तटबन्धको काम शुरू गर



निर्माण कम्पनीले बिलको भुक्तानी नपाएको जनाउँदै कर्णाली र बबई नदीमा तटबन्धको काम रोकेका छन्। निर्वाचन आचारसंहिता शुरु भएको भन्दै कर्णाली नदी व्यवस्थापन आयोजना र जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालयले भुक्तानी रकम नदिँदा ठेकेदार पक्षले काम रोकेको बताएका छन। तटबन्ध निर्माणमा सूर्य कन्स्ट्रक्सन, राजेन्द्र निर्माण सेवा, गजुरमुखी निर्माण सेवा, महादेव खिम्ती एण्ड मल्लदेवी ज्वाइन्ट भेन्चरलगायत कम्पनीले काम गरिरहेका छन्। बजेटको अभावमा काम गर्ने वातावरण नभएकाले व्यवसायी निर्माणस्थलमा आउन छाडेको आयोजनाका कर्मचारी बताउँछन्। समयमा तटबन्ध नभए बाढीको जोखिम बढ्ने अवस्था छ। केही दिन पहिले परेको पानीका कारण बन्दै गरेको तटबन्ध बगाएको थियो अब चाँडै नबनाए फेरि बनाएको सबै पानीले पखाल्छ। कर्णाली र भंगालो गेरुवा नदीस्थित विभिन्न नौ ठाउँमा तटबन्धको काम २०७१ सालदेखि शुरु गरिएको थियो। पाताभारको बनघुस्रा, राजापुरको टिहुनी, सनकट्टीघाट १ मुर्गवालगायतका ठाउँमा तटबन्धको काम भइरहेको छ। हामी यस क्षेत्रका करिब ५ हजार घरधुरी बाढीबाट वर्षेनी प्रभावित हुने गरेका छौं। तटबन्ध निर्माणपछि बाढी र कटान न्यूनीकरण हुने हाम्रो आशा निराशामा परिणत हुँदै छ। सम्बन्धित निकायले यास विषयमा चाँडै सोचे हुने थियो। हामी कटानबाट पीडितको माग कहिले सम्बोधन हुने ?

सीता सुनुवार, बनघुस्रा

दार्जिलिङको जुलुस

पश्चिम बंगाल सरकारले विद्यालयमा बंगाली भाषा अनिवार्य गर्ने निर्णय गरेपछि त्यसको विरोधमा दार्जिलिङका नेपाली भाषीहरु आन्दोलित भएका छन्। दाजिर्लिङका विभिन्न स्थानबाट जुलुस भएका हुन्। उनीहरुले सरकारको उक्त कदमको विरोधमा बन्दको समेत आयोजना गर्दै विरोधमा उत्रिएका थिए। आफ्नो भाषा र संस्कृतिको रक्षाका लागि सडकमा उत्रिने उनीहरुलाई मेरो सलाम छ। केही दिनअगाडि पश्चिम बंगाल सरकारद्वारा बंगाली भाषालाई अनिवार्य गरेपछि दाजिर्लिङमा रहेका नेपाली भाषीले उक्त निर्णयको विरोध गरेको खबर बाहिर आइरहेको छ। विद्यालयमा बंगाली भाषा अनिवार्य गरिनु गलत हो। त्यहाँ बस्ने अधिकांश नेपाली भाषीमाथिको कुठाराघात हो। त्यहाँको सरकारले त्यसलाई तुरुन्त फिर्ता लिनुपर्छ। केही दिन अगाडि पश्चिम बंगाल सरकारद्वारा बंगाली भाषालाई अनिवार्य गरेपछि दार्जिलिङमा रहेका नेपाली भाषीले उक्त निर्णयको विरोध गर्दै आएका छन्। नैतिक रूपमा हाम्रो पनि त्यो आन्दोलनमा समर्थन हुनुपर्छ। त्यहाँका नेपालीभाषीले न्याय पाउनुपर्छ।

प्रताप खड्का, झापा

विद्यालय भवन बनाइदेऊ

पञ्चदेवल विनायक नगरपालिका ४ कालिकास्थानस्थित ऋषिकुल मावि भवन जीर्ण बन्दै गएपछि यहाँ विद्यार्थीलाई पठनपाठनमा समस्या भएको छ। १० कक्षासम्म पढाइ हुने विद्यालयमा २ सय ८० विद्यार्थी अध्ययनरत छन्। तर विद्यालय भवन जीर्ण बनेर पठनपाठनमा समस्या भएको छ। २०३२ सालमा निर्माण भएको ४ कोठे भवन २०७२ सालमा गएको भूकम्पले ठाउँठाउँमा चिरा पारेर भत्काएको छ। भवन निर्माणका लागि पटकपटक विभिन्न निकायसँग आग्रह गर्दा पनि सुनुवाइ भएको छैन। बस्नका लागि निकै समस्या छ। विद्यालयको यस्तो स्थिति हुँदा पनि कसैको ध्यान पुग्न नसक्नु दुखको कुरा हो। वर्षायाममा पानी चुहिँदा विद्यार्थीले निकै सास्ती व्यहोर्नु परेको छ। भवनका तलामा प्वाल परेका छन्। भित्ता चर्किएका छन्। भवन कुनै पनि बेला भत्किएर विद्यार्थी च्यापिने डर छ यहाँ। यस्तै अवस्था रहिरहे पढाइ नै बन्द गर्नुपर्ने अवस्था आउन सक्छ।विद्यार्थीका लागि आवश्यक सिकाइ सामग्री, कुर्सी, डेक्स–बेन्च पनि अभाव छ। शौचालय र पानीको अभाव उत्तिकै छ। मध्यपहाडी लोकमार्गले विद्यालयको आँगनबाट रोड काट्ने काम गरेकाले शौचालय भत्किएका छन् भने विद्यार्थीको खेल मैदानसमेत जोखिममा छ। विद्यार्थी परिसरमा शौचालय छैन। विद्यार्थी वरिपरि दिसापिसाब गर्न बाध्य छन्। वातावरण दुर्गन्धित बनेको छ। भवन अभावका कारण बालमैत्री वातावरण पनि यहाँ छैन। विभिन्न निकायले बालमैत्री कक्षा सञ्चालन गर्न दिइएका सामग्री थन्काएर राखिएका छन्। पढाउने कक्षा भत्किएको छ। पानी आउँदा विद्यार्थी तर्सिएर भाग्छन् यसको समस्या कसले समाधान गर्ने ?

शिव शर्मा, पञ्चदेवल विनायक– ४

चुनावको माहौल बनाऔं

असार १४ गतेका लागि तय गरिएको दोस्रो चरणको स्थानीय निर्वाचन सर्ने हो कि भन्ने आशंका अहिले सर्बत्र फैलिइरहेको छ। यसो हुनुमा मुलुकका प्रमुख दलहरुको रबैया पनि मुख्य कारक रहेको छ। किनकि उनीहरुले उम्मेदवार फटाफट तय गरेर चुनावी माहौल बनाउनेतिर ध्यान दिएको भए चुनाव सारौं भन्ने पक्षको मनोबल यसरी बढ्ने थिएन। जनता अहिले चुनाव हुनुपर्छ र मतदान गर्न पाउनुपर्छ भन्ने कुरामा एकमत छन्। किनकि उनीहरु अहिलेसम्म कर्मचारीतन्त्रले चलाएको प्रशासनबाट वाक्कदिक्क भएका छन् र सकेसम्म चाँडो त्यसबाट मुक्त हुन चाहन्छन्। त्यसैले चुनावी माहौल तताउनेतिर सबै दलहरु लाग्नुपर्यो। चुनाव सार्ने कुराको सानो उच्चारण पनि जनता सुन्न तयार छैनन्। लोकतन्त्रमा अनेकथरी विचार आउन सक्छन्। चुनाव नभएको अवस्थामा र जनताले मूल्यांकन नगरेको अवस्थामा आफूलाई ठालु ठान्ने केही व्यक्ति र समूह चुनावमा आफ्नो नाम निशान मेटिएला भनेर डराएका छन्। उनीहरुले बुझ्नुपर्ने कुरा के हो भने राम्रो काम गरेको अवस्थामा फेरि अर्को चुनावमा उनीहरु नै निर्वाचित भएर आउने संभावना रहन्छ। तर, चुनाव नै भएन भने भएका परिवर्तन धरापमा पर्ने त छँदैछ विकास निर्माणका कार्य पनि ठप्प हुनेछन्। त्यसैले चाँडोभन्दा चाँडो चुनावको माहौल बनाउनेतिर सबै लागौं।

प्रतिक्रिया दिनुहोस्