दोस्रो चरणको चुनाव के होला ?



फाईल फोटो

 

दोस्रो चरणको स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गइरहेका बेलामा राष्ट्रिय जनता पार्टी (राजपा) ले आइतबार फेरि आन्दोलनको कार्यक्रम घोषणा गरेको छ। उता सरकारले भने संविधान संशोधन चुनावअघि हुन नसक्ने भनेर पहिला नै स्पष्ट रूपमा भनिएको र अन्य माग सम्बोधनको चरणमा रहेकाले सो पार्टी निर्वाचनमा आउने आशा गरेको पाइएको छ। तर, नआएको खण्डमा पनि कुनै हालतमा दोस्रो चरणको निर्वाचन गराइने जनाएको छ। यस्तै निर्वाचन आयोगले पनि कुनै पनि हालतमा असार १४ गते निर्वाचन हुने र नसर्ने जनाएको छ। यद्यपि अझै सर्वसाधारण जनता भने आश्वस्त हुन सकिरहेका छैनन्। उनीहरूको गम्भीर प्रश्न छ– अब के होला दोस्रो चरणको चुनाव?

भाग्दै राजपा

आन्दोलनको घोषणा, मनाउने क्रम जारी
बीपी साह, काठमाडौं

सरकार र आन्दोलनरत राष्ट्रिय जनता पार्टी (राजपा) बीचको वार्ता असफल भएसँगै राजपा नेतृत्वको संघीय गठबन्धनले आन्दोलनको घोषणा गरेको छ।

शनिबार र आइतबार सरकार तथा राजपाका नेताहरूबीच भएको वार्तामा संविधान संशोधन, स्थानीय निकायको संख्या वृद्धि र मधेस आन्दोलनमा लगाइएको मुद्दा फिर्तासहित कैदीबन्दी रिहाइको अडान राजपाले राख्दै आएको छ। तर प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय निकायको दोस्रो चरणको निर्वाचनअघि कुनै पनि माग पूरा गर्न नसक्ने बताउँदै आएका छन्।

आइतबारको बैठकमा पनि राजपाले संविधान संशोधनकै अडान राखेको राजपाका नेता अनिल झाले नेपाल समाचारपत्रलाई बताउनुभयो। उहाँले भन्नुभयो– ‘हाम्रो अडान स्पष्ट छ तर सरकारी पक्षको कुरा अस्पष्ट छ। संविधान संशोधन नभएसम्म निर्वाचनमा सहभागी हुँदैनौं। मन्त्रिपरिषद्बाट हुन सक्ने काम पनि सरकारले गर्न चोहेको छैन।’

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले राजपाले दुई नम्बर प्रदेशको निर्वाचन सार्न आग्रह गरेको बताउनुभयो। उहाँले कुनै पनि प्रदेशको निर्वाचन अब नसर्ने स्पष्ट रूपमा राखेको बताउनुभयो।

तर राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले आफूहरूले कुनै पनि प्रदेशको निर्वाचन सार्न माग नगरेको बताउनुभयो।

नेपाल समाचारपत्रसँग कुराकानी गर्दै अध्यक्ष ठाकुरले भन्नुभयो– ‘हामीले संविधान संशोधन नभएसम्म निर्वाचनमा सहभागी नहुने बताउँदै आएका छौं। अहिलेसम्म कुनै माग पूरा गर्न सरकार तत्पर देखिएन। हामीसँग गरेको तीन बुँदे सहमति पनि कार्यन्वयन गर्ने पक्षमा छैन। त्यसैले हामीले आन्दोलनको घोषणा गरेका छौं।’

ठाकुरले आफूहरूसँग आन्दोलनको विकल्प नरहेको बतउँदै कठोर आन्दोलनमा जानुपरेको बताउनुभयो। आन्दोलनका कार्यक्रमअनुसार जेठ २९ गते मसाल जुलुस, जेठ ३० गतेदेखि असार २ गतेसम्म मधेस, थहरुहट र लिम्बुवान बन्दको घोषणा गरिएको छ।

त्यस्तै, असार ३ र ४ गते शहीदहरूको तस्वीरसहित प्रदर्शन, ५ गते लाठी जुलुस, ६ गतेदेखि १४ गतेसम्म निर्वाचनका सम्पूर्ण गतिविधि अवरुद्ध गर्ने कार्यक्रम राजपाले घोषणा गरेको छ। असार ८ गते मोटरसाइकल र्याली, ९ गते मसाल जुलुस र १० गतेदेखि अनिश्चित्कालीन आमहड्तालको घोषणा गरिएको छ।

यता संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालले राजपालाई निर्वाचनमा सहभागी हुन आग्रह गरेका छन्। नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई र फोरमका अध्यक्ष उपेन्द्र यादवद्वारा आइतबार संयुक्त वक्तव्य जारी गर्दै आन्दोलनरत दलहरूसँग भएका सम्झौता कार्यान्वयन गरी सबै शक्तिलाई निर्वाचनमा सहभागी हुने वातावरण निर्माण गर्न सरकारसँग पनि आग्रह गरेको छ।

विज्ञप्तिमा संविधान संशोधन, मधेस तथा थरुहट आन्दोलनका क्रममा शहादत प्राप्त सबै व्यक्तिलाई शहीद घोषणा, राजबन्दीको रिहाइ, झुटा मुद्दा फिर्ता तथा क्षतिपूर्तिलगायतका विषयहरूलाई यथाशीघ्र कार्यान्वयन गरी निर्वाचनमा सहभागी हुने वातावरण निर्माण गर्न सरकारलाई आग्रह गरिएको छ।

आन्दोलनको घोषणा गरेको राजपालाई चुनावमा सहभागी गराउन सरकारले व्यवस्थापिका संसद्मा प्रस्तुत गरेको राजनीतिक दलसम्बन्धी ऐन संशोधन विधेयक आइतबार मात्रै संसद्ले बहुमतले पारित गरेको छ। यसअघि निर्वाचन आयोगमा हस्ताक्षर बुझाउनका लागि ऐन संशोधन गरिएको थियो।

आइतबारको मन्त्रिपरिषद्बाट निर्णय भएपछि सो ऐनको दफा १०, उपदफा ७ लाई संशोधन गर्ने विधेयकलाई आइतबार नै गृहमन्त्री जनार्दन शर्माले व्यवस्थापिका संसद्मा पेस गर्नुभएको थियो।

मन्त्रिपरिषद्को सोही निर्णयअनुसार व्यवस्थापिका संसद्मा राजनीतिक दलसम्बन्धी ऐन २०७३ संशोधन विधेयक प्रस्तुत गरिएको थियो।

‘यो दफा प्रारम्भ हुनुअघि नाम, झण्डा वा चिह्न तोकिइसकेका, कुनै दल, निर्वाचन मिति घोषणा भएपछि यस दफाबमोजिम एकीकरण भएमा वा गाभिएमा त्यस्तो दलले एकीकरण वा गाभिनुअघि साविकको दल कायम रहँदा प्रयोग गरेको कुनै नाम तथा झण्डा र सो दलले प्रयोग गरेका एक वा एकभन्दा बढी चिह्न वा मतपत्रमा रहेका चिह्नमध्ये आयोगले निर्धारण गरेको अन्य चिह्न उपदफाको १ बमोजिम सम्झौताको अधिनमा रही प्रयोग गर्नुपर्नेछ।’ ऐन संशोधनमा प्रावधान राखिएको छ। ऐन संशोधन नभए पनि संविधान संशोधन नभएकाले निर्वाचनमा जान नसकिने राजपाका नेता राजेन्द्र महतोले नेपाल समाचारपत्रलाई बताउनुभयो। उहाँले संविधान संशोधनलाई ओझेलमा पार्न स–साना संशोधन गरिएको टिप्पणी गर्नुभयो।

‘कुनै हालतमा चुनाव हुन्छ’

काठमाडौं, (नेस)
आन्दोलनरत मधेसी गठबन्धन र सरकारबीचको वार्ता विफल भएपछि सरकारले आगामी असार १४ गतेको निर्वाचनलाई सफल बनाएर छाड्ने प्रतिबद्धता व्यक्त गरेको छ।

सरकार र राष्ट्रिय जनता पार्टीबीच आइतबार भएको वार्ता विफल भएपछि आन्दोलनको घोषणा गरेको राजपासँग सरकारले फेरि पनि वार्ता गर्ने तर वार्तामा सहमति हुन नसके चुनाव गराएरै छाड्ने गृहमन्त्री जनार्दन शर्माले बताउनुभएको छ।

कालो झन्डा देखाउनेलाई गाडीभित्रैबाट हात हल्लाई प्रमुख निर्वाचन आयुक्त यादव कार्यक्रमस्थल प्रवेश गर्नुभएको थियो। भित्र कार्यक्रम चलिरहँदा पनि बाहिर भने राजपा कार्यकर्ताहरू निर्वाचनविरोधी चर्को नाराबाजी गरेका थिए।

आइतबार साँझ नेपाल समाचारपत्रसँग कुरा गर्दै मन्त्री शर्माले राजपालाई निर्वाचनमा सहभागी गराउन सरकारले आइतबार मात्रै राजनीतिक दलसम्बन्धी ऐन संसद्बाट संशोधन गरेर पास गराएको र उहाँहरूसँग भएको सहमतिअनुसार नै दल दर्ता र निर्वाचन आयोगमा बुझाउनुपर्ने हस्ताक्षरसमेतलाई खुकुलो बनाएको बताउनुभयो।

उहाँले भन्नुभयो– ‘संविधान संशोधन गर्ने विषयमा उहाँहरूसँग नै स्थानीय निर्वाचनपछि र प्रदेश निर्वाचन हुनुअघि गर्ने सहमति भएकै हो सरकारले विगतमा भएको सहमतिलाई पालना गर्दै अगाडि बढेको छ यसमा राजपाका नेताहरूले बुझ्नुपर्छ।’

‘घोषित चुनाव स्थगित गर्ने कुनै सम्भावना छैन तोकिएकै मितिमा चुनाव हुन्छ’, मन्त्री शर्माले भन्नुभयो– ‘आन्दोलनरत पक्षसँग अझै हामी वार्ता गर्छौं उहाँहरू चुनावमा आउनुपर्छ यसको विकल्प छैन।’

सरकारले सुरक्षा व्यवस्थालाई मजबुत बनाएको छ। निर्वाचनका लागि चाहिने सुरक्षा व्यवस्था हामीले मिलाएका छौं असार १४ मा हुने निर्वाचनमा ढुक्कसँग मतदानमा भागलिन उहाँले आम मतदातालाई आग्रहसमेत गर्नुभयो। राजपाले आज सोमबारदेखि नै निर्वाचनलाई प्रभावित पार्ने गरी आन्दोलनको घोषणा गरेको विषयमा मन्त्री शर्माले भन्नुभयो– ‘यो लोकतन्त्र हो विरोध गर्ने अधिकार सबैलाई छ तर सरकारले निर्वाचनका बेला चाहिने सुरक्षा व्यवस्था भने मिलाउँछ अहिलेलाई यति मात्रै भनौं।’

‘चुनाव सर्दैन’

राजविराज, (नेस)
प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवलाई गृहनगर राजविराजमा आइतबार राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ताले कालो झन्डा प्रदर्शन गर्दै नाराबाजी गरेका छन्। निर्वाचनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागी हुन प्रमुख जिल्ला अधिकारी निवास पुगेका यादवलाई राजपा नेपालका कार्यकर्ताले प्रवेशद्वारमै कालो झन्डा देखाउँदै प्रदर्शन गरेका हुन्।

प्रमुख आयुक्त यादवलाई राजपा कार्यकर्ताले कालो झन्डा देखाउने थाहा पाएपछि स्थानीय प्रशासनले प्रजिअ निवासवरपर ठू्लो संख्यामा प्रहरी परिचालन गरेको थियो। प्रजिअ कृष्णबहादुर कटुवालका साथै नेपाल प्रहरीका प्रहरी उपरीक्षक अनुराग द्विवेदी, सशस्त्र प्रहरीका एसपी रामआधार यादव आफैं उपस्थित भई प्रदर्शनकारीलाई संयमित बनाउने प्रयास गरिरहेका थिए।

यद्यपि प्रहरी संयमित भएकाले कुनै अप्रिय घटना भने हुन पाएन। यसैबीच, लोकतन्त्रको उच्चतम अभ्यास शान्तिपूर्ण विरोध हो, शान्तिपूर्ण ढंगले विरोध गर्ने सबैको अधिकार भएकाले अरूको अधिकारलाई पनि सुरक्षित गर्न राजपालाई प्रमुख आयुक्त यादवले आग्रह गर्नुभएको थियो। उहाँले दोस्रो चरणको निर्वाचन निर्धारित मितिमै हुने दाबी गर्नुभयो। निर्वाचनसम्बन्धी अन्तरक्रियामा बोल्दै आयुक्त यादवले असार १४ गतेका लागि निर्धारित दोस्रो चरणको स्थानीय तह निर्वाचन कुनै पनि हालतमा नसर्ने बताउनुभयो।

जिल्लाका सरोकारवालासँगको अन्तरक्रिया गर्दै उहाँले यस्तो बताउनुभएको हो। आयोगले निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा गरिसकेको र मतपत्रलगायतका अत्यावश्यक सामग्री गाउँ–गाउँमा पुगिसकेकाले निर्वाचन सर्ने कुनै सम्भावना नरहेको यादवले स्पष्ट पार्नुभयो। वर्षाको समयमा निर्वाचन हुन लागेकाले मतपत्रलगायतका सामग्री सुरक्षाका लागि प्लास्टिकसहितको व्यवस्था मिलाइएको पनि उहाँले जानकारी दिनुभयो।

 

प्रतिक्रिया दिनुहोस्