डा. सुन्दरमणि दीक्षित
नागरिक अगुवा

मुलुक पहिलो चरणको निर्वाचन सकेर दोस्रो चरणको निर्वाचनमा जुटिरहेको छ। दोस्रो चरणको निर्वाचन असार १४ गतेका लागि तोकिएको छ तर यो होला कि नहोला भन्ने संशय अझै बाँकी छ। यो अवस्थामा हामीले यसपालि अहिलेका समकालीन नेतासँग कुनै न कुनै हिसाबले अन्तरंग सम्बन्ध भएका नागरिक अगुवा सुन्दरमणि दीक्षितसँग कुराकानी गरेका छौं। उहाँको अहिले नाम चलेका राजनीतिक पार्टीका संस्थापकहरूसँगै पनि राम्रो सम्बन्ध थियो। नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालादेखि एमाले नेता मनमोहन अधिकारीसम्मको उहाँले स्वास्थ्य जाँच नै गर्नुभएको थियो। मदन भण्डारीसँग पनि राम्रो सम्बन्ध थियो।

हामीसँगको कुराकानीमा उहाँले भन्नुभयो– बीपी त बीपी नै हुनुहुन्थ्यो। मनमोहन अधिकारी र मदन भण्डारी पनि देशले गुमाउनै नहुने नेता। अनि तत्कालीन नेकपा माओवादीका सुप्रिमो पुष्पकमल दाहाल ‘प्रचण्ड’ २०६३ सालमा कास्कीबाट हेलिकोप्टरमार्फत् सोझै बालुवाटार छिरेको दिन त्यहाँ पुगेर गम्भीर सुझाव दिने पनि उहाँ नै हुनुहुन्थ्यो। अहिले मधेसका नेताहरूसँग पनि उहाँको राम्रै सम्बन्ध रहेको छ। झट्ट हेर्दा उहाँ कहिले कसको पक्षमा लागेजस्तो र कहिले कसको पक्षमा लागेको जस्तो देखिए पनि यथार्थमा भने मुलुकको हित, समृद्धि र पुरानो इज्जत फर्काउने कुरामा निकै चिन्तित पाइनुहुन्छ। पहिला केही नेतासँग मुलुक बनाउने एजेन्डामा आशा गरेर समर्थन गरेको तर आफ्नो मूल्यांकन नै गलत रहेछ भन्ने अहिले देखिएको पनि उहाँले बताउनुभयो। प्रस्तुत छ, डा. दीक्षितसँग नेपाल समाचारपत्रका लागि लेखनाथ अधिकारी र मधुसूदन रायमाझीले गरेको कुराकानीका मुख्य अंशहरूः
अहिलेको राजनीतिक परिस्थितिलाई कसरी हेर्नुभएको छ ?

अहिले जसरी ९⁄९ महिनामा प्रधानमन्त्रीको आलोपालो गर्ने कुरा भयो। त्यो कुरा बेठिक छ। यो प्रवृत्तिले कुनै पनि प्रधानमन्त्रीले काम गर्न सक्दैनन्। नौमहिने प्रधानमन्त्री बनेर कसैले केही गर्न सक्दैनन्। फेरि हुनेवाला प्रधानमन्त्री पनि पर्खेर बसेको हुन्छ। जाने प्रधानमन्त्री पनि केही गर्न सक्दिनँ भन्ने मानसिकता बोकेको हुन्छ। यो प्रक्रिया नै सरासर गलत छ। अब शेरबहादुर देउवा प्रधानमन्त्री हुनुभयो। उहाँ त तीन⁄तीनपटक प्रधानमन्त्री भइसकेको मान्छे हो। अहिले कांग्रेस पार्टीमा धेरै फुट छ। तीन⁄चार धार छ। कतिपयले त कांग्रेस पार्टी पार्टी नभएर मोर्चा भएको छ भनेका छन्। यस्तो अवस्थामा देउवाले सबैभन्दा पहिला आफ्नो घर सुधार्नुपर्ने हो। पार्टी बलियो बनाउन लाग्नुपर्ने हो। जब–जब कांग्रेस कमजोर हुन्छ। मुलुक पनि कमजोर हुन्छ। कांग्रेस कहिले पनि कमजोर हुनुहुँदैन। म पूर्ण समर्थक होइन। तर, लोकतन्त्र बचाउन कांग्रेस पार्टी बलियो हुनुपर्छ।

देउवा प्रधानमन्त्री बन्नेबित्तिकै पार्टी कसरी कमजोर होला र ?

कांग्रेस ठूलो पार्टी भएर पनि पहिलो चरणको स्थानीय चुनावमा हारेको छ। एमालेले पहिलो चरणमा जितेकै हो। अहिले प्रधानमन्त्रीको अवसर प्राप्त भएको थियो। देउवाले रामचन्द्र पौडेललाई छोड्नुपर्दथ्यो। रामचन्द्र पौडेल बिचरा १७ पटक प्रधानमन्त्रीमा हार्नुभयो। यत्रो पटक हार्दा मनमा कस्तो चोट परेको होला ? अहिले पनि कांग्रेसको नेता हो। कांग्रेस छाडेको पनि छैन। देउवाले ठूलो छाती बनाएर यसपटक पौडेललाई प्रधानमन्त्री बनाउनुपर्दथ्यो। अनि आफू पार्टी बलियो बनाउन जुट्नुपर्दथ्यो। अब कमजोर पार्टी लिएर, फुटेको पार्टी लिएर उहाँले धेरै काम गर्न सक्नुहुन्छ जस्तो मलाई लाग्दैन।

स्थानीय तहको दोस्रो चरणको निर्वाचन हुन बाँकी नै छ। कांग्रेस हारेकै भन्न मिल्ला र ?

पहिलो चरणको निर्वाचनको परिणाम हेर्ने हो भने कांग्रेसले हारेकै मान्नुपर्छ। अब हुने निर्वाचनमा पनि कांग्रेसले तराईमा जितिहाल्छ भन्ने पनि अवस्था छैन। तराईमा यसपालि धेरै अनौठो हुनेवाला छ। तराईको निर्वाचनको परिणामले सबैलाई आश्चर्यमा पार्ने अवस्था आउन सक्छ। पहिला त चुनाव हुन्छ कि हुँदैन ? दोस्रो कसरी हुन्छ ? कुन किसिमबाट हुन्छ ? बुँथ क्याप्चर कति हुने हो ? कति मतपत्र च्यातिने हो ? नराम्रो पद्दतीमा हामी गइसक्यौं। कांग्रेसका लागि काठमाडौं, पोखराजस्तो महानगरपालिकाको परिणाम हेर्दा हार नभएको भन्न मिल्दैन।

अनौठो हुनेवाला छ भन्नुभयो दोस्रो चरणको निर्वाचन त होला ?

दोस्रो चरणको निर्वाचन हुनुपर्छ, हुन्छ। प्रचण्ड नेतृत्वको सरकारले पनि जसरी पनि गराउने आँट गरेको थियो। प्रचण्ड युद्ध गरेर आएको मान्छे। देउवा पनि युद्ध गर्नेहरूको घाँटी काट्ने मान्छे हो। टाउकै काटेर ल्याऊ भन्ने मान्छे। देउवाले पनि पूरा बल प्रयोग हुन्छ कि के गरेर हुन्छ, चुनाव गराउँछन्।

बल प्रयोग गर्दा झन् द्वन्द्व सिर्जना होला नि त ?

हामीले तराई मधेसको समस्यालाई पटक्कै वास्ता गरेनौं। मधेसका केही नेताहरूलाई जुन बेला पनि ललिपप खुवाउन खोज्यौं। या त केही आश्वासन दिएर मिलाउने काम हुँदै आएको छ। तराईका नेताहरू तुरुन्त दिउँसो आन्दोलन गर्छन्, फेरि बालुवाटारमा गएर मेजमानी खान्छन् र सहमति गर्छन्। तर, तराईका जनता मधेसका नेताहरूसँग वाक्क भएका छन्। मधेसका जनता सोधी रहेका छन्– समाावेशिता के हो ? सीमाकंन के भो ? भाषा र नागरिकताको कुरा के भो ? यत्रा मान्छे मरे। यत्रो नाकाबन्दी भयो। नेताहरू खुसुक्क बालुवाटार छिरेर सही गर्छन्। प्रचण्ड र देउवासँग उपेन्द्र यादव र राजपाका नेताहरूले अहिले देउवाको नेतृत्वको सरकार बन्दा पनि सही गरे। आखिर देउवालाई बहुमत छँदै थियो। उनीहरूलाई कुनै बेला खुसुक्क मन्त्री बन्न पाइएला भन्ने लोभ छ। आफ्नो मधेसको मुद्दा थाती राखेर तराई मधेसका जनताको चाहना र भावना विपरीत नेताहरू चलेपछि जनतामा आक्रोश छ।

चुनाव हुन्छ। तर सफल रूपमा हुँदैन। सफल नहुनेबित्तिकै उग्रवाद आउँछ। पहाड र मधेसका नेताहरू मिलेर तराईलाई कमजोर पार्ने काम भएको छ। नेताहरू पनि कमजोर भए। सरकार पनि माग सम्बोधन गर्न तयार भएन। जसको कारण सीके राउतहरू अगाडि बढेका छन्। सीके राउतजस्ता पृथकतावादीहरूको मनोबल बढेको छ। प्रचण्डले तीस दलीय गठबन्धनले खुल्लामञ्चमा गरेको कार्यक्रममा भनेका थिए– मलाई त यहाँ माइती आएकोजस्तो लागेको छ। भनाइको अर्थ माइतीबाट त लिने हो, दिने होइन। म पनि त्यही थिएँ। पछाडिबाट हुटिङ भएपछि प्रचण्डले भनेका थिए– यहाँहरूको आक्रोश ठीक हो। तपाईंहरूको एजेन्डा पहिलो नम्बरमा छ। आश्वासन दिएर मात्र जनताले पत्याउने अवस्था छैन। नेतालाई किन्न सकिएला तर जनता छक्याउन सकिन्न। चुनाव भएन भने विखण्डनको आवाज बलियो हुन सक्छ। मधेसको समस्या समाधान गरेर मात्र निर्वाचनमा जाऔं। नत्र हामी बाघको मुखमा पस्दै छौं।

समय असाध्यै छोटो छ। यो अवस्थामा समस्याको समाधान कसरी होला ?

गाह्रो छैन। चुनावको प्रक्रिया शुरू भइसकेको छ। आरामसँग केही पछाडि धकेल्न सकिन्छ। चुनावको नतिजा खराब आउनु भन्दा खराब काम रोक्नु नै राम्रो हुन्छ। केही समय ठेलेर भए पनि निर्वाचन गर्नु राम्रो हुन्छ। संविधानले चुनाव गर भनेको छ। प्रक्रिया शुरू भइसकेको छ। अब आत्तिनु पर्दैन।

यसको अर्थ पुनः निर्वाचनको मिति सार्ने भन्न खोज्नुभएको हो ?

आखिर नेताहरूले मन लाग्दा असार १४ पुर्याए। राष्ट्रका लागि फाइदा हुन्छ भने सार्दा पनि कुनै आपत्ति हुँदैन। राष्ट्रका लागि सार्नु नै उचित हुन्छ। हामीले राष्ट्रको कुरा गर्नुपर्यो। सबैलाई चित्त बुझाएर अगाडि बढनु राम्रो हुन्छ। असार १४ गतेबाट एक महिना निर्वाचन सार्न कुनै आपत्ति छैन।

अहिले पनि संविधान संशोधन विधेयकमै आएर विवाद सिर्जना भएको छ। आजको भोलि नै समस्याको समाधान होला र ?

संशोधन पारित हुने देखिन्छ। माओवादीले युद्ध गरेको बेलामा कसले सोचेको थियो कि उनीहरू शान्ति प्रक्रियामा आउन सक्छन् ? त्यो त युद्ध थियो। अहिले त युद्ध छैन। मिलेर गर्यो भने जे पनि गर्न सकिन्छ। हामीले ज्ञानेन्द्र फ्याँक्यौं।

माओवादीलाई ल्यायौं। जाबो संविधान संशोधन किन गर्न नसक्ने ? किनकि यहाँ सत्ताको कुरा छ। सत्ता र अहम्का कारण संविधान संशोधन विधेयक पारित हुन नसकेको हो। सबे पार्टी मिलेर मिलिजुली सरकार बनोस् त संविधान संशोधन विधेयक पारित हुन्छ कि हुँदैन ?

संशोधन प्रस्तावलाई प्रमुख प्रतिपक्षी दल एमालेले राष्ट्रघाती भनेको छ नि ?

ओलीले शुरूमा चार प्रदेशभन्दा ज्यान गए पनि हुँदैन भनेका हुन्। तर, पछि १४ मा माने। जति भारतलाई गाली गर्यो त्यति धेरै राष्ट्रवादी हुँइदो रहेछ, मुलुक सप्रियोस् वा नसप्रियोस्। जनताले दुःख पाउन वा नपाऊन्। देश अखण्ड होस् कि विखण्डन होस् त्यसमा मतलब छैन। ओलीले अहिले भारतलाई गाली गर्नु ठूलो राष्ट्रियता भएको छ। खाडी मुलुकबाट दैनिक नेपालीको लाश आउँछ खोई त्यहाँ त ओलीको राष्ट्रवाद देखिन्न। प्रधानमन्त्री पद ओलीलाई दिनुहोस् त ओलीको राष्ट्रवाद कति दिन टिक्दो रहेछ ? ओली आउँछन् कि आउँदैनन् म पनि हेरौंला। तर, देउवा र प्रचण्डले दिनहुँ कुरा फेरे पनि प्रधानमन्त्रीबाट राजीनामा दिएपछि ओलीले आफ्नो अडान कायम राखेका छन्। संविधान संशोधन गर्न हुँदैन भनेका ओली अहिले पनि आफ्नो अडानमा कायमै छन्। यसले पनि एमालेप्रति मानिसहरूको समर्थन बढेको देखिन्छ।

राजनीतिक दलका नेताहरूको मूल्यांकन कसरी गर्नुहुन्छ ?

एकपटक मैले सबै नेताहरूलाई नम्बर दिएको थिएँ। राष्ट्रियता, पारदर्शितासहित ५⁄७ वटा विषयमा नम्बर दिएको थिएँ। त्यो बेलामा सबै नेताहरू फेल भएका थिए। अहिले देउवाले छाती ठूलो बनाउन सकेनन्। पार्टी बलियो बनाउनेतिर लाग्नुपर्नेमा प्रधानमन्त्री बने। कुनै बेला प्रचण्डले बोल्दा भारत र चीन मात्र होइन संसार हल्लिन्थ्यो। आज प्रचण्डको बोली बिक्न छोडेको छ। संविधानसभाको दोस्रो निर्वाचनमा मतगणस्थलबाट बहिष्कार गरेर बाहिरिए। अहिले चितवनमा मतपत्र च्यात्न लगाए। प्रचण्ड जसलाई पनि हुन्छ हुन्छ भन्छन्। तर केही पनि गर्दैनन्। प्रचण्डको बोलीको ठेगान भएन।

प्रचण्ड शान्ति प्रक्रियामा आएपछि देशमा निकै ठूलो चमत्कार होला भन्ने मैले अनुमान र आशा गरेको थिएँ। युद्ध गरेर आएको व्यक्ति शान्ति प्रक्रियामा आएर निर्वाचन लडेर प्रधानमन्त्री बने। वाह ⁄ नेता भनेको त यस्तो पो त भन्ने लागेको थियो। अब संसारलाई देखाउने नेता पाइयो भनेको थिएँ। तर पदमा जानेबित्तिकै कुन रूपमा मानिस पतन हुँदा रहेछन् भन्ने मलाई थाहा थिएन। बालुवाटारको पहिलो भेटमा मैले प्रचण्डलाई बालुवाटारको ठूलो कोठामा भनेको थिएँ– माओवादीको एजेन्डा राम्रो छ। अन्याय र अत्याचारविरुद्ध उठाएको आवाज राम्रो छ। प्रचण्डजी तपाईंहरू आउनु भो। तपाईं गोलीको सोझो बोली जान्नुहुन्छ।

तर लोकतन्त्रको बाङ्गोटिङ्गो बाटो जान्नुहुन्न। खाडल नै खाडल परेको हुन्छ। होस गरेर कदम चाल्नुहोस् भनेको थिएँ। प्रचण्डले जवाफ दिएका थिए– डाक्टरसाब हामी पनि चानचुने मान्छे होइन। खारिएर आएका छौं। हामी गर्छाैं। कति पटक भेट भयो मैले हरेक भेटमा भन्ने गरेको थिएँ– प्रचण्डजी तपार्इं फस्नुहुन्छ है, ख्याल गर्नुस्। बालुवाटारमा पहिलो पटक भएको छलफलपछि प्रचण्डले गिरिजाप्रसादलाई परममित्र भनेर अभिव्यक्ति दिँदै सबै कुरा मिल्यो भन्नुभयो। तर गिरिजाप्रसादले तीन दिनपछि विज्ञप्ति जारी गरेर कुरा मिलिसकेको छैन भनेपछि प्रचण्ड खङ्रङ्ङ भए। मेरो घरमा नै भएको छलफलमा नै प्रचण्डलाई भनेको थिएँ– तपाईलाई फसाउँदै छन्। आखिर फसाएरै छोडे। प्रचण्डलाई म त ठूलो नेता हुँ। दुईपटक प्रधानमन्त्री भए भन्ने लाग्दो हो। हाम्रो नजरबाट प्रचण्ड धेरै खस्किए।

ओलीले भारतसँगको सम्बन्ध धेरै बिगार्नुभएको हो। मोदीको विरुद्धमा विद्यार्थीलाई सडकमा उतार्नु र पशुपतिनाथको मन्दिरमा उहाँकै पार्टीको एउटा समूहले मोदीलाई अपमान गर्दै नाटक देखाउने काम ज्यादै नराम्रो भयो। ओलीले गर्न त धेरै गल्ती गरेका छन्। ओलीका कारण हामीले दुःख पायौं। नाकाबन्दीको कुरा राम्रोसँग समाधान हुन सक्थ्यो। तर, खाली भारतलाई गाली गरेर ओलीले भड्काउने काम गरे। मधेसको समस्या हल गर्नतिर लाग्नुको सट्टा भारतलाई गाली गर्नतिर लागे। मधेसीलाई जथाभावी गाली गरेर भड्काउने काम ओलीले गरे भयो।

प्रचण्डले अहिले प्रधानमन्त्री पद छोड्दा इमानको चर्चा भइरहेको छ नि ?

यो कस्तो हाँसउठ्दो कुरा छ। मैले गर्छु भनेको कुरा गर्नु के ठूलो कुरा भो त ? मलाई अचम्म लाग्छ। मैले ५० रुपियाँ कसैलाई दिन्छु भनेको थिएँ, दिएँ भने ठूलो हुन्छु त ? मान्छेले गर्छु भनेको कुरा गर्यो के ठूलो कुरा भो ? गर्छु भनेको कुरा नगर्ने नीति बस्यो। त्यसैले अहिले इमानको चर्चा भएको होला। प्रचण्डले महान् काम गरेको वा इमानदारिता देखाएको होइन। के को इमानदारिता ? मैले भोलि छोरालाई अंश दिन्छु भनेर दिँदा के नयाँ काम हुन्छ ? प्रचण्डले इमानदारिता देखाएका होइनन्। एउटा बोलीको पालना मात्र गरेका हुन्। त्यो पनि सत्ता भागवण्डामा।

स्थानीय तहको पहिलो चरणको निर्वाचन गराउन त प्रचण्डलाई जस जान्छ नि होइन ?

होइन, चुनाव गराउनुपर्छ भनेर संविधानमा लेखिएको थियो। उनले गराए। प्रधानमन्त्री उनी नै थिए। अब प्रधानमन्त्री भएको व्यक्तिले नगराए कसले गर्ने त ? म डाक्टर हो। अप्रेसन गर्ने बिरामी आयो। मैले अप्रेसन गरें भने ठूलो काम हुन्छ ? तर दोस्रो चरणको निर्वाचन त गर्न सक्नुभएन नि। केही पनि सफलता होइन। गर्नुपर्ने धेरै काम बाँकी छोडेर गए। विकृति भित्त्याएर गए। मतपत्र च्यात्ने पद्धति बसालेर गए।

संविधान संशोधन विधेयक पनि संसद्मा पेस गरियो। केही नभएको भन्न मिल्ला र ?

प्रचण्डको बानी कस्तो छ भने जे पनि हुन्छ भन्दिहाल्ने। जब–जब होला कि भन्यो, के हुन्थ्यो ? विधेयक टेबुल त गरे। तर पास गराउन सकेनन्। प्रचण्डको राजनीति भनेको छोरी कुट्ने बुहारी तह लगाउनेजस्तै हो। मधेसी र जनजातिसँग मैले त टेबुल नै गरिसकें नि भनेर गरी पनि दिने। ओलीसँग भेट हुँदा तपार्इं चुप लागेर बस्नु त टेबुल मात्रै गरेको हो। पास हुँदैन भन्दिने। यी नेताहरूमा कुनै भर छ ? प्रचण्डको यता फर्किएर एउटा उता फर्किएर अर्को कुरा गर्दा समस्या थपिएको हो। प्रचण्डसँग स्पष्ट अडान भएन।

प्रचण्डलाई शान्ति प्रक्रियापछि फसाइयो भन्नुभयो। के आधारमा फसाइयो भन्नुभएको ?

प्रचण्ड शान्ति प्रक्रियामा आउनुमा प्रचण्डको मात्र देन छैन। बाबुरामको पनि देन छ। अन्य राजनीतिक दल र नागरिक समाजको पनि देन छ। हामीले गृहयुद्धबाट देशलाई बचाउनु थियो। शान्ति प्रक्रियामा आएपछि प्रचण्डले लोकतन्त्रको गन्ध बुझेनन्। लोकतन्त्रमा माहिर नेताहरूले प्रचण्डलाई फसाए। जनयुद्धमा फसाउन सकेनन्। शान्ति प्रक्रियामा लोलोपोतो गरेर ल्याएका हुन्। लोकतन्त्रको राजनीति प्रचण्डले बुझेकै थिएनन्। प्रचण्डले पहिलोपटक प्रधानमन्त्री हुनेबित्तिकै राजीनामा गर्नुपर्यो। अहिले पनि प्रचण्डको पार्टी पनि फुट्दै गएको छ।

अहिले नागरिक समाजचाहिँ सुस्ताएको हो ?

स्पष्ट रूपमा भन्दा अहिले नागरिक समाज भन्ने नै छैन। नागरिक समाज भनेको एउटा मिथक रहेछ। दन्त्यकथा जस्तो रहेछ। २०६२⁄२०६३ सालमा नागरिक समाजले त्यत्रो ठूलो काम गर्यो। शान्ति र विकासका लागि भनेर पहिलो पटक हामीले नै नागरिक समाज बनायौं। शान्तिको उद्देश्यअन्तर्गत माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन सफल भएका हौं। सबै जना नाम चलेका नागरिक समाजमा व्यक्तिहरू एकै ठाउँमा थियौं। तर ती नागरिक समाजका व्यक्तिहरू कुनै न कुनै पार्टीसँग आबद्ध रहेछन्। त्यसभित्र माओवादी पनि घुसेका रहेछन्। लंका जित्ने हनुमान जस पाउने ढेडु भनेकोजस्तो भयो। शान्ति प्रक्रियामा आएर जब निर्वाचन भयो एक भएका पार्टीहरू आफ्नो दुनो सोझ्याउन थाले। पार्टीहरू एक हुँदा नागरिक समाज एक भएर आउँदो रहेछ। जब पार्टीहरू एक हुँदैनन् नि त्यो नागरिक समाजको बैठकमा नै नआउने रहेछन् किनकि उनीहरू आफ्नो आफ्नो पार्टीको पक्षमा दौडनुपर्ने रहेछ।

तपाईं कहिले कुन नेता राम्रो कहिले कुन नेता राम्रो भन्नुहुन्छ। तर, पछि गाली गर्न थाल्नुहुन्छ। तपाईंको मूल्यांकन पनि गलत भएको हो ?

मेरो मूल्यांकन गलत नै रहेछ। लोभ र पाप भन्ने मान्छेभित्र हुँदो रहेछ। २०३६ सालमा पञ्चायत राख्ने कि फ्याँक्ने भनेर जनमतसंग्रह भयो। त्यस बेला म वीर अस्पतालमा काम गर्थे। हामीले डेमोक्रेसी ल्याउन सक्रिय भूमिका खेल्यौं। त्यति बेला राजदरबारबाट मलाई स्पष्टीकरण सोध्ने काम भयो। २०४६ सालमा वीर अस्पतालको जागिर नै राजीनामा दिएर पञ्चायतको विरुद्ध लागे। हरेक पटक के देखियो भने राजनीतिक स्थायित्व भएन। ज्यादै अस्थिर भयो। कांग्रेसले कति आश्वासन दियो तर पूरा भएन। बीपीको डाक्टर पनि मै हुँ। हामी इस्यु बेस्ड हौं।

राष्ट्रको हितको लागि जसले काम गर्छ उसलाई हाम्रो समर्थन हुन्छ। माओवादी भन्नेबित्तिकै सबै खराब होइन। हामी सबैले असल र खराब दुवै बोकेका हुन्छौं। राक्षसी र दैवीय दुवै गुण मानिसमा हुन्छ। त्यो गुण कसले कतिबेला उजागर गर्छ भन्ने कुरा मात्र हो। सत्तामा नपुग्दासम्म सबै असल हुँदा रहेछन्। सत्तामा पुगेको छ महिना पनि नबित्दै तल झर्दा रहेछन्। राक्षसी शक्ति आउदो रहेछ। सतीले सरापेको भनेको यही होला सायद। देशमा सही नेता जन्मिन नै नपाउने। जन्मि हाले पनि तुरुन्तै भ्रष्ट हुने। त्यति बेला माले अहिलेको एमाले पञ्चायतको खिलाफमा आयो। एमालेको कति मिटिङमा गएर हामीले समर्थन दिएका थियौं।

मदन भण्डारी र जीवराज आश्रित गजब्बका नेता थिए। एमाले ९ महिनाभित्र नै कुहिएको देखेको छु। जेलनेल खाएका नेताहरू नराम्रोसँग बिग्रिए। माओवादीले तमसुक च्यातेर फ्याँकिदिए। गाउँघरमा सामाजिक विकृति र विसंगति हटाउने काम गरे। झन्डै झन्डै जितेर आएको कमान्डर प्रचण्ड पदमा बसेर पावर खेलाउन थालेपछि कमजोर भए। यो राष्ट्रको हित सोच्ने, आर्थिक समृद्धि गराउने नेतृत्वको खाँचो छ। एक जमाना थियो। विदेशमा रेलको एउटा डब्बामा एउटा गोरखालीलाई देख्यो भने त्यहाँभित्र छिर्ने कसैको हिम्मत हुँदैनथ्यो। नेपाली भनेको गोर्खाली। सन् १९६६ मा रानी जगदम्बासँग मैले संसार भ्रमण गरें। त्यस बेलामा जहाँ गए पनि अलि हेपेको जस्तो गरेर भारतीय हो भनेर सोध्थे। होइन नेपाली भनेपछि। खुसी हुँदै वाह नेपाली भनेर इज्जत गर्थे। तर, अहिले उल्टो भएको छ।

पछिल्लो समय पनि विदेश जाँदा धेरैले भारतीय हो भनेर सम्मानजनक हिसाबले सोधे। होइन नेपाली भनेको नाक खुम्च्याएर तिम्रो देश त अविकसित छ भनेर भन्छन्। त्यसैले हाम्रो पुरानो पहिचान र सम्मान जसले ल्याउँछ त्यसलाई मेरो र हामी जस्ताको समर्थन हुन्छ। जसले इज्जत ल्याइदिन्छ उही नेता हुन्छ। राष्ट्रको समृद्धि र राजनीतिक स्थायित्व जसले गर्छ मेरो समर्थन उसैलाई रहन्छ। काम न काजसँग भारतलाई गाली गर्ने काम बन्द गरौं। विना काममा भारत र चीनलाई झगडा गराउने काम नगरौं। अहिले आएका नेताहरू आशा लाग्दा नेताहरू कोही पनि भएनन्। यो हाम्रो दुर्भाग्य हो।

‘मैले त्यस दिन मदन भण्डारीलाई रोक्न सक्ने रहेछु

एमालेका तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितको पनि डा. दीक्षितले नै स्वास्थ्य जाँच गर्नुहुन्थ्यो। आश्रित अल्सरबाट पीडित हुनुहुन्थ्यो। एमालेका तत्कालीन महासचिव मदन भण्डारीको मृत्यु हुनुभन्दा केही दिनअघि आश्रित डा. दीक्षितकोमा चेकजाँच गर्न जानुभएको थियो। डा. दीक्षितसँग आश्रितको भनाइ थियो– डा. साब हाम्रो महासचिव (मदन भण्डारी) लाई पार्टीको विचारको हिसाबले धेरैले धेरै कुरा गरेर अलमल्याउन खोजेका छन्। म केही दिन उहाँलाई उपत्यका बाहिर लगेर शान्त ठाउँमा बसेर सम्झाऊँ भनेको, स्वास्थ्यका हिसाबले जान ठीक होला कि नहोला ? डा. दीक्षितले अलि ख्याल गर्न आग्रह गर्दै भन्नुभएको थियो– ठीकै छ, अहिले नै आत्तिइहाल्नुपर्दैन। जाँदा हुन्छ।

डा. दीक्षित नेपाल समाचारपत्रसँगको कुराकानीमा भन्दै हुनुहुन्थ्यो– ‘मैले आश्रितलाई त्यति बेला नजानु भनेको भए, मदन पनि जानुहुने थिएन। उहाँ जोगिनुहुने रहेछ। अहिले मैले नै गर्दा मदन जोगिनुभएन जस्तो लाग्छ।’

LEAVE A REPLY