व्यापारघाटा उच्च, ६१ अर्बको निर्यात हुँदा ८०८ अर्बको आयात



नेपाल समाचारपत्र
काठमाडौं
चालू आर्थिक वर्ष २०७३⁄७४ को १० महिनासम्ममा कुल वस्तु निर्यात ९ दशमलब ८ प्रतिशतले वृद्धि भई ६१ अर्ब २ करोड रुपियाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा २१ दशमलब ७ प्रतिशतले ह्रास आएको थियो।

नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा भारततर्फ १५ प्रतिशत, चीनतर्फ ५ दशमलब ६ प्रतिशत र अन्य मुलुकतर्फ ३ दशमलब १ प्रतिशतले निर्यात बढेको छ।

वस्तुगत आधारमा जुस, पिना, जुटका समान, जीआई पाइप, चाउचाउलगायतका वस्तुको निर्यात बढेको छ भने उनी गलैंचा, तयारी पोशाक, अलैंची, पोलिष्टर धागो, चिया लगायतका वस्तुको निर्यात घटेको छ।

त्यस्तै कुल वस्तु आयात ३४ दशमलब ९ प्रतिशतले बढेर ८०८ अर्ब ६८ करोड रुपियाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ४ दशमलब ६ प्रतिशतले घटेको थियो। समीक्षा अवधिमा भारतबाट भएको आयात ४३ दशमलब ७ प्रतिशत, चीनबाट भएको आयात १२ दशमलब ५ प्रतिशत र अन्य मुलुकबाट भएको आयात

२६ दशमलब ९ प्रतिशतले बढेको छ। वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपूर्जा, एमएस विलेट, हवाई जहाजका पार्टपुर्जा, अन्य मेसिनरी तथा पार्टपुर्जालगायतका वस्तुको आयात बढेको छ भने रासायनिक मल, औषधि, कोल्डरोल सिट इन क्वाइल, ड्राईसेल ब्याट्री, सुपारीलगायतका वस्तुको आयात घटेको छ।

भन्सार नाकाका आधारमा वीरगन्ज सुख्खा बन्दरगाह भन्सार, विराटनगर भन्सार कार्यालय, मेची भन्सार कार्यालय, कैलाली भन्सार कार्यालय र जलेश्वर भन्सार नाकाबाट भएको निर्यातमा कमी आएको छ भने अन्य भन्सार नाकाबाट भएको निर्यातमा वृद्धि भएको छ।

त्यसैगरी आयाततर्फ समीक्षा अवधिमा भैरहवा भन्सार र कैलाली भन्सार नाकाबाट भएको आयातमा कमी आएको छ भने अन्य नाकाबाट भएको आयातमा वृद्धि भएको छ।

समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा ३७ दशमलब ५ प्रतिशतले बढी ७४७ अर्ब ६५ करोड रुपियाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो व्यापारघाटा २ दशमलब ४ प्रतिशतले घटेको थियो।

समीक्षा अवधिमा निर्यात–आयात अनुपात ७ दशमलब ५ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९ दशमलब ३ प्रतिशत रहेको थियो। यसैगरी १० महिनामा भन्सार तथ्यांकमा आधारित निर्यातको एकाइ मूल्य सूचकांक वार्षिक बिन्दुगत आधारमा ५ दशमलब ८ प्रतिशत र आयात मूल्य सूचकांकमा ४ दशमलब १ प्रतिशतले वृद्धि भएकाले व्यापारको सर्तमा १ दशमलब ६ प्रतिशतले सुधार भएको छ।

अघिल्लो वर्षको सोही महिनामा यस्तो सर्त २६ दशमलब १ प्रतिशतले बढेको थियो। कार्पेट, अलैंची, पश्मिना, अम्लिसो, अदुवाको निर्यात मूल्यमा वृद्धि भएको कारण निर्यात मूल्य सूचकांकमा वृद्धि भएको हो भने पेट्रोलियम पदार्थ, सवारी साधन, टायर, तामाको तार, लुब्रिकेन्ट्सको लगायतका वस्तुको मूल्यमा वृद्धि भएका कारण आयात मूल्य सूचाकङ्कमा वृद्धि भएको हो।

विप्रेषण आप्रवाह ५६६ अर्ब
काठमाडौं, (नेस)
चालू आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ५ दशमलब २ प्रतिशतले वृद्धि भई ५६६ अर्ब ९७ करोड रुपियाँ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १० दशमलब २ प्रतिशतले वृद्धि भएको थियो।

समीक्षा अवधिमा खुद ट्रान्सफर आय १० दशमलब ३ प्रतिशतले वृद्धि भई ६९२ अर्ब ७६ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ११ दशमलब ८ प्रतिशतले बढेको थियो।

प्रतिक्रिया दिनुहोस्