नेदरल्यान्ड्स विश्वकपमा पुग्न संघर्षरत



लन्डन, (एजेन्सी)
नेदरल्यान्ड्सले विश्वकप छनोट २०१८ अन्तर्गत शुक्रबार राति भएको खेलमा लक्जेमवर्गलाई ५–० ले हराए पनि रसियाको यात्रा गर्न संघर्षरत रहेको छ।
डिक एडभोकाटले नेदरल्यान्ड्सको नेतृत्व लिएको यो पहिलो खेलमै उनलाई जित हात परेको छ। सन्डरल्यान्डका पूर्वप्रशिक्षकले तेस्रोपटक राष्ट्रिय टोली सम्हालेका छन्। यस्तै गालाटासारे मिडफिल्डर वेस्ली स्नाइडरले राष्ट्रिय टोलीका लागि १ सय ३१ खेलमा सहभागी हुँदै रेकर्ड राखेका छन्। उनले गोल पनि गरेका थिए। यसै गरी टोटनहामका स्ट्राइकर भिन्सेन्ट जान्सेनले अन्तिममा पेनाल्टीबाट थप गोल गरेका थिए।

लिभरपुलका मिडफिल्डर जर्जिनियो विनाल्डन, बायर्न म्युनिखका फरवार्ड आर्यन रोबेन र स्पार्टक मास्कोका क्विन्सी प्रोमेसले पनि गोल गरेका थिए। समूहबाट विजेता टोली मात्रै रसियाको यात्रा गर्ने प्रावधान रहेको छ। जितको बावजुद डच टोली समूह ‘ए’ अन्तर्गत १० अंकसहित तेस्रो स्थानमा छ। यो समूहमा स्वीडेन समूहमा शीर्ष टोली बनिरहेको छ। स्वीडेनले ओला टोइभोनेनले अन्तिममा गोल गरेपछि फ्रान्सलाई २–१ ले हराएको थियो। फ्रान्स र स्वीडेनको १३–१३ अंक छ।

रोनाल्डो अझै चम्किँदै
क्रिस्टियानो रोनाल्डोले दुई हेड गोल गरेपछि पोर्चुगलले समूह ‘बी’ अन्तर्गत खेलमा लात्भियालाई ३–० गोलले हरायो। रियल मेड्रिडका फरवार्डले यसअघि च्याम्पियन्स लिग फाइनलमा जित्दा पनि दुई गोल गरेका थिए। उनको राष्ट्रका लागि ७३औं गोल भएको छ। उनी ब्राजिलका लिजेन्ड पेलेसँग ४ गोलले पछाडि छन्। पोर्चुगल जितको बावजुद समूहमा दोस्रो स्थानमा रहेको छ। तीन अंकले अग्रता बनाइरहेको स्विजरल्यान्डले फारोई आइल्यान्ड्सलाई २–० ले हराएको थियो। स्विसको जितमा ग्रानिट जाका र जेर्डान साकिरीले गोल गरेका थिए।

यसै समूहमा एन्डोराले ६६ खेलपछि पहिलोपटक जितको खुसीयाली मनायो। एन्डोराले मार्क रेबेसको एक मात्र गोलमा बलियो टोली हंगेरीलाई १–० ले हराएको थियो। एन्डोराले पछिल्लोपटक विश्वकप छनोटअन्तर्गत अक्टोबर २००४ मा मासेडोनियालाई १–० गोलले हराएको थियो। हार बेहोर्दा ४ खेल खेल्न बाँकी भएको स्थितिमा हंगेरीको विश्वकप पुग्ने आशामाथि धक्का पनि परेको छ। हंगेरीको ७ अंक छ।

बेल्जियम शीर्षमा
बेल्जियमले इस्टोनियालाई २–० ले पराजित गरेर समूह ‘एच’ मा १६ अंकसहित नियन्त्रण बनाएको छ। टोली ग्रीसको भन्दा ४ अंकले अगाडि छ। त्यस्तै जिब्राल्टार पहिलोपटक हार टार्न तीन मिनेट बाँकी हुँदा असफल भयो। ८७औं मिनेटमा पिइरोस सोटरिउले गोल गर्दा साइप्रसले जिब्राल्टारलाई २–१ निराश पारेको थियो।

प्रतिक्रिया दिनुहोस्