कोरियन भाषा परीक्षामा ४२ नक्कली परिक्षार्थी, छुटेकालाई छिट्टै दिने व्यवस्था मिलाइने



 

रोविन पौडेल, काठमाडौं

कोरियन भाषा परीक्षा दिनबाट बञ्चित भएका ४ सय ३३ परिक्षार्थीलाई पुनः परीक्षा दिने तयारी भएको छ। ईपीएस कोरिया शाखाको गल्तीका कारण शनिबार २६ नम्बर परीक्षा केन्द्र, इन्स्टिच्युट अफ टेक्नोलोजी म्यानेजमेन्टमा शनिबार उक्त संख्यामा परीक्षार्थीले भाषा परीक्षा दिनबाट बन्चित भएका थिए।

परीक्षा दिनबाट बन्चित भएका परिक्षार्थीका विषयमा आगामी शुक्रबारसम्म टुंगो लाग्ने ईपीएस कोरिया शाखाका निर्देशक बाबुराम खतिवडाले बताउनुभयो। उहाँले भन्नुभयो–‘नेपाल कोरियाली टोली कोरिया पुगेपछि यस विषयमा हामीलाई जानकारी गराउने छ, टोली सकारात्मक रहेको हुँदा अबको एक सातापछि परीक्षा सञ्चालन हुने गरी केन्द्र तोकिने छ।’

खतिवडाका अनुसार शाखाको आधिकारिक पेजमा १२ घण्टाको गल्ती सूचना प्रकाशनले गर्दा समस्या आएको थियो। तर, त्यसलाई जेठ १९ गते दिउँसो नै सच्याइएको उहाँको दाबी छ। शनबिार आइतबार भएको कोरियन भाषा परीक्षाको नतिजा भने असार १६ गते प्रकाशित गर्ने तयारी भएको छ। भाषा परीक्षाको उत्तरपुस्तिका कोरियामा जाँच भई उतैबाट नतिजा प्रकाशित गरिने वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले जनाएको छ।

परीक्षाको उत्तरपुस्तिका कोरियाबाट आएको मानव संशाधन टोलीले कोरिया लैजाने ईपीएस कोरिया शाखाका निर्देशक बाबुराम खतिवडाले बताउनुभयो। नेपाल समाचारपत्रसँग कुरा गर्दै खतिवडाले भन्नुभयो–‘परीक्षाको लागि कोरियाबाट ५५ जनाको टोली आएको थियो। उक्त टोलीले उत्तरपुस्तिका कोरियामै जाँचेर सो मितिमा परीक्षाफल प्रकाशित गर्ने तयारी गरेको छ।’ उक्त टोली सोमबार कोरिया प्रस्थान गर्दै छ।

परीक्षामा आवेदन दिने ९० प्रतिशतभन्दा बढीले भाषा परीक्षा दिएको निर्देशक खतिवडाले बताउनुभयो। आवेदन फारम भर्न चैतको दोस्रो सातादेखि १० दिनको समय दिइएको थियो। सो अवधिभर ७५ हजार ५ सय ८० जनाले आवेदन दिएका थिए।

परीक्षा अवधिभर ४२ जना नक्कली परिक्षार्थी समातिएका छन्। समातिनेमध्ये काठमाडौका विभिन्न केन्द्रबाट २८ र ललितपुरका विभिन्न केन्द्रबाट १४ परिक्षार्थी रहेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रद्युम्न कार्कीका अनुसार काठमाडौंबाट शनिबार ४ र आइतबार २४ जना परिक्षार्थी पक्राउ परेका हुन्। त्यस्तै ललितपुरबाट शनिबार ५ र आइतबार ९ नक्कली परिक्षार्थी पक्राउ परेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता ईश्वर कार्कीले जानकारी दिनुभयो।

सन् २०१८ को लागि लिइएको भाषा परीक्षामा १० हजार २ सय जना उत्तीर्ण हुनेछन्। जसमा ६ हजार दुई सय जना कृषि र ४ हजार जना उत्पादनमुलक क्षेत्रका लागि छनोट हुनेछन्। तर, भाषा परीक्षा पास गर्ने बित्तिकै कोरिया जाने निश्चित नभएको शाखाले बताएको छ। परीक्षाका लागि ७५ हजार ५ सय ८० ले आवेदन दिएका थिए। जसमध्ये ९ हजार ७ सय ९६ महिला र ६५ हजार ७ सय ८४ पुरुष रहेका थिए।

प्रतिक्रिया दिनुहोस्