गाउँ नै क्यानभाषमा



दोलखा, (नेस)। दोलखा बैतेश्वर गाउँपालिका वडा नम्बर १ साउटोल, गैरीमुदीमा हालैको एक दिन छुट्टै रौनक थियो। जताततै क्यानभाषमा कोरिएका टहराको भित्ता, बारीको कान्ला र रुखका फेदका चित्र झुण्डिएका थिए।

‘यो मेरो घर हो। कति राम्रो चित्र? मेरो घर टपक्क टिपेर क्यान्भासमा राखेको जस्तो’ –स्थानीय सीता श्रेष्ठले क्यानभाषमा कोरिएको एउटा चित्र देखाउँदै भनिन्। आफ्नो घरको चित्र बनाउने नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानका विद्यार्थी धादिङका रुद्रप्रताप अधिकारीलाई धन्यवाद पनि दिइन् सीताले। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सहयोगमा हिमालयन कला तथा संस्कृति फाउन्डेसनले साउटोलमा सञ्चालन गरेको एक हप्ते चित्रकला तालिमका सहभागीले ती सिर्जना गरेका हुन्। तालिममा स्थानीय तीन विद्यालयका ३० जना विद्यार्थी र दुई जना शिक्षकको सहभागिता रहेको फाउन्डेसनका अध्यक्ष उमेश श्रेष्ठले बताए।

तालिमका सहभागी स्थानीय विष्णु माविमा कक्षा १० मा अध्यनरत भावक घतानी चित्रकला तालिमले सोचाइ फराकिलो बनाएको बताए। ‘हातमा कुची लिएर चित्र कोर्दा लाग्यो मैले आफ्नो भविष्य कोरिरहेको छु –उनले भने। तालिममा सहभागी विद्यार्थीले प्रकृति, प्रवृत्ति र पर्यटनलाई केन्द्रमा राखेर विभिन्न प्रकारको चित्र बनाएका थिए। तालिम अवधिमा अतिथिको रूपमा रहेका नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका चन्दा श्रेष्ठ, मिथिलादेवी यादव, चित्रकार राजमान महर्जन, मन गोल्डी, सुरक्षा वाग्ले र रुद्रप्रताप अधिकारीले संस्कार संस्कृति, ग्रामीण परिवेश, प्रकृतिलगायतको चित्रकला प्रस्तुत गरेका थिए। तालिममा पोट्रेड, ल्यान्ड स्केप, कल्चरल हेरिटेज, मिथिलाजस्ता कला प्रस्तुत भएको आयोजक हिमालयन कला तथा संस्कृति फाउन्डेशनका अध्यक्ष उमेश श्रेष्ठले जानकारी गराए। ‘मलाई सानो उमेरमा कलाप्रति लगाव थियो। तर, त्यतिबेला क्यानभाष र कुचीको कल्पनासमेत गर्न सकिँदैन थियो’, उमेशले भने– ‘त्यसैले हामीले ग्रामीण भेगका विद्यार्थीलाई सहभागी गराएर ग्रामीण परिवेशमै यो तालिम सञ्चालन गरेका हौं।’

प्रतिक्रिया दिनुहोस्