निर्वाचनको विरोध गर्ने फेरि समातिए



रुकुम, (नेस)
चुनाव विरोधी गतिविधि गरेको भन्दै गत वैशाख २४ गते पक्राउ परेका विप्लव माओवादीका रुकुम जिल्ला सेक्रेटरीसहितका जिल्ला स्तरका नेता तथा कार्यकर्तालाई बुधबार धरौटीमा छाडेको ५ मिनेट नबित्दै फेरि पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालय रुकुमबाट धरौटी बुझाउन जिल्ला प्रशासन कार्यालयमा प्रहरीको बाक्लो घेरामा भित्र पुगेका उनीहरू रिहा हुनेमा विश्वस्त देखिन्थे।

तर उनीहरूलाई सोही स्थानबाटै प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा लगिएको थियो। प्रहरीको बाक्लो सुरक्षा घेराभित्र रहेका उनीहरूले आफूहरूले कानुनी प्रक्रिया पूरा गरेकाले छोड्न आग्रह गरिरहेका बेला प्रहरीले एकछिन प्रहरी कार्यालयमा जाऔं सुखदुःखका कुरा गरेर जानुहोला भनेर फकाइरहेको थियो। सोही क्रममा नेकपाका जिल्ला नेता चन्द्रबहादुर खड्का सट्गनले आफूहरूले कुनै आपराधिक क्रियाकलाप नगरेको र कुनै किसिमका गतिविधि नगरिने स्पष्ट पार्न खोजिरहेका थिए। उनले आफूहरूले कानुनी प्रक्रिया पूरा गरेकाले छोड्न आग्रह गरे।

तर, प्रहरीले उनको कुरा सुनेन। उनी मात्र होइन नेकपाका जिल्ला सेक्रेटरी चन्द्रबहादुर बुढा, नेता नरबहादुर पुन मनकामनालगायतका नेता तथा कार्यकर्तालाई पुनः गिरफ्तार गर्यो। स्थानीय चुनाव विरोधी गतिविधि गरेको भन्दै उनीहरूलाई रुकुमका विभिन्न ठाउँबाट पक्राउ गरिएको थियो।

नेकपाका रुकुम जिल्ला सेक्रेटरी चन्द्रबहादुर बुढा, राप्ती ब्युरो सदस्य गम्भीर श्रीर्पाली, मनकामना, चन्द्रबहादुर खड्का सटगनलगायतका १९ जना नेता कार्यकर्ता रहेका छन्। प्रहरीले उनीहरूलाई स्थानीय निर्वाचन विरोधी गतिविधि, चन्दा आतंकलगायतका अराजक गतिविधिका संलग्न भएको कारण पक्राउ गरेको थियो। प्रहरी नायब उपरीक्षक अंगुर जिसीले यो देशभरिकै समस्या भएकाले दोस्रो चरणको निर्वाचनपछि उनीहरूलाई छोडिने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्