नेप्सेमा निरन्तर गिरावट



 

नेपाल समाचारपत्र
काठमाडौं
अघिल्लो दिन २४ अंकभन्दा बढीले ओरालो लागेको नेप्से परिसूचकमा सोमबार पनि उच्च अंकको गिरावट आएको छ। साताको दोस्रो दिन सोमबार नेप्से ९ दशमलब ९७ अंकले खस्किएको हो।

१ हजार ५ सय ९० दशमलब ४९ अंकबाट कारोबार शुरू भएको शेयर बजार सोमबार १ हजार ५ सय ८० दशमलब ५२ बिन्दुमा आएर रोकिएको हो। नेप्से परिसूचक घटेसँगै कारोबार शेयर संख्या र रकम पनि घटेको छ। सोमबार १ सय ३८ कम्पनीको कूल ७ लाख ९८ हजार ६ सय १३ कित्ता शेयर ४९ करोड ८८ लाख ९६ हजार ३ सय ५४ रुपियाँमा किनबेच भए। कारोबार रकम आइतबारभन्दा २९ दशमलब ८६ प्रतिशतले बढी हो।

सोमबार सबै समूहका परिसूचक ओरालो लागेका छन्। घट्नेमा बीमा समूह सबैभन्दा धेरै ८१ दशमलब शून्य ६ अंकले घटेको छ भने होटल र जलविद्युत् समूह क्रमशः २८ दशमलब ९९ र २३ दशमलब ३८ अंकले ओरालो लागेका छन्। त्यस्तै विकास बैंक समूह १२ दशमलब ९८, बैंकिङ समूह ७ दशमलब ४९ र उत्पादनमुलक समूहको परिसुचक ७ दशमलब ३ अंकले घट्यो। वित्तीय र अन्य समूह पनि क्रमशः २ दशमलब ४ र १ दशमलब ७३ अंकले ओरालो लागे।

सबैभन्दा धेरै कारोबार गर्नेमा आरएसडीसी लघु वित्तीय संस्था रह्यो। संस्थाका कुल १७ हजार ५ सय ७३ कित्ता शेयर ५ करोड ४४ लाख ९३ हजार ५ सय १३ रुपियाँमा कारोबार भए। धेरै कारोबार गर्नेमध्ये दोस्रोमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र तेस्रोमा एनएमबी बैंक (संस्थापक) रहेका छन्। आइतबार सबैभन्दा बढी नबिल ब्यालेन्स फन्ड–१ को १ लाख १६ हजार २ सय ९३ कित्ता शेयर कारोबार भए।

सोमबार वल्र्ड मर्चेन्ट बैंकिङ तथा वित्तीय संस्थाका शेयरधनीले सबैभन्दा धेरै ९ दशमलब ५६ प्रतिशत कमाए भने एभरेस्ट बैंकका शेयरधनीले सबैभन्दा धेरै ९ दशमलब ४५ प्रतिशत गुमाए।

प्रतिक्रिया दिनुहोस्