यस्तो लापरबाही हामी माथि !



 

काठमाडौं उपत्यकामा प्राणघातक विषादी मिसाइएको मासु र मासुबाट बनाइएका परिकार बिक्री वितरण भइरहेको समाचार आइरहेको छ। नाङ्गो हातले समेत छुन नमिल्ने सोडियम नाइट्रेट नामक विषादी मासुमा मिसाइएको भन्ने खबरले हामी उपभोक्तालाई सशंकित बनाएको छ। मासु र मासुजन्य परिकारमा यस्तो प्राणघातक विषादी मिसाइएको तथ्य बाहिर आएपछि उपभोक्ताको स्वास्थ्यमा पर्ने अवस्थाप्रति गम्भीर हुनुपर्ने अवस्था छ।

मासुमा सोडियम नाइट्रेट मिसाउनु भनेको उपभोक्ताको स्वास्थ्यमाथिको हदैसम्मको लापरबाही हो। यसलाई कुनै पनि हालतमा सामान्य मान्न सकिन्न। नियमनकारी निकाय अब जुर्मुराउनु जरुरी छ। देखावटीरुपमा गरिने अनुगमनले मात्र यस्ता गतिविधि नियन्त्रण हुन सक्दैन। लामो समयसम्म दुरुस्त राख्न सघाउने भएकाले ससेजमा पनि ससेजमा पनि प्राणघातक सोडियम नाइट्रेट मिसाउने गरेको खबर आइरहेको छ। उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्ने गरी यस्तो हर्कत गर्नेलाई सरकारले छुट दिइरहेको छ। नाममात्रको अनुगमनले यिनले छुट पाएका छन्। यस विषयमा सम्बन्धित निकायको ध्यान आकृष्ट होस्।

– विनोद घिमिरे, कीर्तिपुर

ड्राइभिङ लाइसेन्स लिन सास्ती
सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिनको लागि हामीले सास्ती खेप्नुपरेको छ। यातायात व्यवस्था विभागले निकै तामझामका साथ शुरु गरेको अनलाइन फारम प्रणाली काम नलाग्ने भएपछि दुःख पाइएको छ। अनलाइन फारम प्रणाली प्रयोगविहीन भएपछि अहिले बिहानैदेखि लाइसेन्स फारमका लागि यातायात कार्यालयमा लाइन लाग्नुपरेको अवस्था छ।

गत पुसमा सवारीचालक अनुमतिपत्रका लागि अनलाइन फारम प्रणाली शुरु भएको थियो। तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले लाइसेन्स नवीकरण, सवारी दर्तालगायतका कार्यमा अनलाइन प्रणाली लागू गरेका थिए। तर अहिले अनलाइन प्रणाली काममा आएन। यस विषयमा सम्बन्धित निकायले सोच्नै पर्ने भएको छ।

– सागर शर्मा, ललितपुर

इन्टरनेट खोल्यो कि पैसा स्वाहा
म प्रायः मोबाइलबाट इन्टरनेट चलाउँछु। पहिले एक सय रुपियाँ मोबाइलमा रिचार्ज गर्दा १ सातासम्म इन्टरनेट चलाउन र फोन गर्न पुग्थ्यो। तर आजभोलि एक सय रुपियाँ हाल्दा १० मिनेट पुग्दैन। मैले मोबाइलबाट फेसबुक चलाउने र समाचार पढ्ने गर्छु। टेलिकम कम्पनीहरुले भनेजस्तै ब्याकग्राउन्ड रेस्टिकेट गर्छु तर पनि इन्टरनेट खोल्यो पैसा स्वाहा हुन्छ।

पहिले भन्दा इन्टरनेटको गति त बढेको छ तर हामी जस्ता विद्यार्थीलाई महँगो भएकाले समस्या भएको छ। इन्टरनेटको गति बढेर केही हुन्न, मूल्य पनि सस्तो हुनुपर्छ। म एनसेल र एनटीसी दुवैको सिम चलाउँछु तर दुवैको मूल्य उस्तै छ, छोइसाध्य छैन। हामीलाई सस्तोमा इन्टरनेट सेवा दिन कसले सोच्ने ?

– विमल सिलवाल, चितवन

हाम्रो निद्रा हरायो
छिमेकी देश साउदी अरब, युएई र बहराइनबाट कतार नाकाबन्दीमा परेपछि हामीलाई निद्रा परेको छैन। ऋणको भारी बोकेर परदेश हिँडेका हामीहरुको कर्मथलोको सन्देश सुखद छैन। खबरले मनमा एकै खालको प्रश्न बारम्बार आइरहन्छ– यो नाकाबन्दी कति लामो समयसम्म जाला ? खानेकुरा कसरी आऊला ? काम नपाएर त्यत्तिकै फर्किनुपर्ने हो कि ? नेपालबाट आउने फोन उठाएर दिन बित्न थालेको छ। परिवार, आफन्त र साथीभाइले सोधिरहेका हुन्छन्, हवाइजहाज पनि बन्द छ रे, समुद्र पनि बन्द छ। अब त्यहाँ के हुन्छ ?

अरब समन्वय समिति (जीसीसी) का सदस्य राष्ट्र साउदी, बहराइन र युएईसँग कूटनीतिक सम्बन्ध विच्छेदपछि एकमात्रै जमिन जोडिएको साउदीको सीमा बन्द छ। आन्तरिक हवाई सम्पर्क पनि विच्छेद छ। ताजा हरियो सब्जीदेखि दूधसम्मको मुख्य स्रोत साउदी अरब नै हो। कतारलाई पहिलो चुनौती बजारमा तरकारी र खाद्यान्य अभाव हुन नदिनु हो। उसले कुन सामान कहिले सकिन्छ भनेर सामान आपूर्तिमा ध्यान दिएको देखिन्छ। चामल, पीठो, मासु, माछालगायत उपभोग्य वस्तु पाकिस्तान, भारत र बंगलादेशबाट नियमितरूपमा आपूर्ति भइरहेको छ।

कतारसँग नजिक रहेको इरानले पनि कतारलाई चाहिने ताजा तरकारी पठाउने प्रस्ताव राखेको खबर बाहिर आएको छ। इरानको बन्दरगाहबाट १२ घण्टामा कतारमा सामान पठाउन सकिन्छ। कतारले इरानको प्रस्तावलाई स्वीकार गरिसकेको छैन। कूटनीतिक संकट तुरुन्तै हट्ने अवस्था देखिइहालेको छैन।

कतारले आफ्नो परराष्ट्र नीति सच्चाए आफूहरू सम्बन्ध स्थापना गर्न तयार रहेको युएईको सर्त छ। यसलाई हटाउन कुवेतले मध्यस्थता गरेको छ। नेपाली कामदार कतारको बलियो संयन्त्र पनि अझै आशा गरेर बसेको अवस्था छ। यो विषयमा नेपाल सरकारले कूटनीतिक रुपमा हाम्रो सहजताको लागि सहयोग गर्न अपिल गर्छौं।

– सुवर्ण धिताल, खोटाङ (हालः दोहा कतार)

पानीको हाहाकार भो
त्रिवेणी नलगाड नगरपालिकाका हामीलाई पानी ल्याउन ६ घण्टाको समय खर्चनुपर्छ। घरनजिक पानीको सुविधा नहुँदा प्यारगाराका ३० घरपरिवारलाई ३ घण्टा टाढाको नाउलोबाट पिउने पानी ओसार्नुपर्ने बाध्यता छ। प्यारगाराका ३० घरपरिवारका पशुचौपाया लगायतको पनि एकमात्र पानीको स्रोत हो, छिपछिपे मूलको नाउलो। यसमा पानीको स्रोत कम हुँदा गाग्री लिएर पुग्नेबित्तिकै पानी भर्न पाइँदैन। पालो कुरेर पानी भर्नुपर्दा समय बढी लाग्ने गरेको छ। गाउँनजिक पानीको कुनै स्रोत छैन। २ घण्टा लगाएर पानी ल्याउनुपर्छ, पानी ओसार्दै दिन बित्छ।

५० वर्षअघिदेखि पिउने पानीका लागि दुःख पाउँदै आएका छौं हामी यहाँका स्थानीयहरु। पिउने पानीका लागि कुनै नेता र संघसंस्थाले वास्ता गरेका छैनन्। यही नाउलोको पानी पनि कसले पहिला भर्ने भन्ने तँछाड मछाड हुने गरेको छ। नगरपालिकामा आफ्नो समस्या सुन्ने कोही छैन हाम्रो। माथिल्ला वर्ग, हुने–खाने र पहुँचवालाकै कुरा सुनुवाइ हुन्छ यहाँ पनि। पशु चौपाया र जंगली जनावरले पनि यही नाउलामै पिउने गर्दा पानी दूषित हुने गरेको छ। वर्षातको समयमा आकाशे पानीको संकलन गरेर खाने गरेका छौं हामीले। हाम्रा छोराछोरीसमेत पढ्न नपाई पानी ओसार्नमै समय जाने गरेको छ। पानी अभावमा नवआगन्तुकलाई बास बसाउन नै लाज लाग्ने गरेको छ। यहाँ गाउँमा बनेका चर्पी प्रयोगविहीन छन्। स्थानीय बासिन्दा खोला, खोल्सा र जंगलमा खुला शौच गर्न बाध्य भएका छौं। जिल्लाका सरकारी र गैरसरकारी निकायले बर्सेनि खानेपानी योजनामा करोडौं खर्च गर्ने गरे पनि हामीलाई सधैँ काकाकुल छ। त्यसैले सम्बनिधत निकायको ध्यान यतातिर आकर्षित होस्।
– सीता सुनार, त्रिवेणी नलगाड नगरपालिका–४

प्रतिक्रिया दिनुहोस्