‘महा’ नआओस्



प्रधानमन्त्री चुनावका कारण दोस्रो चरणको निर्वाचनका गतिविधि जिल्लामा पनि अलि छायाँमा परेको धरहराले पाएको छ। कहिले कता र कहिले कता के भयो रे भन्दै चर्चा हुने गरेकामा केही दिनयता यो क्रम टुटेको जस्तो देखिएको छ।
आखिर किन त? यसअघि पनि चुनाव गराउन नसकेको भनेर कोही कोहीले ‘अक्षम’ भन्ने आरोप लगाएका प्रधानमन्त्री आएपछि यस्तो हुँदा त्यति राम्रो सुनिएन है। हुन त प्रधानमन्त्रीकै पार्टीले पनि हिजो उम्मेदवार छान्नका लागि बैठक बोलाएको थियो। अरू दल पनि उम्मेदवार छान्न व्यस्त छन् भनिँदै छ। तर पनि अब त पूरै मुलुक निर्वाचनमा होमिने बेला भइसक्यो। जनता छाता ओढेर भए पनि, बर्सादी लगाएर भए पनि, भोट हाल्न जान्छु भनिरहेका छन्।

यस्तो बेलामा पनि माहोल बनाइएन र तताइएन भने त शेबदेलाई पहिला कोहीकोहीले लगाएको आरोपको अगाडि जनताले ‘महा’ पनि थप्न सक्छन् है। त्यसैले पूरै संयन्त्र निर्वाचनतिरै लगाऔं। महा होइन अक्षमलाई नै सदाका लागि बिर्सने वातावरण बनाऔं। अहिले सम्मान खान र स्वागत लिन अनि बधाई लिन हतारो नगरौं। मुख्य कुरा त निर्वाचन नै हो। निर्वाचन भयो भने कोही बधाई दिन आइरहनु पनि पर्दैन, कसैले सम्मान पनि गर्नुपर्दैन। जनताको मनले नै ‘ल है गज्जब गरे’ भनेर बधाई दिइहाल्छन्। त्यो पो ठूलो कुरा हो। कि कसो पाठकवृन्द?

प्रतिक्रिया दिनुहोस्