संगीतसाधक गुरुङको सम्झना



नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले प्रतिष्ठानका प्रथम कुलपति एवं नेपालको राष्ट्रगानका संगीतकार स्व. अम्बर गुरुङको प्रथम वार्षिक पुण्य तिथिमा उनको स्मरण गरेको छ।

बिहीबार प्रतिष्ठानमा आयोजित स्मृति सभामा सदस्य सचिव गणेश रसिकले भारतमा जन्मेर पनि गुरुङले नेपालआई नेपाली संगीतमा अतुलनीय योगदान पुर्याएको चर्चा गरे। गीतकार रत्नशमशेर थापाले गुरुङको सम्झना गर्दै उनले बनाइसकेको धुनमा आफूले गीत लेखेको जानकारी गराए। प्रतिष्ठानका पूर्वउपकुलपति प्रचण्ड मल्लले उनको व्यक्तित्वको चर्चा गरे भने प्राज्ञ सभा सदस्य यज्ञराज उपाध्ययले गुरुङले नेपालको माटो सुहाउँदो सिर्जना छोडेर यस्तै सिर्जनाका लागि प्रेरित गरेको बताए। कार्यक्रममा गुरुङका पुत्र किशोर गुरुङले अम्बरको शालिन र भद्र स्वभावको चर्चा गरे। राष्ट्रगानमा संगीतको जिम्मा लिएर अम्बरले गरेको संगीत मन्त्रालयमा बुझाउन जाँदा अरूले पनि बाहिरी व्यक्तिसँग संगीत गराएर सुनाएको स्मरण गरे। कुलपति सरुभक्त श्रेष्ठले अम्बरको नाममा स्मृतिग्रन्थ प्रकाशन गर्न लागिएको र हुलाक टिकट प्रकाशनका लागि सम्बन्धित मन्त्रालयमार्फत् नेपाल सरकारलाई अनुरोध गरिएको जानकारी गराए।

प्रतिक्रिया दिनुहोस्