विकिरणको जोखिम न्यूनीकरणको प्रयास



युरेनियमलाई आणविक भट्टीहरूमा इन्धन र परमाणु हतियारको मुख्य कच्चा पदार्थको रूपमा प्रयोग गरिन्छ । साथै एक्सरे र क्यान्सर रोग पहिचान एवं निदानमा समेत सो पदार्थ प्रयोगमा ल्याइन्छ । यसको प्रयोगमा सावधानी भएन भने वातावरणमा मिसिन गई अन्य व्यक्तिको स्वास्थ्यमा समेत नराम्रो असर पर्छ । त्यस्तै भूकम्प, सुनामी, बाढी, पहिरोजस्ता प्राकृतिक घटनासँगै मानवीय गतिविधिले आणविक भट्टीमा पुर्याउन सक्ने क्षतिले न्युक्लियर पदार्थ चुहावट हुने सम्भावना उच्च रहन्छ । यसले त मानिसको ठूलो समूहलाई नै जोखिममा पार्ने हुन्छ । त्यसैले यस विषयमा बेलैदेखि नेपाल सचेत हुनुपर्ने देखिन्छ ।

दक्षिण एसियाली मुलुकहरूमा आणविक भट्टी स्थापनाको होडबाजी बढ्दो छ । ती आणविक भट्टीमा दुर्घटना नहोला भन्न सकिँदैन । त्यसैले ती भट्टीबाट चुहावट हुन सक्ने विकिरणले नेपाल उच्च जोखिममा रहेको विज्ञहरूले बताएका छन् । भारतको उत्तर प्रदेशस्थित नारोरा प्लान्ट र बंगलादेशमा निर्माणाधीन भट्टी नेपाली सीमाक्षेत्रबाट क्रमशः १ सय ९० र २ सय ७० किलोमिटरको हाराहारीको हवाई दूरीमा रहेको बताइएको छ । हाल भारतका विभिन्न प्रान्तमा करिब २ दर्जन आणविक भट्टी सञ्चालनमा छन् भने बंगलादेश आगामी ५ वर्षभित्रमा २ वटा भट्टी सञ्चालनमा ल्याउने तयारीमा जुटेको छ । ती मुलुकका भट्टीबाट विकिरण चुहावट भएको अवस्थामा पूर्वी र पश्चिमी वायुसँगै सो विकिरण सहजै नेपाल भित्रिन सक्ने नेपाल विज्ञान प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) का विकिरण विज्ञ डा. बुद्धराम साहले बताउनुभएको छ ।

जनस्वास्थ्यका दृष्टिले प्रतिघन्टा शून्य दशमलव २ देखि शून्य दशमलव ५ ‘माइक्रोसिवर्ट’ विकिरणको मात्रा औसत मान्न सकिने र सोभन्दा माथिको विकिरणको मात्राले स्वास्थ्यमा नराम्रोसँग असर पुर्याउने बताइन्छ । बालबालिका र गर्भवती महिलालाई विकिरणले बढी असर गर्ने हुँदा अपांगता भएका र सुस्त मनस्थितिका शिशु जन्मिन सक्ने डा. साहको भनाइ छ । नास्टले केही समयअघि गरेको नमुना अनुसन्धानमा काठमाडौं उपत्यकाको प्राकृतिक विकिरणको मात्रा शून्य दशमलव २ माइक्रोसिवर्ट प्रतिघन्टा थियो । तर बूढानीलकण्ठ, नुवाकोटको ककनी आसपासका क्षेत्रमा युरेनियमको मात्रा तुलनात्मकरूपमा केही बढिरहेकाले ती क्षेत्रको वातावरणीय विकिरणको मात्रा अन्यत्रको भन्दा बढी पाइएको नास्टका अधिकारीले जनाएका छन् ।

त्यसैले छिमेकी मुलुकबाट नेपालमा भित्रिने विकिरणको मात्रा र मुलुकभित्रै विकिरण चुहावटको सूचना संकलन गर्न मुलुकका विभिन्न ठाउँमा विकिरण मापन स्टेसन स्थापना गरिन लागेको समाचार प्रकाशमा आएको छ । विकिरणबाट पर्न सक्ने सम्भावित खतरा न्यूनीकरणका लागि स्टेसन स्थापनाको पहल गर्नु सराहनीय कार्य हो । यद्यपि, स्टेसन स्थापनापश्चात् यदि यहाँको वातावरणमा विकिरणको मात्रा मापदण्डभन्दा बढी देखिएमा के गर्ने भन्ने विषयमा अहिले नै योजना बनाउनुपर्छ । साथै छिमेकी मुलुकहरुबाट भित्रिन सक्ने विकिरणका बारेमा पनि स्पष्टता हुनै पर्छ ।

प्रतिक्रिया दिनुहोस्