सिन्धुपालचोककी अनीता नयाँ मिस मंगोल



 

मंगोलियन युवतीहरुबीच राजधानीमा भएको सौन्दर्य स्पर्धामा सिन्धुपाल्चोककी १७ वर्षीया अनीता लामाले मिस मंगोल नेपाल २०१७ को उपाधि चुमेकी छन्। एक्सन इन्टरटेनमेन्टद्वारा राजधानीमा शनिबार आयोजित प्रतियोगितामा २९ प्रतिस्पर्धीलाई पछाडि पार्दै अनीताले शीर्ष उपाधिसहित १ लाख रुपियाँ पुरस्कार पाएकी छिन्। उनी मिस पङ्चुअल उपउपाधि विजेता पनि भइन्। अधिवक्ता बन्ने सपना साँचेकी अनीतालाई अभिनेता नीर शाह, पूर्वप्रहरी महानिरीक्षक कुवेरसिंह राना, स्टान्टर्ड चार्टड बैंकका सीईओ जोसेफ सिल्भानस, मगर समाज सेवा केन्द्रका अध्यक्ष मानबहादुर बुढामगर, अभिनेता भुवन केसी, फिल्म निर्देशक मिलन चाम्स, अभिनेतृद्वय सरिता लामिछाने र दिया पुन सम्मिलित निर्णायक मण्डलले विजेता छनोट गरेका हुन्।

प्रतियोगितामा बाग्लुङकी २३ वर्षीया खुसी मगर र धरान सुनसरीकी १८ वर्षीया श्वेता थापामगर क्रमशः फस्ट र सेकेन्ड रनर्सअप चुनिए। बैंक अफ काठमाडौंमा कार्यरत खुसीले मिस फोटोजेनिकको उपाधिलाई पनि आफ्नो बनाइन्। खुसी र श्वेताले नगर पुरस्कारस्वरूप क्रमशः ५० र २५ हजार रुपियाँ पाएका छन्।

मिस मंगोल नेपाल २०१७ मा १७ जिल्लाका ३० प्रतियोगी अन्तिम प्रतिस्पर्धामा उत्रिएका थिए। जसमा रसुवाकी भूमिका थापा मिस लिडरसिप, रामेछापकी रेभा सुनुवार मिस पर्सनालिटी, धनकुटाकी निशा लिम्बु मिस बेस्ट हेयर, काभ्रेकी रेनुका लामा मिस बेस्ट स्किन, सुनसरीकी निशा राई मिस डिसिप्लिन र महिमा राई मिस फ्रेन्डसिप, काठमाडौंकी केट्रिन कुलुङ मिस पब्लिक च्वाइस र बाग्लुङकी करुणा पुन मिस ट्यालेन्ट भए। प्रतियोगिता कोरियोग्राफर रोजिन शाक्यको कोरियोग्राफीमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्