फ्रान्सको संसदीय चुनावमा राष्ट्रपतिको पार्टीलाई सफलता



 

पेरिस, (एजेन्सी)
फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंको पार्टीले देशमा सम्पन्न पहिलो चरणको संसदीय चुनावमा भारी जित हासिल गर्ने संकेत दिएको छ।

आइतबार भएको पहिलो चरणको मतदानपछि एक्जिट पोलको नतिजामा म्याक्रोंको पार्टी रिपब्लिक अन द मुभलाई ५ सय ७७ सदस्यीय राष्ट्रियसभामा ४ सयभन्दा धेरै सिट हासिल हुन सक्ने देखिएको छ।
म्याक्रोंको पार्टी अस्तित्वमा आएको अहिले एक वर्ष मात्र भएको छ र उनका थुप्रै उम्मेदवारको राजनीतिमा अनुभव अत्यन्त कम वा प्रायः शून्य रहेको छ। संसदीय चुनावको दोस्रो चरणको मतदान अर्को आइतबार हुनेछ।

पूर्वानुमानअनुसार म्याक्रोंको पार्टीले पहिलो चरणमा ३० प्रतिशतभन्दा धेरै भोट प्राप्त गर्न सक्ने जनाइएको छ।

यद्यपि भोट खसाल्नेको संख्यामा अत्यन्त कम रहेको जनाइएको छ। यसबाट म्याक्रोंका प्रतिद्वन्द्वीका समर्थकहरूमा पराजयको नैराश्यता आउन सक्ने विश्लेषकहरूले बताए। विपक्षी रिपब्लिकन पार्टीले २१ र अति दक्षिणपन्थी ली पेनको नेसनल फ्रन्टलाई १३ प्रतिशत मत प्राप्त हुने अपेक्षा गरिएको छ।

संसद्मा पूर्ण बहुमत प्राप्त भएपछि ३९ वर्षीय म्याक्रोंलाई आर्थिक सुधार तथा सामाजिक क्ष्ँोत्रमा लगानीको दिशामा काम गर्न सहज हुनेछ। एक्जिट पोलको नतिजापछि सरकारका एक प्रवक्ताले मतदाताहरू महत्त्वपूर्ण सुधारमा तीव्रतासँग अगाडि बढ्न चाहेको बताए।

प्रतिक्रिया दिनुहोस्