सिरहामा को–को छन् मेयरका दाबेदार



फिरोज सिद्दिकी, सिरहा
पहिलो चरनको निर्वाचन सकिएलगतै जेठ ३१ मा हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनको मिति जति नजिकिँदै छ, उति चुनावी सरगर्मी बढिरहेको छ। पार्टी कार्यालयहरूमा मात्र होइन, चिया पसल र तरकारी पसलमा समेत चुनावमा कुन पार्टीबाट कोको उम्मेदवार उठ्दै छन् भन्ने चर्चा परिचर्चा बाक्लिएको छ।
मधेस आन्दोलनको उद्गम विन्दु माानिएको सिरहामा ७ नगरपालिका र १० गाउँपालिका रहेका छन्। नगरपालिकाहरूमा मेयरका आकांक्षी कस्ता छन् ?

लहान नगरपालिका
लहान नगरपालिकामा २४ वटा वडा रहेका छन्। ९१ हजार ७ सय ६६ जनसंख्या रहेको यो नगरपालिका सिरहा जिल्लाको पूर्वपट्टि रहेको छ। नेपाली कांग्रेसका तर्फबाट दाबेदार उम्मेदवारहरू क्रमशः अच्चमितलाल चौधरी, महेश चौधरी, रामसुन्दर चौधरी र सुनिल महतोको चर्चा चलिरहेको छ। नेकपा एमालेको तर्फबाट लहान नगरपालिकाका पूर्वमेयरसमेत रहिसक्नुभएको मुनि साहलाई उम्मेदवार बनाउने प्रायः निश्चितजस्तै रहेको छ। नगरमा एमाले र नेपाली कांग्रेसबीच कडा प्रतिस्पर्धा हुने जानकारहरू बताउँछन्।

त्यसै गरी संघीय समाजवादी फोरमको तर्फबाट युवा नेता सत्यनारायण यादव, राजकुमार गुप्ता र वैजनाथ साहमध्ये कसलाई उम्मेदवार बनाउने तय नभए पनि प्रचारप्रसारलाई तीव्रता दिएको त्यस पार्टीको युवा नेता दिपेश यादवको भनाइ रहेको छ।

यता नेकपा माओवादी केन्द्रमा मेयर पदका उम्मेदवारको खडेरी परेको छ। लोकतान्त्रिक फोरम परित्याग गरी प्रवेश गरेको खडगनारायण चौधरीलाई उम्मेदवार बनाउन लागेको त्यस पार्टीको जिल्ला नेता रामपृत रामको भनाइ रहेको छ।

नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र संघीय समाजवादी फोरम नेपालले आफ्नो पक्षमा चुनावी परिणाम पार्न उम्मेदवारको टुंगो नलागे पनि प्रचारप्रसारलाई निकै तीव्रता दिइएको छ।

धनगढीमाई नगरपालिका
धनगढीमाई नगरपालिकामा १४ वडा रहेका छन् भने ४७ हजार ४ सय ४९ जनसंख्या रहेको छ। यस नगरपालिकामा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रबीच त्रिकोणात्मक प्रतिस्पर्धा हुने देखिन्छ। नेपाली कांग्रेसबाट जोगी साह, पञ्चलाल महतो मेयर पदको उम्मेदवारका लागि अगाडि देखिएको छ भन्ने नेकपा एमालले शिव शंकर महतोलाई उम्मेदवार बनाउनने निश्चित रहेको एमाले कार्यकर्ता गंगाप्रसाद यादवले बताउनुभएको छ। नेकपा माओवादी केन्द्रले केन्द्रीय सदस्य हरिनारायण चौधरीलाई मेयरको उम्मेदवार बनाउन लागेको त्यस पार्टीले जनाएको छ।

गोलबजार नगरपालिका
धनगढीमाई नगरपालिकासँगै टाँसिएको सिरहा जिल्लाको मध्यभागमा रहेको गोलबजार नगरपालिकामा १३ वडा रहेका छन् भने ५२ हजार १ सय ३७ जनसंख्या रहेको छ। यस नगरपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच कडा प्रतिस्पर्धा रहने देखिछ। नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचित भएको सिरहा क्षेत्र नम्बर ५ मा पर्दछ। यस नगरपालिकामा माओवादी केन्द्रले देवनाथ साह, रामचन्द्र महतो र जगत यादवमध्ये एक जनाले पाउने माओवादी केन्द्रले जनाएको छ। यता नेकपा एमालेबाट जिल्ला सचिव योगेन्द्र महतो, श्याम श्रेष्ठको चर्चा रहेको छ।

सिरहा नगरपालिका
८२ हजार ५ सय ३१ जनसंख्या रहेको सिरहा नगरपालिकामा २२ वडा रहेका छन्। भारतको विहार राज्यसँग सिमाना जोडिएको यस नगरपालिकामा नेपाली कांग्रेस, नेकपा एमाले र संघीय समाजवादी फोरमको चुनावी प्रचारप्रसार निकै अगाडि देखिएको छ। नेपाली कांग्रेसको तर्फबाट शान्तिमन्त्री सीतादेवी यादवको छोरा सुभास यादव र पूर्वउपमेयर रहिसक्नुभएका उपेन्द्र यादवको चर्चा रहेको छ। त्यस्तै एमालेको तर्फवाट जिल्ला पार्टी अध्यक्ष प्रमोदकुमार यादव, पूर्वसांसद हेमनारायण यादवको छोरा नवीन यादव र शिवशंकर यादवको नाम अगाडि देखिएको छ। संघीय समाजवादी फोरमले उम्मेदवारको चर्चा बाहिर नल्याए पनि व्यापक गृहकार्य गर्दै चुनावी तयारीमा लागेको देखिन्छ।

यस्तै मिर्चैया, सुखीपुर र कल्याणपुर नगरपालिकामा नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र र संघीय समाजवादी फोरमबीच नै चुनावी प्रतिस्पर्धा हुने देखिएको छ। नेपाली कांग्रेसको जिल्ला सभापति रामचन्द्र यादवका अनुसार नेपाली कांग्रेसको प्रतिस्पर्धा एकाध ठाउँबाहेक सबै ठाउँमा एमालेसँग हुने र कांग्रेस अधिकांश गाउँपालिका र नगरपालिकामा विजय हुने दाबी गर्नुभएको छ। यस्तै नेकपा एमालेको केन्द्रीय सदस्य लीलानाथ श्रेष्ठले नौ स्थानमा कांग्रेससँग पाँच स्थानमा संघीय समाजवादीसँग र तीन स्थानमा माओवादी केन्द्रसँग एमालेको प्रतिस्पर्धा हुने निश्चित रहेको बताउनुभएको छ।

प्रतिक्रिया दिनुहोस्