आलु उत्पादन बढ्यो



 

वीरबहादुर बम, मुगु

नगदेबालीको रूपमा चिनिने आलुको उत्पादन जिल्लामा बढ्दै जान थालेको छ। गाउँमा उत्पादन हुने आलु बजार क्षेत्रमा सहजै रूपमा बिक्री हुन थालेपछि पाखो जग्गामा अन्य बाली छोडेर पनि स्थानीय कृषकले आलु लगाएर आफनो वार्षिक जीविकोपार्जन गर्न थालेका छन्।

सोबा, मन्दु, कोटीला, ताल्च, माग्री, चितै, पुलु, खमाले, लगायत वस्तीमा मुख्य आलु पकेट क्षेत्र मानिने भए पनि यस जिल्लाको औल बस्तीदेखि उच्च लेकाली वस्तीमा आलु फल्ने गरेको छ। ग्रामीण वस्तीमा सडक सञ्जाल विस्तार हुन थालेपछि बारीदेखि पाखो जग्गामा फलेका आलु बजार क्षेत्रमा पुर्याएर बिक्री गरी जीविकोपार्जनको लागि स्थानीयबासीले आलु खेतीलाई जोड दिन थालेका छन्।

विगत वर्षहरू भन्दा केही समय यतादेखि बढी आलु बिक्री हुन थालेपछि अन्य बाली छोडेर पनि आलु उत्पादनमा जोड दिएको सोबा गाउँका धर्मदत्त बुढाले भने गाउँको अर्गानिक आलु शहरमा पुग्न थालेको छ। सोबा गाउँको करिब डेढ सय घरधुरीमा प्रतिघर ३० देखि ४० क्वीन्टल आलु उत्पादन हुने गरेको बुढाले भने यत्रो संख्यामा आलु उत्पादन हुँदा पनि केही खाँदै केही बिक्री गर्दै अझै वर्ष भरि पुग्दैन्।

ग्रामीण क्षेत्रबाट बिक्रीको लागि गमगढी बजार क्षेत्रमा आएको आलु मौसम प्रतिकिलो २५ देखि ३० र बेमौसमा प्रतिकिलो ४० देखि ५० रुपियाँ बिक्री गर्दा कृषकलाई बढी फाइदा हुने गरेको छ। पूर्वी करान भेगको डोल्फु गाविसको चितै गाउँ र सिमा मुगु गाउँमा उत्पादन हुने आलु सबैभन्दा स्वादिलो पोसिलोको रूपमा चिनिन्छ। उक्त आलु बिक्रीले लागि गमगढी बजारमा किन्न हानथाप हुने गरेको छ।

जिल्लामा करिब ६ सय २५ हेक्टर जमिनमा खुमल सेतो, १ कुफ्रिज्योति १ सिभ ८८ कटनेल लगायत प्रजातिको ६ हजार १ सय ६२ मेट्रिकटन आलु वार्षिक रूपमा उत्पादन हुने गरेको कृषि विकास कार्यालयले जनाएको छ। वार्षिक रूपमा आलु उत्पादन बढ्दै गएको जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत बद्री नारायण देव भन्छन्–‘सडक यातायातले गर्दा यहाँका अर्गानिक आलु सुर्खेत नेपालगञ्ज जुम्लासिजातिर निर्यात हुन थालेको छ।’ ताल्च, पिना, झयारी, मुन्दु, कोटिलालगायत बस्तीस्तरमा उत्पादन हुने आलु प्रतिकिलो २० देखि २५ रुपियाँमा खरिद गरी तराई पुर्याएर ५० देखि ६० रुपियाँमा बिक्री हुने गरेको छ।
व्यापारीहरू घरमै आलु खोज्न आउने गरेको ताल्चा गाउँका हरिबहादुर बिकले भन्नुभयो–‘पहिले अलिअलि तरकारी खाने आलु लगाउथे आजकाल एक डेढ रोपनी जग्गामा आलु लगाउँन थालेका छन्।’ गमगढी बजार क्षेत्रका होटलवालालाई आलु उत्पादनले गर्दा तरकारीदेखि अन्य परिकार बनाउन बाहैमास सजिलो भएको छ। गमगढीमा मात्र प्रतिदिन ५ क्वीन्टल भन्दा बढी आलु खपत हुने गरेको छ। पहिले आलु खोज्न गाउँतिर जानु पथ्र्यो सयपत्री होटलका मालिक राजबहादुर रोकायाले भन्नुभयो–‘दुई चार वर्ष यतादेखि आलुदेखि अन्य तरकारी फालाफाल छ ग्राहकलाई खाना नास्ता खुवाउन सुविधा भएको छ।’

प्रतिक्रिया दिनुहोस्