नेप्सेमा २४ अंकको गिरावट



 

नेपाल समाचारपत्र
काठमाडौं
निरन्तर ओरालो लागेको नेप्से परिसूचक साताको पहिलो दिनमै भारी गिरावट आएको छ। निरन्तर खस्कने क्रममा आइतबार पनि नेप्से परिसूचकमा २४ दशमलब ७० अंकको गिरावट आएको हो।

१ हजार ६ सय १५ दशमलब १९ अंकबाट कारोबार शुरू भएको शेयर बजार आइतबार १ हजार ५ सय ९० दशमलब ४९ बिन्दुमा आएर रोकिएको हो। नेप्से परिसूचक घटे पनि कारोबार रकम भने वृद्धि भएको छ। आइतबार १ सय ४६ कम्पनीका कूल ११ लाख २३ हजार ५ सय ३२ कित्ता शेयर ७१ करोड १३ लाख ७२ हजार ७ सय ३९ रुपियाँमा किनबेच भए। कारोबार रकम गत साताको बिहीबारभन्दा ४५ दशमलब २७ प्रतिशतले बढी हो। गत बिहीबार शेयर बजारमा कूल ४८ करोड ९७ लाख १ हजार ५ सय ४४ रुपियाँ बराबरको कारोबार भएको थियो।

आइतबार होटल र उत्पादन मूलक क्षेत्रबाहेक सबै क्षेत्रमा रातो रङ पोतिए। होटल क्षेत्र ३० दशमलब ६८ र उत्पादनमूलक क्षेत्र १९ दशमलब शून्य ६ अंकले बढ्नु बाहेक सबै क्षेत्रका सुचक ओरालो लागे। घट्नेमा बीमा समूहमा सबैभन्दा धेरै रहेको छ। बीमा समूह १ सय ३८ दशमलब ३३ अंकले घटेको छ भने जलविद्युत् र बैंकिङ समूहमा पनि क्रमशः ४५ दशमलब ९३ र २५ दशमलब ४३ अंकको गिरावट आए। त्यस्तै विकास बैंक समूह, अन्य र वित्तीय र अन्य समूहमा पनि २० दशमलब १०, १३ दशमलव शून्य २ र ७ दशमलब ५२ अंकको गिरावट आयो।

प्रतिक्रिया दिनुहोस्