बिनाभिसा युरोप घुम्न पाएर युक्रेनीहरू दंग



 

किभ, (एजेनसी)
युक्रेनी जनताले विशेष अवसरहरूमा आफूहरूलाई बिनाभिसा युरोपेली संघ (ईयू) का सदस्य राष्ट्रहरूमा भ्रमण गर्ने छुट दिइएकोमा सोमबार खुसीयाली मनाएका छन्। युक्रेनका राष्ट्रपति पेट्रो पोरोसेन्कोले किभमा ईयूको यस कदमको स्वागत गरेका छन्।

साथै उनले यो भिसा फ्रि कार्यक्रमलाई कार्यान्वयन गर्ने उद्देश्यले हिजो उझगारोद सिमानाको जाँचचौकीमा स्लोभाकका राष्ट्रपति आन्द्रेज किस्कासँग भेटवार्ता गरेका छन्। तर अझै पनि युरोपेली संघमा काम गर्ने उद्देश्यले जाने युक्रेनीहरूले भने भिसा लिनै पर्ने प्रावधान रहेको छ।
हिजो राजधानी किभस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट ईयूतर्फ प्रस्थान गर्न लागेका युक्रेनीहरूले खुसी व्यक्त गर्दै नाचगान गरेका थिए। तर युक्रेनी आफन्तहरू रहेका रसियास्थित युक्रेनीहरू भने तनावमा परेका छन्।

किनभने टेलिभिजनले यस छुटको कारण अवैध श्रम आप्रवासीहरूको ओइरो लागेपछि ईयूले अन्ततः यो सम्झौता रद्द गर्ने खबर प्रसारण गरिरहेको छ। यस भिसा फ्रि कार्यक्रमअन्तर्गत युक्रेनीहरू केही गैरईयू क्षेत्रहरू जस्तै स्वीजरल्यान्ड र आइसल्यान्डलगायत स्केन्जेन क्षेत्रमा प्रवेश गर्न पाउँछन् भने तिनीहरू संयुक्त अधिराज्य र आयरल्यान्ड भने जान पाउने छैनन्।

यो बिनाभिसको विशेष छुट ९० दिनको रहने बताएको छ। राष्ट्रपति किस्कासँगको भेटघाटका क्रममा राष्ट्रपति पोरोसेन्कोले सडक मार्गबाट बिना भिसा युरोप जाने व्यवस्थाका लागि समर्थथन गरिदिएबापत उनलाई धन्यवाद ज्ञापन गरेका छन्।
यस सुविधाको घोषणा गरेलगत्तै हजारौं युक्रेनीहरू युरोपमा रहेका आफन्तहरूसँग भेट्न त्यसतर्फ लाग्ने क्रम जारी रहेको छ। पारोसेन्काले युक्रेन र युरोपलाई विभाजित गर्ने दस्तावेज च्यातिनु ऐतिहासिक घटना भएको टिप्पणी गरेका छन्।
युक्रेनको युरोपेली संघको सदस्यता लिने विषयलाई लिएर नै जनताले विरोध गरेपछि यसअघिका राष्ट्रपति रुस पलायन हुनुपरेको थियो। त्यसको केही समयपछि रुसले युक्रेनको क्रिमिया आफ्नो भूभागमा गाभेपछि अन्तर्राष्ट्रिय जगतले रुसको विरोध गर्दै रुसमाथि नाकाबन्दीसमेत लगाएको थियो।

प्रतिक्रिया दिनुहोस्