उदाहरणीय व्याञ्जु



 

भगवती तिमल्सिना, धुलिखेल

झण्डै २० वर्षपछि हालै सम्पन्न भएको स्थानिय निर्वाचनमा धुलिखेल नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष पदमा निर्वाचित रोमीप्रसाद व्याञ्जु यतिबेला नगरकै उदाहरणीय व्यक्तिका रूपमा परिचित हुनुहुन्छ।

सानो होस् या ठूलो जुनसुकै राजनैतिक दलमा लागे पनि जनताको मन जित्न सफल व्यक्तित्वले मात्रै नेतृत्वको जिम्मेवारी पाउँछन् भन्ने कुरालाई व्याञ्जुले पुष्टि गर्नुभएको छ। सादा जीवन उच्च विचारका धनी व्याञ्जुले हालै सम्पन्न स्थानीय निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट अत्यधिक मत ल्याई धुलिखेल नगरपालिकाको ७ नं. वडामा वडा अध्यक्ष जितेर सावित गर्नुभएको छ।

विद्यार्थी जीवनमा चौथो महाधिवेशनसम्म अखिलमा लाग्नुभएका व्याञ्जु २०४६ सालदेखि राष्ट्रिय प्रजातन्त्र पर्टीमा प्रवेश गरी स्थानीयस्तरको नेतृत्वमा अघि बढ्नुभएको हो। उहाँ पहिलोपटक धुलिखेल नगरपालिकाको वडा नं. २ बाट २०४९ सालमा वडा अध्यक्ष जित्नुभयो र २०५४ सालमा पनि सोही वडाको वडा अध्यक्ष जित्नुभएको थियो। बच्चादेखि प्रौढसम्म सबैले रुचाउने व्यक्तित्व व्याञ्जु अत्यन्तै मिलनसार तथा भद्र व्यक्तित्व भएकै कारण सबैको विश्वास पात्र हुनुहुन्छ। उहाँलाई २०६१ सालमा पनि राप्रपाबाटै वडा नं. २ मा नै वडा अध्यक्ष मनोनित गरिएको थियो।

देश र जनताको पक्षमा काम गर्नुपर्छ भन्ने मूल उद्देश्य बोकेर अघि बढ्नुभएका व्याञ्जु हालै सम्पन्न पहिलो चरणको स्थानिय निर्वाचनमा पनि राप्रपाबाट धुलिखेल नगारपालिका वडा नं. ७ का जनताको मन जित्न सफल हुनुभएको छ। विद्यार्थी जीवनदेखि हालसम्म राजनैतिक क्षेत्रमा कहिल्यै हार्न नजान्नुभएका व्याञ्जु निडर र कुनै किसिमको लोभ लालच नगर्ने स्वभावको भएकै कारण सधैं उहाँलाई जनताले विश्वास गरेको कानुनविद् दिनेश श्रेष्ठ बताउनुहुन्छ।
शनिबार धुलिखेल नगरपालिका वडा नं. ७ स्थित इमाथेमार्ग ढल निर्माण उपभोक्ता समितिले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष व्याञ्जुले भन्नुभयो– ‘नगर विकासका लागि धेरै काम गर्नुछ। हरेक काममा सहकार्य गरेर अघि बढ्ने गरेको छु। यतिबेला जिम्मेवारी थपिएको अवस्था छ, मलाई सबैले अझ बढी माया गर्छन् र सहकार्यमा साथ दिनेछन् भन्ने विश्वास लिएको छु।’ पहिलाका वडा अध्यक्षलाई भन्दा अहिलेका वडा अध्यक्षलाई प्रत्यक्ष जनतासँग सरोकार राख्ने र काम गर्ने जिम्मेवारी तथा चुनौती थपिएको छ। अबका दिनमा हरेक काममा प्रत्यक्ष जनतासमक्ष पुग्ने वडा अध्यक्षले जनप्रतिनिधिका साथ स्थानीय जनतासँग सहकार्य गरेर काम गर्नुपर्छ। जसले सहकार्य गर्न सक्दैन उसले काम गर्नै नसक्ने अवस्था छ। अब पहिलाजस्तो वडा अध्यक्षले नगर प्रमुख तथा उपप्रमुखलाई सिफारिस गर्ने नभई सीधै काम गर्ने जिम्मेवारी थपिएको छ।

व्याञ्जु भन्नुहुन्छ– ‘जनता र नगरका प्रतिनिधिहरु एक आपसका परिपुरक भएर काम गरे धुलिखेल मात्र हैन नेपाललाई नै नमुनायोग्य देशका रूपमा परिवर्तन गर्न सक्छौं। विकासका आधार शुरु भएको छ, व्यवस्थित बनाउन ५ वर्षे गुरूयोजना बनाएर अघि बढ्ने लक्ष्यका साथ अघि बढ्नेछौं।’ निःस्वार्थ, मिलनसार, सबैलाई आफ्नो सम्झने, योभन्दा अघिल्लो स्थानीय निर्वाचनमा जनविश्वास जितेर नगरको विकासमा अहोरात्र खटिने व्यक्ति व्याञ्जुले यतिबेला राजनैतिक दलभन्दा पनि माथि उठेर काम गर्ने अठोट गर्नुभएको छ। विगतको कार्य मूल्यांकनकै आधारमा उहाँलाई जनताले विश्वास गरेर खन्याएको भोटको कदर गरेरै छाड्ने अठोटका साथ बिजय हात पारेको बताउनुहुन्छ।

धुलिखेल ७ का वडा अध्यक्ष व्याञ्जुलाई जनप्रिय विकास प्रेमी व्यक्ति भएकै कारण जनताले अभिभावका रूपमा चयन गर्न भोटको ओइरो नै लगाएर जिताएका हुन उपभोक्ता समितिका अध्यक्ष ज्वारलाल श्रेष्ठले सम्मानका क्रममा व्यक्त गर्नुभयो। उहाँले विगतमा गरेका कामहरु चुस्त, दुरुस्त भएकै कारण नगरबासीहरुले अत्यन्तै विश्वास गरेर भोट हालेका हुन् यसको सहीरूपमा सदुपयोग गर्न एकजुट भएर अघि बढ्नुपर्नेमा श्रेष्ठले जोड दिनुभयो। सोही अवसरमा वडा प्रतिनिधिहरु अमिन खोजु, निरु माकजु र मनिष माकजुलाई पनि सम्मान गरिएको थियो।

 

विगतमा उहाँले गरेका उत्कृष्ट कामको प्रशंसा गर्दै आगामी दिनमा पनि उहाँले विगतमा जस्तै सबैलाई समेटेर नमुना वडा बनाउने कार्यमा लाग्ने विश्वास गरेको समितिका सचिव अजबकृष्ण माकजुले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्