारविरुद्ध क्रियाशील सामाजिक संस्था साथसाथको तथ्यांकअनुसार सन् २०१३ देखि हालसम्म ३ सय ६१ वटा त्यस्ता बालयौन दुराचारका घटना बाहिर आएका छन् । केन्द्रीय बालकल्याण समितिले त्यस्तो तथ्यांक अझ बढी हुन सक्ने अनुमान गरेको छ । अपरिचित व्यक्तिबाट त्यस्ता घटना हुन सक्ने अनुमान गरिए पनि घरपरिवार, नातेदार र छिमेकीबाट पनि बालबालिका सुरक्षित हुन नसकेको समितिको ठहर छ । मुलुकी ऐनमा जबरजस्ती करणीसम्बन्धी केही प्रावधान रहे पनि त्यो अपूर्ण हुँदा त्यस्तो घटना दोहोरिरहेको कानुन व्यवसायीहरुको तर्क छ ।

अहिलेको कानुनमा बालयौनमा संलग्नहरुलाई के–कति सजाय तोक्ने प्रस्ट व्यवस्था नभएकाले यौनदुराचारीहरु सामान्य सजायमा उम्किन सक्ने बताउँछन् । त्यसैले यौन दुराचारसम्बन्धी छुट्टै ऐन बनाउन ढिलो गर्नुहुँदैन ।

LEAVE A REPLY