शिवकुमारीको हाइहाइ



 

नेपाल समाचारपत्र
चन्द्रौटा
उमेरले भर्खर २४ मा पाइला टेकेकी उनी। मीठो बोली, हँसिलो अनुहार र निकै मिजासिलो स्वभावकी छन्। कपिलवस्तुको शिवराज नगरपालिका–१, शिवपुर बस्ने शिवकुमारी थारू हुन् उनी। २०५० साउन ९ गते बुवा भग्गु थारू र आमा बउँरी थारूको कोखबाट साविक शिवपुर–७, चैनपुरमा उनी जन्मेकी हुन्।

शिवराज नगरपालिकाको उपमेयरमा एमालेबाट टिकट पाएकी शिवकुमारी यति बेला एकाएक चर्चामा आएकी छन्। पहिलोपटक औपचारिक समारोहमा सबैको मन छुने भाषणले उनी एकाएक चर्चामा आएकी हुन्। अर्कोतर्फ उनको परम्परागत जातीय पहिरनले पनि उनी आकर्षणको केन्द्रविन्दु बनेकी हुन्।

कलिलै उमेरमा राजनीतिक मोड दिई सफल नेतृ बन्न चाहने शिवकुमारी अहिले स्थानीय तहमा निकै चर्चित छिन्। तर उनी काठमाडौंकी रञ्जु दर्शनाजस्तो मिडियाको भरमा मात्र चर्चामा आउन नचाहने बताउँछिन्। जनमानसमा पहिलेदेखि नै लोकप्रियता कमाएकी शिवकुमारीको उम्मेदवारीले झन् उनलाई चर्चाको शिखरमा पुर्याएको छ।

शिक्षण पेसा छाडेर उपमेयरमा अग्रसर शिवकुमारीको चर्चाले यति बेला नगरमा चुनावी माहोल फेरिएको छ। सामाजिक सञ्जालदेखि विभिन्न सञ्चारमाध्यममा उनकै चर्चा परिचर्चा छ। उनी जुन गाउँ ठाउँमा प्रचारप्रसारका लागि जान्छिन्, उनले बेग्लै छाप छोड्ने गर्छिन्। उनको आगमनले गाउँटोलमा निकै उत्साह थपिन्छ, स्थानीयको भनाइ छ।

आदिवासी जनजाति थारू समुदायकी छोरी⁄चेली उनी नगरबासीमा सद्भाव कायम गर्दै समृद्ध नगरको परिकल्पना गरेको बताउँछिन्। थारू समुदाय पछि पर्नुमा नेतृत्व लिन अग्रसरता नदेखाउनु प्रमुख कारण भएको औंल्याउँदै अब परिवर्तन आफैंबाट शुरुआत गर्न अग्रसरता देखाउने उनले बताइन्।

स्नातक तह अध्ययनरत उनी नगरपालिकाको उपमेयरको काम के हो ?, राम्रोसँग बुझेको⁄अध्ययन गरेको दर्साउँदै विभिन्न खाले हिंसा र विभेदलाई कम गर्दै अन्यायको विरुद्ध आवाज उठाउने आफ्नो मुख्य एजेन्डा रहेको उनको दाबी छ।
गाउँकै एक विद्यालयमा निजी स्रोतमा अध्यापन गराउँदै आएकी शिवकुमारीले एमाले पार्टीबाट टिकट पाएलगत्तै परिवारकै सल्लाहमा स्कुलमा राजीनामा दिएको बताइन्। सानै उमेरमा विवाह भएकी शिवकुमारीको अहिले ३ वर्षकी एक छोरी छिन्। उनका पति राजेन्द्र चौधरी भने वैदेशिक रोजगारीमा छन्।

प्रतिक्रिया दिनुहोस्